हतियार सहित ओभरसियर पक्राउ

बाँके, २ भदौ । मध्यपश्चिम क्षेत्रीय सिंचाई डिभिजन कार्यालय बाँकेमा कार्यरत ओभरसियरलाई हतियार सहित पक्राउ गरेको छ ।
नेपालगंज नगरपालिका–१७ स्थित सिंचाईको डिभिजन कार्यालयमा कार्यरत ओभरसियर दिनेशकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आपराधिक कार्यमा संलग्न उनलाई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी भनाई छ ।
सिरहा जिल्ला ब्रहवनगोरखोरी–९ घर भएका ओभरसियर सिंहलाई प्रहरीले शुक्रबार बेलुका नियन्त्रणमा लिएको हो ।
कार्यालय परिसरमा रहेको ओभरसियर सिंहको क्वार्टरमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले खानतलासी गर्दा मेड ईन ईटाली लेखेको पेस्तोल एक १ थान बरामद गरेको थियो ।
त्यसै गरी कोठाबाट गोली १ थान, कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, सुनको बालाजस्तो देखिने बस्तु १ थान, औंठी १ थान, मंगलसुत्र १ थान, चेक र अन्य कागजातहरु समेत फेला पारेको प्रहरीले जनाएको छ ।
उता, बर्दियाको देउडाकला–८ बस्ने ३५ वर्षीय क्षेत्रपाल यादवलाई प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
छोट्की देउडामा हिंडिरहेका यादवलाई आज खानतलासी गर्दा हतियार फेला परेको प्रहरी भनाई छ ।
पक्राउ परेका यादवसँग मधेसी जनअधिकार फोरम नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीको सदस्यतापत्र समेत बरामद भएको छ । उनी पनि विभिन्न आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया