डा. केसीलाई बचाऊ

काठमाडौं, २ भदौ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिलाई लिएर शनिबार र आइतबार देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । योग्यता र वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने माग गर्दै अनशन बसेका डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सक संघले स्वास्थ्य संस्था बन्द गर्ने निर्णय लिएको हो ।

डा.प्रकाश सायमीलाई डिन नियुक्त गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार नाम सिफारिस गरे पनि त्रिवि कार्यकारी परिषद्ले मानेन । पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. केसीको मागलाई समर्थन गर्दै प्रधानमन्त्रीले योग्यताका आधारमा डा. केसीले उपलब्ध गराएको लिस्टमध्येका डा. सायमीलाई डिन नियुक्त गर्न त्रिवि परिषद्लाई निर्देशन दिएका थिए । तर, त्यसलाई परिषद्ले अटेर गर्‍यो ।
नेपाल चिकित्सक संघको शुक्रबार बसेको आकस्मिक बैठकले शनिबार र आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकले सम्पूर्ण सरकारी, निजी, प्राइभेट, क्लिनिक तथा मेडिकल कलेजका इमरजेन्सी तथा अन्तरंग सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको संघका महासचिव डा. भूपेन्द्र बस्नेतले बताए ।
यसैबीच, संघले डा. केसीको जीवनरक्षाका लागि अभियान सुरु गरेको छ । शनिबार बिहान ९ बजे ‘त्रिवि शिक्षण अस्पताल जाऊँ, प्रा.डा.गोविन्द केसीलाई बचाउँm’ भन्ने नारासहित देशभरका चिकित्सक र नागरिकलाई अस्पतालमा उपस्थित हुन संघले आह्वान गरेको छ । संघको बैठकले अस्पताल बन्द गर्ने र केसीको जीवनरक्षाको अभियान थाल्ने निर्णय गरेपछि प्रधानमन्त्री डा. भट्टराईले डा. केसीले दिएको १२ जना चिकित्सकको लिस्टबाट डा. सायमीलाई नियुक्ति गर्न परिषद्लाई निर्देशन दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री डा. भट्टराईले ‘डा. केसीको ज्यान जोगाउन डा. सायमीलाई नियुक्त नगरे तपार्इंहरू पनि पदबाट हट्न सक्ने’ चेतावनी परिषद्का सदस्यहरूलाई दिएका थिए । तर, परिषद्का सदस्यले प्रधानमन्त्रीको चेतावनीको समेत बेवास्ता गर्दै डिन नियुक्ति गरेनन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री डा. भट्टराईले त्रिविका सम्पूर्ण पदाधिकारीलाई सात बजे बिहान प्रधानमन्त्री कार्यालयमा बोलाएका छन् । कार्यालयले दिएको जानकारीअनुसार शनिबार बिहानै डिनको निर्णय हुनेछ ।
आफूअनुकूल डिन नियुक्तिका लागि मेडिकल कलेजहरूले त्रिवि परिषद्का सदस्यहरूलाई ३० करोडभन्दा बढी रकम बुझाएको स्रोतको दाबी छ । ‘मेडिकल कलेजहरूबाट सदस्यहरूले ३० करोडभन्दा बढी रकम लिइसकेकाले प्रधानमन्त्रीको निर्देशनसमेत बेवास्ता गरेका हन्,’ स्रोतले भन्यो, ‘उनीहरू पैसा गुम्ने डरले डा. केसीको ज्यानमाथि खेलबाड गरिरहेका छन् ।’
यता, पाँच दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गइरहेको छ । डा. केसीको ज्यान जोखिममा पर्दासमेत त्रिविका पदाधिकारीले निर्णय दिन नसकेको भन्दै टिचिङका डाक्टरले अस्पतालको आकस्मिकबाहेकका सेवा तीन दिनदेखि बन्द गरिरहेका छन् । माग सम्बोधन नभएको र डा. केसीको स्वास्थ्य बिग्रँदै गएकाले टिचिङका डाक्टर आकस्मिक सेवासमेत बन्द गर्ने योजनामा छन् ।
त्रिविका उपकुलपति डा. हीराबहादुर महर्जनले परिषद्को बैठकमा डिन नियुक्तिका लागि बनाइएको छनोट समितिले नाम सिफारिस गरेर नदिएकाले प्रधानमन्त्रीले दिएको नाममा निर्णय हुन नसकेको बताए । उनले सिफारिस समितिले नाम सिफारिस गरेपछि मात्र डिनको नाम टुंगो लाग्ने बताए । त्रिविले बुधबार डा. ऋतुप्रसाद गड्तौलाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा डा. सुरेश बास्तोला र डा. हरिदर्शन श्रेष्ठ रहेका छन् ।
समितिका संयोजक डा. गड्तौलाले तीनवटा पार्टीका डाक्टरको नाम शनिबारसम्म आउने र त्यसपछि कार्यकारी समितिमा बुझाइने बताए । त्रिवि ऐनमै राजनीतिक आधारमा डिन नियुक्ति गर्ने भन्ने भएकाले राजनीतिक आधारमा नाम मागिएको उनको भनाइ छ । स्रोतका अनुसार सिफारिस समितिले सोमबार नै उपकुलपति महर्जनको एकल निर्णयले नियुक्ति दिएका निमित्त डिन डा. धर्मकान्त बास्कोटालाई पुन: सिफारिस गरेको छ । यसैगरी, डा. करविरनाथ योगी र डा. रतेन्द्र श्रेष्ठको नाम सिफारिस गर्न लागेको छ । यी सबै योग्यता र दक्षताका आधारमा नभई राजनीतिक आधारमा गरिएका हुन् ।
चिकित्सकले डा. केसीको स्वास्थ्य २४ घन्टाभित्र जे पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । चिकित्सकहरूले डा. केसीको इच्छाविपरीत शुक्रबार स्लाइन चढाएर राखेका छन् । उनको मुटुको चाल ‘कार्डियाक मोनिटर’मा हेरिरहेका छन् । आमरण अनशन थालेको पाँचाँै दिनमा डा. केसी उठ्न पनि नसक्ने भएका छन् । आइसियुमा जान नमानेपछि चिकित्सकहरूले अनशनस्थलमै आइसियु तयारी अवस्थामा राखेका छन् । लगातारको अनशनका कारण उनको शरीरभित्र एसिडको उत्पादन अत्यधिक भइरहेको र त्यसले शरीरलाई भित्रभित्र कमजोर बनाइरहेको उपचारमा संलग्न चिकित्सक डा. विकास दलीले बताए । डा. केसी जस्तोसुकै परिणाम आए पनि माग पूरा नभएसम्म अनशन नछाड्ने अडानमा छन् ।
डा. केसीले उठाएको मागलाई नेपाल बार एसोसिएसन, पेसाकर्मीहरूको संगठन पापड, मानवअधिकार आयोग तथा नागरिक समाजले समेत ऐक्यबद्धता जनाएको छ । तत्काल माग पूरा गर्न भन्दै बिहीबार टिचिङका ५० भन्दा बढी चिकित्सकले राष्ट्रपतिलाई भेटेका थिए । बिहीबार नै राष्ट्रपति डा. यादवले प्रधानमन्त्री भट्टराईलाई अनशनमा बसेका डा. केसीको ज्यान बचाउन र संस्थाको हितका लागि तत्काल समस्या समाधान गर्न निर्देशनात्मक ध्यानाकर्षण गराएका थिए ।
चिकित्सकले तीन दिनदेखि टिचिङ अस्पतालको सेवा ठप्प पारेपछि अस्पतालमा दैनिक उपचार गर्न जाने बिरामी भने समस्यामा परेका छन् । टिचिङमा दैनिक दुई हजारदेखि २५ सय हाराहारीमा बिरामी उपचारका लागि जाने गर्छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विशेषाधिकार प्रयोग गरी सोमबार साँझ आºनो एकल निर्णयबाट संस्थानमा वरिष्ठताका आधारमा ५० जना चिकित्सकभन्दा तल रहेका डा. धर्मकान्त बास्कोटालाई निमित्त डिनमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया