अत्याधुनिक हतियारसहित तीनजना समातिए

नेपालगन्ज, २ भदौ । प्रहरीले मध्यपश्चिम सिँचाइ डिभिजन नम्बर २ नेपालगन्जका सब–इन्जिनियरसहित तीनजनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

बाँके प्रहरीले सब–इन्जिनियर दिनेशकुमार सिंहलाई शुक्रबार नेपालगन्जबाट दुई थान पेस्तोलसहित पक्राउ गरेको हो । त्यस्तै, अत्याधुनिक हतियार एसएमजीसहित सिराहाको सोनमती गढिया–७ र सर्लाहीको कर्मैया–१ दुवै ठाउँ घर बताउने ४३ वर्षीय देवीलाल सिंह (महतो) र कैलालीको टीकापुरकी १९ वर्षीया अस्मिता शाहीलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको अम्रनी ब्यारेकनजिकैबाट बसमा यात्रा गर्दै गरेका बेला मोस्ट वान्टेडको सूचीमा समेत रहेका देवीलाल बिहीबार पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट एक थान एसएमजी, एक थान म्यागजिन, ९ एमएम गोली २१ थान, ८ एमएम केएफ गोली १० थान, सल्फेड पाउडर र गन्धक, १० हजार रुपियाँ बरामद गरेको छ । पक्राउ परेका सबैजना एकै गिरोहका भएको प्रहरी दाबी छ । देवीलालको बयानका आधारमा इन्जिजियरको पनि संलग्नता खुलेको बाँकेका एसपी विक्रमसिंह थापाले बताए ।
उनीहरूको बयानपछि बाँके प्रहरीले सब–इन्जिनियर सिंहको कोठामा छापा मार्दा एक थान इटालियन माउजर, एक थान कटुवा पेस्तोल र तिनका गोली फेला पारेको हो । सब–इन्जिनियर सिंहले ठूलीआमाका छोरा देवीलाल तीन दिनअघि कोठामा बास बस्न आएको स्वीकार गर्दै हतियार छाडेको विषयमा आफूलाई केही थाहा नभएको बयान दिएका छन् । प्रहरीले भने उनीहरू मिलेर आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरेको छ ।
‘पटक–पटक कोठामा आउने दाइका बारेमा भाइलाई थाहा नहुने कुरा हुन्छ ? मिलेमतो नभएर दुइटा हतियार कसैले पनि राख्न दिँदैन,’ एसपी थापाले भने, ‘हामीले यसको आपराधिक सञ्जालबारे अनुसन्धान गर्दै छौँ ।’
इलाका प्रहरी कार्यालय भुरीगाउँबाट असई भोजराज पौडेलको नेतृत्वमा राजमार्ग गस्तीमा हिँडेको टोलीले महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ४ ख ४३७ नम्बरको बसमा जाँच गर्दा देवीलालको दाहिने काखीभित्र कपडाले बेरेर लुकाइराखेको एसएमजी भेटेको थियो । आफू मोस्ट वान्टेडको सूचीमा रहेकाले विगत चार वर्षदेखि कैलालीको धनगढीमै बस्दै आएको बयान उनले दिएको प्रहरीले जनाएको छ ।
कैलालीको साडेपानीबाट भुरीगाउँसम्मका लागि दुवैजना बसमा चढेका थिए । पुरुषसँग रहेको हतियारका बारेमा युवतीलाई भने कुनै जानकारी नभएको बयान प्रहरीसमक्ष उनीहरूले दिएका छन् । उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया