मुलुक भरिका स्वास्थ्य संस्था बन्द हुने

काठमाडौं, १ भदौं । त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागबण्डामा पदाधिकारी नियुक्तिको विरोधमा आमरण अनशन बसेका डा.गोविन्द केसीको आन्दोलनप्रति नेपाल चिकित्सक संघले समर्थन जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंमा आज बसेको संघको आकस्मीक बैठकले शनिबार र आइतबार दुई दिन मुलुकभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको हो । दुई दिन सम्म पनि डा.केसीका माग सुनुवाई गर्ने तर्फ सम्बन्धित निकायबाट चासो नदेखाए थप कडा संघर्ष गर्ने चेतावनी संघले दिएको छ ।
आमरण अनशनमा बसेका डा.केसीलाई बचाउन जाऔं भन्ने नाराका साथ संघले त्रिवि शिक्षण अस्पतालमा जम्मा हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई आह्वान समेत गरेको छ ।
सरकारले डा.केसीका मागप्रति उदाशिन हुँदै वेवास्ता गरेपछि संघ आन्दोलनमा उत्रिएको हो ।
उता, डा.केसीको आन्दोलनलाई विभिन्न संघ/संस्थाले ऐक्यवद्धता जनाएका छन् । नेपाल बार एसोसियसन, नेविसंघ, मानव अधिकारवादी संग/संगठनले डा.केसीको जीवन रक्षाको माग गरेका छन् ।
डा.केसीको स्वास्थ्य अवस्था अन्यन्तै नाजुक भएपछि उनलाई चिकित्सकहरुको निगरानीमा अमरण अनशन स्थलमै उपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सलाईन समेत दिईएको छ ।

प्रतिक्रिया