कांग्रेसमा कुबेलाको झगडा

नेपाली कांग्रेसको आन्तरिक कलह पुन: सतहमा देखिएको छ । सभापतिले विधानविपरीत विभाग गठन र नियुक्तिको कार्य गरेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले सामूहिक राजीनामा दिएर विरोध जनाएपछि कांग्रेसभित्रको विवाद छरपष्ट भएको हो । बुधबार बसेको देउवा पक्षको बैठकले आफ्ना १२ जना विभागीय प्रमुख र चारजना अञ्चल संयोजकलाई राजीनामा दिन लगाएर सभापति सुशील कोइरालाविरुद्ध विद्रोह सुरु गरेको छ । निकै लामो समयदेखि संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको देउवा खेमाले मुलुकको राजनीतिक संकटग्रस्त र संवैधानिक रिक्तता रहेकै अवस्थामा किन पार्टीमा विद्रोह गर्दै छ बुझ्न सकिएको छैन । तर, उपसभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा सभापति कोइरालाले अघि सारेपछि देउवा पक्ष असन्तुष्ट बनेको भने बुझ्न सकिन्छ । सबै पार्टीमा अन्तरकलह चुलिएका छन् । एनेकपा (माओवादी)मा विभाजनपछि पनि तीनवटा गुटको अस्तित्व कायमै छ । मधेस केन्द्रित दल चारबाट २२ बनेका छन् । नेकपा (एमाले)मा पनि मन माझिएको अवस्था देखिँदैन । यस्तै अवस्थामा कांग्रेसभित्रको कलहले जनतामा नकारात्मक सन्देश पुर्‍याएको छ । जसले गर्दा कांग्रेसले भविष्यमा नराम्रो नतिजा भोग्नुपर्ने हुन सक्छ । तसर्थ, कांग्रेसले आन्तरिक समस्या तुरुन्त समाधान गरेर अगाडि बढ्नु उपयुक्त देखिन्छ ।
मुलुकको राजनीतिक अवस्था निकै जटिल छ । सत्तारूढ दलहरू संगठित रूपमा मोर्चा गठन गरेर प्रतिपक्षीमाथि आइलाग्न तयार छन् । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति नष्ट गर्दै सत्ता पक्ष अगाडि बढ्दै छ । गणतन्त्र पनि नरहने हो कि भन्ने गम्भीर आशंका पैदा हुन थालेको छ । प्राप्त उपलब्धिहरू गुम्दै जाने खतरा बढेको छ । मुलुकको यस्तो संघीन अवस्थामा कांग्रेस एकढिक्का भएर सशक्त बन्दै राष्ट्रको बागडोर सम्हाल्न लाग्नुपर्ने अवस्था थियो । तर, यी सबै वस्तुगत तथ्यलाई नजरअन्दाज गर्दै कांग्रेसको देउवा पक्षले विद्रोहको शंखनाद गर्नु कुनै पनि दृष्टिले राम्रो होइन । पार्टीमा विधान मिचिएको हुन सक्छ र संस्थापन पक्षले अर्को पक्षलाई मर्का पुर्‍याएको पनि होला । तर, देउवा पक्षको वर्तमान कदमले राष्ट्र, जनता, कांग्रेस र उनकै पक्षलाई पनि हित गर्ने देखिँदैन अहिले जटिल परिस्थितिमा कांग्रेस एकताबद्ध हुँदै विस्तारित भएर अगाडि नबढ्ने हो भने मुलुक अर्को दुष्चक्रमा फस्ने सम्भावना छ । यो यथार्थलाई देउवा पक्षले बिर्सन मिल्दैन ।
नेपालको सबैभन्दा पुरानो दल कांग्रेस थुप्रै आरोह–अवरोह भोगेको छ । यसले २००७ सालदेखि ०६२/६३ सालसम्म नेपालमा भएका सबै आन्दोलनको नेतृत्व गरेर सफलता पनि प्राप्त गरेको छ । वास्तवमा परिवर्तनकारी आन्दोलनको इतिहास हेर्दा मुख्य भूमिका र नेतृत्वमा कांग्रेस नै अग्रणी रहेको पाइन्छ । त्यो गरिमामय इतिहास बोकेको पार्टी अहिले निकै शिथिल, छिन्नभिन्न र अक्षम देखिँदै गएको छ । यस्तो अवस्थामा पार्टी सुदृढीकरण र दह्रो संगठनका लागि कम्मर कसेर लाग्नुपर्ने थियो । किनकि अब इतिहास भजाएर खाने समय सकियो । कुनै एक व्यक्ति हाबी भएर पार्टी हाँक्ने अवस्था पनि रहेन । सुशील कोइराला अथवा शेरबहादुर देउवाभन्दा पनि सिंगो हृष्टपुष्ट र क्षमतावान् भएर मुलुकको नेतृत्व सम्हाल्नुपर्ने अवस्था छ । निकै ठूलो संघर्षबाट एउटा निरंकुशतन्त्र समाप्त भएको थियो । लोकतन्त्रको खाका नकोरिएको पनि होइन । तर, अर्को खालको अधिनायकवाद हाबी हुँदै छ । यसलाई रोक्न कांग्रेस, एमालेलगायत सबै दल सुदृढ र संगठित हुन जरुरी छ । लोकतन्त्रविरोधीहरू लोकतान्त्रिक अभ्यासका सबै अवयव समाप्त पारिन्छन् भने त्यहाँ लोकतन्त्र छ भन्नुको कुनै औचित्य हुँदैन । यी सबै पक्षलाई कांग्रेसका असन्तुष्ट नेताहरूले नबुझेका छैनन् । पार्टीभित्रका विवादहरू थाती राखेर पनि एकताबद्ध हुनु जरुरी छ । सकिन्छ भने संस्थापन पक्षले असन्तुष्टको माग पूरा गर्नुपर्छ । यदि, त्यो माग पूरा गर्न सक्ने अवस्था अहिले छैन भने विद्रोही पक्षले आफ्ना माग थाती राखेर अगाडि बढ्ने बाटो पहिल्याउनुपर्छ । यसले मात्र कांग्रेसलाई मुलुक र जनताप्रति जवाफदेही भएको सन्देश दिन्छ र यसैले वर्तमान संकट समाधान गर्न मद्दत पुर्‍याउनेछ ।

प्रतिक्रिया