कान्ति लोकपथमा भ्रष्टाचार

हेटौंडा, १ भदौं । हेटौंडाबाट काठमाडौं जाने पुरानो मार्ग कान्ति लोकपथको निर्माणमा भ्रष्टाचार भएको छ । लोकपथको विभिन्न भागमा काम गरिरहेका निर्माण कम्पनी र लोकपथका प्रमुख विष्णु काफ्लेसहित मिलेर भ्रष्टाचार भएको हो ।

लोकमार्ग काठमाडौंसम्म जोड्नका लागि विभिन्न समयमा काम भइरहेको भए पनि अहिलेसम्म बहानाबाजी गर्दै काम सम्पन्न हुन नसक्नु र निर्माणको जिम्मा पाएका कम्पनीले निर्माणको काम नगर्दा पनि बारम्बार म्याद थप्दै अड्काएर राख्ने गरेपछि भ्रष्टाचारको गन्ध पाइएको हो । हेटौंडाको बुद्धचोकबाट ललितपुर सातदोबाटोसम्मको ९२ किलोमिटर सडकमध्ये मकवानपुरमा निमार्णको काममा भ्रष्टाचार भएको इपाका हिदम लामाले बताए ।
लामाका अनुसार पाँच वर्षअघि वाग्मती खोलादेखि जितपुर भञ्ज्याङसम्मका कामको ठेक्का लगाइए पनि ठेक्काअनुसार काम भएको छैन । भएका ठाउँका काममा गुणस्तर नभएको पाइएको छ । वाग्मतीदेखि जितपुर भञ्ज्याङसम्मको क्षेत्रमा गरिएको ढुंगा कटिङको टेन्डर ७० प्रतिशत कम मूल्यमा हालेका काठमाडौंका दुई निर्माण कम्पनीले अहिलेसम्म काम गरेका छैनन् ।
कान्ति लोकमार्गअन्तर्गत वाग्मती खोलामा निर्माण भइरहेको ८५ मिटर लामो पुल निर्माणको काम गरिरहेको वीरगन्जको पप्पु कन्स्ट्रक्सनले विभिन्न बहानामा पुलको काम रोकेर बसेको छ । उसलाई एक करोड ८३ लाख रुपियाँमा ठेक्का दिइएको हो । दुई वर्षका लागि निर्माण ठेक्का दिइए पनि आयोजनाले म्याद थप्दै गएको छ । पुल निर्माणमा ६० लाख रुपियाँभन्दा बढी रकम निकासा भए पनि काम भएको छैन ।
मार्गको कटिङको कामका लागि ठेक्का पाएका दुई कम्पनीले दुई करोड ५० लाख रुपियाँको बोलपत्रलाई ६८ लाख रुपियाँमा हाल्नुले पनि मार्गको काममा आर्थिक चलखेलको संकेत गरेको बताइएको छ ।
आर्थिक चलखेल भएकै कारण दुई निर्माण कम्पनीको काममा कुनै प्रतिफल नपाएको स्थानीयले बताए । मार्गका प्रमुख काफ्लेले निमार्णका लागि पटकपटक म्याद थप गरेको स्विकारेका छन् । उनले स्थानीयको अवरोध र वर्षाका कारण काम नभएको बताए । फास्ट ट्रयाकको कामले पनि लोकपथको कामलाई समस्यामा पारेको उनको तर्क थियो ।
पाँच करोड रुपियाँमा वाग्मती पुल र जितपुर भञ्ज्याङसम्मको काम गर्ने भनिए पनि काम गर्न नसक्दा एक करोड रुपियाँ फ्रिज भएको काफ्लेले जानकारी दिए । लामो समयपछि पुलको काम केही अघि बढेको उनले बताए । ०१३ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको बाटो उचित निगरानीमा नपर्दा ठेकेदार र आयोजनाको कमाइखाने भाँडोका रूपमा विकास भइरहेको छ ।

प्रतिक्रिया