दलहरूलाई एकताको अपिल

काभ्रे : नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालका राजनीतिक दलको एकता नै नेपालको विकास र स्थिरता भएको बताएका छन् ।
भारतको ६६आँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री संघले बिहीबार धुलिखेलमा गरेको शुभकामना कार्यक्रममा राजदूत प्रसादले भारत सरकार नेपालको स्थिरता, शान्ति र विकासको पक्षमा रहेको बताए । ‘नेपालको संक्रमणकालीन राजनीतिको अन्त्यका लागि नेपालमा संविधान र शान्तिप्रक्रियाको टुंगो लगाउनु जरुरी छ,’ उनले भने ।
भारत सरकार छिमेकी राष्ट्रको सम्वृद्धि, स्थिरता र विकासका पक्षमा रहेको बताउँदै उनले नेपालको स्वाधीनता र उन्नतिमा सधँै सहयोगी रहने बताए । तर नेपालको विकास र प्रगतिमा अझै धेरै चुनौती रहेकाले राजनीतिक दलको एकता आवश्यक भएको उनको कथन थियो ।
संघका केन्द्रीय अध्यक्ष ओमप्रसाद सरावगी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.सुरेशराज शर्मा, वरिष्ठ शल्यचिकित्सक लोकविक्रम थापा, काभ्रे अध्यक्ष शंखलाल तामाङ, सिडिओ रुद्रनाथ बस्याल, संघका केन्द्रीय सल्लाहकार गजानन्द अग्रवाल, केन्द्रीय महासचिव शेखर गिरी, केन्द्रीय सदस्य योगिता राईलगायतले नेपाल र भारतबीचको मैत्री सम्बन्धबारे चर्चा गरेका थिए । संघका शाखा ७० जिल्लामा गठन गरिसकिएको छ । (सौस)

प्रतिक्रिया