नेपालको सम्भावना समाप्त

मेलबर्न, ३२ साउन । कमजोर ब्याटिङ प्रदर्शन आयरल्यान्डविरुद्ध पनि दोहोरिएपछि नेपाल आइसिसी यु–१९ विश्वकप प्रतियोगिताको समूहचरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।
आफ्नो दोस्रो समूह खेलमा बुधबार आयरल्यान्डविरुद्ध उत्रने क्रममा १८६ रनको लक्ष्य पछयाएको नेपाल १४ रनले पराजित भयो । पहिलो समूह खेलमा अस्ट्रेलियासँग २१२ रनले पराजित भएको नेपाली युवा टोली इंगल्यान्डविरुद्धको खेल बाँकी छँदै अघिल्लो चरण प्रवेश नगर्ने प्राय: निश्चित भएको छ ।
समूह ए अन्तर्गत दुई खेल खेले पनि अंक नजोडेपछि नेपाल समूहको पुछारमा मात्र छैन नेट रनरेट पनि नेगेटिभमा दुईभन्दा बढी छ । तीन खेल खेलेको आयरल्यान्ड र दुई खेल खेलेको इंगल्यान्डको समान दुई अंक छ तर नेट रनरेटमा नेपालभन्दा दुवै टोली अगाडि छन् । इंगल्यान्डविरुद्ध भारी अन्तरमा विजयी भए मात्र नेपाल अघिल्लो चरण अर्थात्
सुपर–एट प्रवेश गर्नेछ तर टेस्ट मान्यताप्राप्त टोली इंगल्यान्ड निकै बलियो रूपमा प्रस्तुत भएको छ । पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भए पनि दोस्रोमा उसले आयरल्यान्डलाई हराएको थियो ।
आयरल्यान्डविरुद्ध नेपाली टोली ४९.३ ओभरमा १७१ रनमा समेटियो । नेपालका लागि राहुलकुमार विश्वकर्माले सर्वाधिक ३२ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुभाष खकुरेल ३१, प्रदीप ऐरी २९, कप्तान पृथु बास्कोटा २० र अविनाश कर्णले १४ रन जोडे । प्रतियोगितापूर्व खेलिएका अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका नरेश बुढाएर र हासिम अन्सारीको प्रदर्शन बिर्सनलायक रहयो । पहिलो खेलमा गोल्डेन डकआउट भएका नरेश आयरल्यान्डविरुद्ध पाँच रन जोडी आउट भए भने अन्सारी गोल्डेन डकआउट भए । त्यस्तै सागर पुन ८ र राजेश पुलामीमगर ६ रन जोडी पवेलियन फर्किए ।
प्रदीपको नियमित स्थानमा खकुरेलको जोडी बनेर आएका सागर टोलीले २२ रन जोड्दा पहिलो विकेटका रूपमा स्टम्पिङ भएर आउट भए । त्यसपछि दोस्रो विकेटका लागि खकुरेलसँग २१ रनको साझेदारी गरे पनि कुनै बाउन्ड्री नखेली १३ बल सामना गरेका नरेश एलबिडब्लु भए र लगत्तैको बलमा अन्सारी पनि एलबिडब्लु नै भएर आउट भए । यसपछि टिमको योगफल ५९ हुँदा सुभाष पनि एलबिडब्लु भएर आउट भएका थिए । राजेश रनआउट भएपछि ६९ रन जोड्दै पाँचाँै विकेट पनि गुमाएको नेपाली टोलीका लागि प्रदीप र पृथुले छैटाँै विकेटका लागि ३७ रन जोडेर आशा जगाए ।
स्पिनरबाट अलराउन्डरको छवि बनाइरहेका राहुलले प्रदीपसँग मिलेर २३ रनको साझेदारी गर्दा नेपालले ३७आँै ओभर खेलिरहेको थियो । तर सोही स्थितिमा प्रदीप साताँै विकेटका रूपमा क्याचआउट भए र त्यसलगत्तै ब्याटिङ गर्न आएका भुवन कार्की चार मिनेट मात्र क्रिजमा टिक्न सके । उनी स्टम्पिङ भएका थिए । त्यसपछि अझ दबाबमा देखिएको नेपालले ४४ ओभरमा १५८ रन जोडेको थियो तर सोही स्थितिमा राहुल क्याचआउट भएपछि नेपालको पक्षबाट खेल लगभग फुत्किएको थियो । नेपालले २१ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ आयरल्यान्डका जर्ज डक्रेलले चार विकेट लिए । उनले सुभाष, नरेश, हसिम र भुवनलाई आउट गर्दा १० ओभरबलिङ गर्दा तीन मेडन राख्ने क्रममा २२ रन मात्र खर्चन सफल भएका थिए । उनी नै म्यान अफ द म्याच भए ।
पहलोपटक यु–१९ विश्वकप खेल्ने क्रममा सन् २००० को संस्करणमा सुपर–एट प्रवेश गरेको नेपाल त्यसयता जारी संस्करणबाहेक पनि चारपटक सहभागी भए पनि पहिलो चरण पार गर्न सकेको छैन । सुपर–एट नपुगे नेपाल प्लेट च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछ । समूहचरणबाट बाहिरिने टोलीबीच प्लेट च्याम्पियनका लागि प्रतिस्पर्धा हुन्छ ।
यसअघि टस जिती ब्याटिङ थालेको आयरल्यान्डलाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका म्याक ब्रायनले ४१, पाँचाँै नम्बरमा ब्याटिङ गर्न आएका सेन गेटकेटले ४७ र छैटाँै नम्बरमा ब्याटिङ गर्न आएका टाइरन केनले ३९ रन जोडेपछि आयरल्यान्ड निर्धारित ५० ओभर खेल्न सफल भएको थियो । बलिङतर्फ नेपालका राहुल, पृथु, अविनाश र भुवनले समान दुई विकेट लिए ।

दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित
श्रीलंकालाई पराजित गर्दै दक्षिण अफ्रिका समूह डी को विजेता बनेको छ । बुधबार श्रीलंकालाई चार विकेटले हराउँदै दक्षिण अफ्रिका समूहका आफ्ना सबै खेलमा जित हात पार्न सफल भएको हो । यता श्रीलंकाको भने यो दोस्रो हार हो । दक्षिण अफ्रिका र बंगलादेशबीच हुने खेलको नतिजाले यस समूहबाट सुपर–एट पुग्न बाँकी टिमको टुंगो लाग्नेछ । दुई खेल खेलेको बंगलादेश र आफ्ना सबै समूह खेल खेलिसकेको श्रीलंकाको समान दुई अंक छ । यद्यपि बंगलादेश रनरेटमा श्रीलंकाभन्दा पछि छ । श्रीलंकालाई ३७.४ ओभरमा अलआउट गर्दै पाएको १५१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३३ ओभरमा पूरा गरेको थियो । यता समूह बी को खेलमा स्कटल्यान्डलाई १० रनले पराजित गरी अफगानिस्तानले सान्त्वना जित हात पार्‍यो । दुई खेलमा लगातार हार व्यहोरेपछि समूहचरणबाटै बाहिरिएको अफगानिस्तानले १९२ रनको लक्ष्य पछयाएको स्कटल्यान्डलाई चार बल बाँकी छँदा अलआउट गरेको थियो । एजेन्सी

प्रतिक्रिया