पदकविजेताको भव्य स्वागत

कम्पाला, ३२ साउन । ओलम्पिक खेलकुदमा ४० वर्षयता मुलुकलाई पहिलो स्वर्णपदक दिलाएका म्याराथन धावक स्टेफन किप्रोटिचको युगान्डामा व्यापक स्वागत भएको छ । लन्डन अ‍ोलम्पिकमा स्वर्णपदक जितेर फर्किएका उनलाई सयौँ मानिसले विमानस्थलमा स्वागत गरेका थिए । सन् १९७२ को म्युनिक ओलम्पिकयता युगान्डाले पहिलोपटक स्वर्णपदक जित्ने क्रममा किप्रोटिचले सानदार प्रदर्शन गरेका थिए ।
लन्डन अ‍ोलम्पिक खेलकुदमा स्वर्णपदक जित्नु अघिसम्म गुमनाम रहेका किप्रोटिच स्टार बनेर स्वदेश फर्किए । स्वदेश फर्किएको केही घन्टामै उनलाई युगान्डाली राष्ट्रपतिले ‘ब्रेकफास्ट’ का लागि निमन्त्रणा गरेका थिए । सांसदहरू उनलाई ‘राष्ट्रनायक’ घोषणा गर्ने तयारी गरिरहेका छन् । उनको सहयोगार्थ एक लाख डलर संकलन भइसकेको छ ।
यता लन्डन ओलम्पिकमा अपेक्षित प्रदर्शन गर्न नसकेको केन्याली टोली पनि बुधबार स्वदेश पुगेको छ । परिवार तथा साथीहरूले उनीहरूलाई स्वागत गरे । यता केन्याली सरकारले भने लन्डन ओलम्पिकमा केन्याको कमजोर उपस्थितिको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।
केन्याली खेलकुदमन्त्री पल ओटुओमाले लन्डन ओलम्पिक खेलकुदमा आफ्ना खेलाडीले गरेको प्रदर्शनबारेको प्रतिवेदन सोधपुछपछि सार्वजनिक गरिने जनाइएको छ । दुई स्वर्णपदकसहित ११ पदक जितेको केन्या लन्डन ओलम्पिकमा पदक तालिकामा २८आँै स्थानमा रहेको थियो । एएफपी

प्रतिक्रिया