डा.सिंहद्वारा वैदेशिक लगानी भित्र्याउने प्रतिबद्धता

नयाँदिल्ली : भारतले बुधबार स्वतन्त्रताको ६६औँ वर्षगाँठ मनाइरहेको छ । यसका लागि भारतमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आजभन्दा ठीक ६६ वर्षअघि भारत बेलायती उपनिवेशबाट मुक्त भएको थियो । सन् १९४७ को अगस्ट १५ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएकाले भारतले आजका दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । बुधबार स्वतन्त्रता दिवसको दिन पारेर हुनसक्ने विविध असुरक्षाका घटनालाई मध्यनजर गरी भारतभर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यसै विषयमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री डा.मनमोहन सिंहले भारतीय जनतालाई बधाई तथा शुभकामना सन्देश व्यक्त गर्नुभएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री डा. सिंहले स्वतन्त्रता दिवसका आवसरमा बुधबार बिहान दिएको मन्तव्यमा भारतले वैदेशिक लगानीलाई बढाउन पहल गर्ने बताएका छन् । उनले उक्त भाषणमा हाल भारतको आर्थिक अवस्था सन्तोषजनक नरहेको भन्दै भारतमा वैदेशिक लगानी भित्र्याउन जस्तोसुकै काम पनि गर्ने धारणा मन्तव्यमा व्यक्त गरे ।
स्वतन्त्रता दिवसका लागि आयोजना गरिएको मञ्चको सदुपयोग गरी उनले भारतको आर्थिक अवस्थाको बयान गर्दै भारतमा वैदेशिक लगानीको वातावरण निर्माण गरिनेमा जोड दिए । भारतले विगत लामो समयदेखि आर्थिक विकासलाई दोहोरो अंकमा ल्याउने प्रयत्न गरिरहेको बताए पनि त्यसबमोजिम विकास भने हुन सकिरहेको छैन । हाल भारतको आर्थिक अवस्थामा विगत लामो समयपछि निकै ठूलो संकट आउन लागेजस्तो देखिएको पनि आर्थिक विश्लेषकको भनाइ छ । पछिल्लो एक तथ्यांकअनुसार भारतको आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्र छ । गत जनवरीदेखि मार्च महिनासम्मको यो अवस्थाले आगामी दिनमा भारतको आर्थिक वृद्धिलाई झन् तल झार्न सक्ने संकेत गरेको पनि बताइएको छ । सो अवसरमा उनले भने, ‘हामी भारतमा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक जस्तोसुकै कसर पनि बाँकी राख्ने छैनौँ र देशभित्र पनि आवश्यक संरचना निर्माणमा पनि खर्च घटाउनेछैनौँ । भारतका लागि अत्यावश्यक पूर्वाधारहरू, जस्तै: बाटो, रेलमार्ग र विद्युतीय सञ्जाल निर्माणलाई पनि गति दिने प्रण उनले गरेका छन् ।
वैदेशिक लगानीलाई भारतमा आकर्षित गर्न विदेशका लगानीकर्ताका बीचमा विश्वास निर्माणमा काम गरिने प्रतिबद्धता उनले व्यक्त गरे । भारतमा लगानीका लागि कुनै पनि खालका अवरोध छैनन् भन्ने वातावरणको निर्माणका लागि वर्तमान सरकारले प्रतिबद्धताका साथ काम गर्ने पनि प्रधानमन्त्री डा. सिंहले बताए । नयाँदिल्लीमा भारतीय स्वतन्त्रतासम्बन्धी एक परम्परागत भाषण दिएलगत्तै प्रधानमन्त्री डा. सिंहले विश्व यतिखेर आर्थिक मन्दीको निकै नै अप्ठेरोबाट गुज्रिरहेको बताउँदै यसका लागि विशेष कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । विश्वको यो आर्थिक अवस्थाले हाल भारतलाई पनि असर पार्न थालेको अनुभव भारतसँग रहेको पनि उनले सुनाए । उनले भने, ‘अहिले नै हामी देशबाहिर त केही पनि गर्न सक्दैनौँ तैपनि देशमा भने आर्थिक अवस्थाको सुदृढीकरणलाई सघाउने र यसको प्रवद्र्धनमा सहयोगी सिद्ध हुने मात्र कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ ।’
भारतमा बढ्दो यही आर्थिक अनिश्चितताको अवस्थालाई मध्यनजर राखी अर्थ व्यवस्थाका एकजना विज्ञ पी चिदम्बरम्लाई हालैमात्र अर्थमन्त्रीमा नियुक्त गरिएको थियो । भारतमा भ्रष्टाचारका कारण पनि वैदेशिक लगानीका लागि उचित वातावरण बन्न नसकेको बताइन्छ । साथै, भारतमा हालैको केही समययता भने नागरिकस्तरबाटै भ्रष्टाचार नियन्त्रणका पहल भइआएका छन् । (एजेन्सी)

प्रतिक्रिया