‘अर्को कुनै काम गर्नु पर्दैन,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुभाष निरौला भन्छन्, ‘सबैले आ–आफ्नो पक्षबाट इमानदार भएर लाग्ने हो भने पर्यटन व्यवसायले नै देशको उन्नति सम्भव छ ।’ पर्यटन विकासलाई ‘नारा’का रूपमा मात्रै नलिएर हरेक नागरिकले व्यवहारमा परिवर्तन गर्ने हो भने यो सम्भव भएको निरौलाको ठम्याइ छ । ‘हिँड्नेले बाटो फोहोर नगरिदिए, पदमा बसेकाले जिम्मेवारी पूरा गरिदिए यो सम्भव नहुने कुरै छैन’ –वरिष्ठ निर्देशक निरौलाको सुझाब छ ।
पुख्र्यौली घर तेह्रथुम छथर भए पनि मोरङको विराटनगरमा विसं. २०१६ मा जन्मिएका निरौला सानोमा काठमाडौंको सेन्ट जोसेफ स्कुलमा पढे पनि प्रवेशिका पास भने पब्लिक माध्यमिक विद्यालय मोरङबाट २०३२ मा ब्याच टप गरेका हुन् । उनको उच्च शिक्षाको सुरुआत भारतको बनारसबाट भएको हो । त्यहाँबाट आइएस्सी पास गरेपछि निरौलाले त्रि–चन्द्र क्याम्पस काठमाडौंबाट सन् १९८४ मा बिएस्सी उत्तीर्ण गरेका हुन् । एक वर्षीय जनप्रशासन अध्ययन गरेर उनले सन् १९९८ मा वेल्लिभिउ युनिभर्सिटी युएसएबाट लिडरसिपमा स्नातकोत्तर गरेका छन् । उनले पर्यटन विषय लिएरसमेत त्यही अध्ययन गरेका थिए ।
पर्यटनमा नै देश विकासको सम्भावना देखेका निरौलाले सन् २००० मा खुला प्रतिस्पर्धा लडेर नेपाल पर्यटन बोर्डमा सिधै निर्देशकको पद सम्हाल्न पुगेका हुन् । हाल वरिष्ठ निर्देशकका साथै बोर्डको पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखा प्रमुख एवं दिगो पर्यटन सञ्जाल राष्ट्रिय संयोजकको जिम्मेवारीसमेत निरौलाले सम्हालेका छन् ।
निरौलाले पर्यटन बोर्डको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा देशको राजनीतिक वातावरणले मुलुकको पर्यटन व्यवसाय फस्टाउन नसकेको अनुभव गरेका छन् । ‘राजनीतिक वातावरण एक खालको हुनै सकेन,’ वरिष्ठ निर्देशक निरौलाले भने, ‘महिनाँै बन्द हुन्छ, हडताल हुन्छ, अनि को घुम्न आउने ?’ योसँगै राष्ट्रिय ध्वजाबाहक विमानको अभाव, सामाजिक व्यवहारमा सुधार नहुनु र बोर्ड आफैँले पनि दूरदराजका गाउँमा पर्यटन व्यवसायसम्बन्धी जागरण ल्याउन नसक्नु कमजोरी रहेको बताए । देशको समग्र पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको बोर्डले किन जिम्मेवारी पूरा गर्न सकिरहेको छैन त ? उनले भने, ‘पहिलो राजनीतिक वातावरण नै कारण हो, दोस्रो राज्यले यो क्षेत्रलाई मूल उद्देश्य बनाउन सकेको छैन अर्को मिडियाको पहुँच गाउँ गाउँसम्म छैन, भएकाहरूमा पनि एकताको भावना छैन ।’ बोर्डमा आउनुअगाडिदेखि नै निरौला यस क्षेत्रमा व्यावसायिक रूपमा संलग्न थिए । उनी पारिवारिक लगानीमा विराटनगरमा विसं. २०२८/२९ तिर स्थापना गरिएको तीनतारे स्तरको ‘होटेल रारा’को सञ्चालनमा संलग्न भई सुपरभाइजरसम्म भएका थिए ।
पेसागत जीवन भने निरौलाले सन् १९८१ मा काठमाडौंको सिद्धार्थ बनस्थली स्कुलबाट शिक्षक बनेर सुरु गरेका थिए । त्यसपछि नेपाल सरकारको एग्रिकल्चर प्रोजेक्ट रिसर्च सर्भिस सेन्टरमा एक वर्ष अनुसन्धाता भई काम गरे । सन् १९८७ देखि ९० सम्म काठमाडौंको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा पहिलो सुपरिटेन्डेन्ट भएर काम गरे । अहिले पर्यटन विज्ञका रूपमा देशविदेशका कार्यशालामा भाग लिने निरौला हिमालयन एडभेन्चर प्रालिमा सन १९९० देखि पाँच वर्ष सल्लाहकार भइसकेका छन् ।
नेपालको समुन्नत विकास पर्यटनमा मात्रै देख्ने निरौला यो व्यवसायमा लगानी कम भएकाले पनि बढी सम्भावना भएको औल्याउँछन् । ‘अन्य पेसामा लगानी बढी छ, जोखिम पनि धेरै छ,’ उनले भने, ‘नेपालमा प्राकृतिक पर्यटनको सम्भावना धेरै छ, लगानी थोरै छ ।’ उनले एउटै समस्या देखेका छन्, ‘व्यवस्थापन र सकारात्मक सन्देशको अभाव ।’ सिद्धार्थ ट्याक्सी सर्भिस लि. नामक कम्पनीमा संस्थापक सञ्चालक र प्रबन्ध निर्देशक भई त्यति बेलै ४८ वटा ट्याक्सी सफलतापूर्वक सञ्चालन गरिसकेका निरौला अहिले यातायात पनि अव्यवस्थित बन्दै गएकामा चिन्तित छन् । उनले अभिनेत्री मनीषा कोइरालाको अध्यक्षतामा स्थापना गरिएको एनइएनसिआइसी संस्थामा समेत महासचिव भएर १९९६ मा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्था एवं निकायमा स्वतन्त्र कन्सल्टेन्ट भएर काम गरिसकेका निरौला आफैँमा एक कुशल व्यवस्थापक भए पनि नेपालको पर्यटन व्यवसाय सोचे जति रफ्तारमा व्यवस्थित नभएकोप्रति सहमत छन् । यसलाई व्यवस्थित र उन्नतिको बाटोमा लग्न बोर्डले मात्रै नभएर हरेक नागरिकले आफ्नो तर्फबाट सजग र सचेत भैदिनुपर्ने आग्रह उनको छ । हिजोका दिनसम्म विदेशीलाई मात्र पर्यटक ठान्ने नेपाली समाज आज आफैँ पनि घुमफिर र भ्रमणमा रुचि राख्दै गएकोप्रति भने उनी आशावादी छन् । ‘आज घुमफिरको संस्कार बढेको छ’, निरौलाले भने, ‘यसले आन्तरिक पर्यटनलाई बढावा दिन्छ । यो प्रगतिको पथ पनि बन्नेछ ।’
निरौलाले सरकारले थालेको तारा गाउँ विकास समितिको कार्यकारी समितिमा सदस्य, ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम गन्तव्य नेपाल अभियानका सदस्य–सचिव, नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको पोखरा भ्रमणवर्ष २००७ को सह–संयोजक भएर काम गर्ने अवसर पाइसकेका छन् ।
नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापन ढाँचालगायतका, पर्यटक प्रहरी सुधार कार्यदलको सदस्यका रूपमा भूमिका निर्वाह गरिसकेका छन् । नेपाल सरकारको राष्ट्रिय अभियान नेपाल पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिको सदस्य–सचिवसमेत रहिसकेका निरौला अहिले पर्यटन बोर्डको कार्यकारी प्रमुखको भूमिकामा छन् ।
शिक्षा मन्त्रालयअन्तर्गतको स्वप्न बगैँचा विकास समितिमा २००१ देखि हालसम्म सदस्यका रूपमा जिम्मेवारी बहन गरिरहेका निरौला नेपालमा पर्यटनको नीति तथा योजनाको निर्माण, बजारीकरण तथा प्रवद्र्धन, दिगो पर्यटन विकास, समुदायमा आधारित पर्यटन, पर्यापर्यटन तथा पर्यटन सम्पदाको विकासमा निरन्तर समर्पित देखिन्छन् ।
उनैको सक्रियतामा पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखा स्थापना गरिएको छ । ‘आन्तरिक पर्यटनको विकास र विस्तार नभई अन्तर्राष्ट्रिस्तरमा प्रवद्र्धन गर्न सम्भव हुँदैन’ भन्ने दृढता बोकेका निरौला अब आन्तरिक पर्यटक विकासको योजनामा बढी केन्द्रित देखिन्छन् । त्यसैका लागि उनले मोरङको विराटनगरमा साउथ एसियन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट स्थापनामा सक्रिय भूमिका निर्वाह गरेको बताए । नेपालका ६० भन्दा बढी जिल्ला भ्रमण गरिसेको निरौलाले अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, निदरल्यान्ड, बेल्जियम, लक्जेम्बर्ग, जापान, चीन, हङकङ, मकाउ, सिंगापुर, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बंगलादेश, रूस, संयुक्त अरब इमिरेट्स, कतार र दक्षिण कोरियालगायतका देशको भ्रमण गरिसकेका छन् ।
वरिष्ठ निर्देशक निरौलाकी जीवनसंगिनी संगीता सिग्देल निरौला नेपालमा महिला शशक्तीकरणका कार्यक्रम सञ्चालन एवं भ्रष्टाचारविरुद्धको कार्यमा संलग्न छिन् भने छोरा आभाष निरौला बैंकिङ क्षेत्रमा सम्बद्ध छन् । छोरी आयुषा निरौला पत्रकारितामा संलग्न छिन् । सकारात्मक सोच र कर्ममा विश्वास राख्ने निरौला भन्छन्, ‘सकारात्मक सोच र कर्मले व्यक्तिलाई मात्र होइन, मुलुकलाई नै उँभो लगाउँछ ।’
प्रतिक्रिया