फेरि गल्तीहरू नदोहोरिऊन्


नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) चयन हुने बेला भएको छ । विगत ३० वर्षदेखि म आइजिपी परिवर्तन हुँदा आउने उतारचढाव र त्यसबाट प्रहरी संगठनलाई पर्ने कुप्रभाव महसुस गरिरहेको छु । मैले प्रहरी सेवामा २०३९ सालमा प्रवेश गरेँ । त्यतिबेला दुर्लभकुमार थापाको अन्तिम समय थियो । तत्काल डिबी लामा आइजिपी हुनुभयो । लामाले पदमा आउनेबित्तिकै थुप्रै होनहार प्रहरी अधिकृतहरूलाई दुर्लभकुमार थापाको मानिस भनी खोसिदिनुभयो । भुवनचन्द्र भट्ट, हिरण्यप्रकाश सरजस्ता डिएसपी दर्जाका असल र व्यावसायिक अधिकृतहरू पनि विनाकारण खोसिए । यसरी खोसिनुका पछाडि डिबी लामालाई दुर्लभकुमार थापाले आइजिपी हुन असहयोग गरेको भन्ने मुख्य कारण थियो । दुर्लभकुमार थापासँग बदला लिने क्रममा निर्दोष प्रहरी अधिकृतहरूलाई बलि चढाइयो ।
डिबी लामापछि रत्नशमशेर राणा र हेमबहादुर सिंह आइजिपीका दाबेदार हुनुहुन्थ्यो । वरिष्ठता मिचेर हेमबहादुर सिंहलाई आइजिपी बनाइयो र रत्नशमशेरले जागिरै छाड्ने जमर्को गरेपछि उहाँलाई पनि एआइजी बनाई आइजिपीको लाइनमा राखियो । त्यसबेला हेमबहादुर सिंहका नजिकका डिआइजी रणबहादुर चन्दलाई रत्नशमशेरको ठाउँमा आइजी बन्न रहर जाग्यो । त्यसका लागि रत्नशमशेरलाई हटाउने रणनीति सुरु भयो । मौकाको खोजी हुँदै थियो त्यत्तिकैमा राजदरबारमा अधिराजकुमार धीरेन्द्र शाहले बाहिर एङ्लो–इन्डियन केटीलाई राखी बरु देशै छाडेर हवाइतिर जाने तर त्यो केटीलाई नछाड्ने जिद्धी लिए । यसले धीरेन्द्रका एडिसीले नै उसलाई उकासेका होलान् भन्दै कर्णेल भरत गुरुङलाई झूटा मुद्दा लगाएरै भए पनि थुन्ने दरबारी योजना भयो । यो योजना कार्यान्वयन गर्ने जिम्मा डिआइजी रणबहादुरलाई दिइयो । उनले एक तह पदोन्नति पाउने लोभमा भरत गुरुङलाई झूटा मुद्दामा मात्र फसाएनन् बल्की उनीसँग पूर्वआइजिपी डिबी लामालाई समेत जोडी जेल हाले । रत्नशमशेरलाई पनि त्यही मुद्दामा पारेर खोस्ने प्रबन्ध मिलाए । डिबी लामाका मानिसहरू भन्दै इन्द्रबहादुर शेरचनदेखि झन्डै ५० अधिकृतलाई थुन्ने, खोस्ने, दु:ख दिने र रुवाउने काम गरे । दरबारको छाला ओडेर प्रहरीभित्र आइजिपी बन्नका लागि प्रतिद्वन्द्वी खत्तम गर्ने क्रममा रणबहादुरले प्रहरीभित्र ठूलो षड्यन्त्रको सुरुआत गरे । रणबहादुरको एक तह पदोन्नतिको लोभले प्रहरीमा आफ्नै साथीभाइलाई विशेष प्रहरी वा अख्तियारमा झूटा मुद्दा लगाई अवसर सिर्जना गर्ने फोहोरी खेलको सुरुआत भयो । रणबहादुरले भर्ना गरेका वा तिनलाई गुरु थापी अगाडि बढेका प्रहरी अधिकृतहरू यो काममा आजसम्म सक्रिय छन् ।
हेमबहादुरपछि रत्नशमशेर आइजिपी भए । उनले कसैलाई रिस साँधेनन् । कसैलाई खोसेनन् । विशाल हृदयका धनी रत्नशमशेरको आगमन हेमबहादुर र रणबहादुरको त्रासदीपूर्ण समयको अन्त्य थियो । राणा आइजी २०४६ सालपछि भएका कारण बहुदल आइसकेको थियो । आइजिपी बनाउने अधिकार दरबारमा नभई सिंहदरबार र बालुवाटारमा पुग्यो । रत्नशमशेरपछि मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल र ध्रुव प्रधान आइजिपीका दाबेदार थिए । मोतीलाललाई खरेल र प्रधानसँग भित्री डर पनि थियो । जब उनले देखे रत्नशमशेरलाई बीचमा हटाउन सके गृहमन्त्री सुदूरपश्चिमका भएका कारण आफू आइजिपी हुन सकिन्छ । सायद त्यसपछि भित्री खेल सुरु भयो र ऐन संशोधन गरी ३० वर्षे प्रावधान राखेर रत्नशमशेरलाई पदच्युत गर्दै बोहरा आइजी हुन सफल हुनुभयो । खरेल तथा प्रधानलाई थुमथुम्याउन एआइजी पद सर्जिना गरी बोहरापछि आइजिपी हुने अवस्था सिर्जना गरियो । बोहराको आइजी हुने चाहनाले प्रहरीमा ३० वर्षे लागू भयो र आइजिपीलाई बीचैमा हटाउन सकिने अभ्यासको सुरुआत पनि भयो । बोहराको बीचैमा आइजिपी हुने चाहनाले प्रहरीको आइजिपी पद गृहमन्त्रीको कृपा र आशीर्वादमा मात्र निर्भर हुने प्रचलन सुरु भयो ।
बोहरापछि खरेल र प्रधानबीच प्रतिस्पर्धा सुरु भयो । दुवै प्रहरीमा लोकप्रिय भएका कारण दुइटा स्पष्ट गुट देखापरे । आ–आफ्नो गुट खडा गर्ने प्रचलन यहीँबाट सुरु भयो । दुवै एआइजीले प्रधानमन्त्री र गृहमन्त्रीको साथ पाउन राजनीतिक दलसँग जानेर/नजानेर विभिन्न सम्झौता गर्न बाध्य भए । स्थिति यस्तोसम्म बन्यो कि चाहे कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन होस् वा सरकार ढाल्न र बचाउन सांसद लुकाउन होस्, चाहे कुनै पार्टीलाई चुनावमा हराउन होस् वा जिताउन होस् आइजिपी बनाइदिने वा आइजिपी हुने चाहनाको क्रममा दुवै एआइजीहरू नजानिँदो रूपले राजनीतिज्ञको माखेसाङ्लोमा फस्दै गए । अझ दलहरूले प्रहरी संगठनलाई पार्टी चलाउने र चुनावको खर्च जुटाउनेलगायत किनिएका सांसदलाई रकम तिर्ने उपायसमेत बनाइदिए । पछि त प्रहरीभित्र गुटबन्दी, राजनीतीकरण, संस्थागत भ्रष्टाचारको प्रवेश मात्र होइन सरुवा, बढुवामा समेत पैसाको चलखेलले प्रश्रय पाउन थाल्यो । खरेल दुईपटक र प्रधान एकपटक आइजी हुनुभयो तर माहोल यति खराब भइसकेको थियो कि दुवैले त्यो पदलाई प्राप्त गरे पनि पूरा समय रक्षा गर्न सक्नुभएन । अझ एकअर्काबीच प्रेसको सहायता लिई आरोप प्रत्यारोप लगाउने कार्य सुरु गरिँदा प्रेसले पनि प्रहरी संगठनलाई त्यसपछि नराम्रोसँग शोषण गर्ने परम्परा सुरु भयो । खरेल र प्रधानबीचको प्रतिस्पर्धाले प्रहरी गुटका नाममा धेरै प्रहरी अधिकृत बिगारिए । त्यसले प्रहरी संगठनलाई ठूलो क्षति पुर्‍यायो ।
खरेल र प्रधानपश्चात् एक्कासि प्रदीप शमशेर आइजिपी हुनुभयो । उहाँको पालो आइपुग्दासम्म प्रहरीमा गृहमन्त्री हाबी भइसकेका थिए । प्रदीप शमशेरका प्रतिद्वन्द्वी कृष्णमोहन श्रेष्ठ सशस्त्रमा जानुभएपश्चात् सशस्त्रलाई माथि ल्याउन जनपथ प्रहरीको अधिकार क्षेत्र हस्तक्षेप गर्ने प्रक्रिया सुरु भयो । यो स्वाभाविक पनि थियो तर दुइटा आइजी भएका कारण गृहमन्त्रीलाई खेल्न सजिलो भयो । प्रदीप शमशेरको समयमा सरुवा बढुवामा गृहमन्त्री र सचिवको ठूलै हस्तक्षेप हुन्थ्यो । यही कालमा राजाको शासन आएपछि प्रदीप शमशेरलाई म्याद नथपी श्यामभक्त थापालाई प्रहरी प्रमुख बनाइयो । आइजी श्यामभक्तलाई दरबारले ल्याउनेबित्तिकै प्रजातान्त्रिक सरकारलाई साथ दिएको आरोपमा पूर्वआइजिपीलाई भ्रष्टाचार मुद्दामा पाठ पढाउने दरबारीया रणनीति बन्यो । स्व. शरदचन्द्र शाह, तुलसी गिरी, निरञ्जन थापाजस्ता असफल अनुहारहरू यस योजनाका योजनाकार थिए । यसै मौकामा धीरेन्द्रको केटीकाण्ड भजाएर आइजिपी बन्ने खेल बनेझैँ थुप्रै होनहार अधिकृतहरू बिगार्ने ‘ग्य्रान्ड डिजाइन’ फेरि सुरु भयो । श्यामभक्तले थुप्रै प्रहरी अधिकृत बिगार्नुभयो ।
राजा हटेपछि फेरि प्रजातान्त्रिक सरकार आयो । त्यो सरकार आउनेबित्तिकै ओमविक्रम राणा श्यामभक्तलाई बीचमै ढालेर आइजिपी हुनुभयो । राजेन्द्रबहादुर सिंहजस्ता राजाको समयमा शक्तिशाली अधिकृतलाई अवकाश दिलाई कृष्ण बस्नेत र मोक्तानजस्ता एआइजीलाई गृहमै थन्क्याउन पनि राणा गृहमन्त्री सिटौलाको मद्दतले सफल हुनुभयो । तर, त्यही सिटौलाकै भर पर्दा राणाले सुडानकाण्ड घटाउन बाध्य भई उहाँलाई जेल जानुपर्‍यो । गृहमन्त्री सिटौलाले राणाका माध्यमबाट प्रहरीलाई भ्रष्टाचारी बनाउन र होनाहार अधिकृतहरू हटाउन सफल भए । राणापछि केही दिन काकताली परेर हेमबहादुर आइजिपी बन्नुभयो तर उहाँले त्यो पदमा अड्न जातीयताको मुद्दा उठाई पहिलोपल्ट प्रहरी संगठनलाई जातीयताभित्र मुछ्ने प्रयास गर्नुभयो । हेमबहादुरको पनि समय पुगेपछि रमेश चन्द, रवीन्द्र प्रतापलाई उछिनी आइजी हुनुभयो । मन्त्री रावलले उहाँलाई चल्न चटपटाउन दिने स्थिति थिएन । उहाँले केही बदमास प्रहरी अधिकृतहरूको विश्वासमा परी ओमविक्रमलाई पाठ सिकाउन खोज्दा आफैँ संटकमा पर्नुभयो । रमेश चन्दपश्चात् आइजीमा रवीन्द्रप्रताप शाह आउनुभयो र उहाँले पनि गृहमन्त्रीका सबै दबाब झेल्न नसके पनि संगठनको हितमा केही राम्रा काम गर्ने प्रयास गर्नुभयो । विगतका झैँ उहाँका पालामा आफ्ना स्वार्थका लागि कसैलाई बिगार्ने काम भएको देखिएन ।
अब आउने भदौ २९ गतेबाट नयाँ आइजी हुन एआइजीहरूको दौड सुरु भएको छ । यो दौडमा रणबहादुरले सिकाएका षड्यन्त्रदेखि अन्य आइजी हुन प्रयोग गरिएका राजनीतिक शक्ति, पैसाको प्रलोभन, प्रेस, प्रोपोगान्डाको प्रयोगदेखि जातीयतासम्मको तुरुप प्रयोग हुन सक्ला । तर, म अब हुने प्रहरी प्रमुखहरूलाई प्रहरी बनाउन तालिम दिने प्रशिक्षकको हैसियतले के सल्लाह प्रदान गर्न चाहन्छु भने, असत्यको जगमा पद प्राप्त गर्न कसैले पनि प्रयास नगर्नुहोस् । यदि यसो गरी त्यो पद प्राप्त गरे पनि या त त्यो पद नै टिक्दैन या त्यही पदले तपाईंहरूको जीवनमा नौलो समस्या ल्याउनेछ । हिजो प्रहरी प्रमुख हुन खोज्नेहरूले व्यक्तिगत एक तह पदोन्नतिका लागि थुप्रै गल्ती गरिदिएका कारण आज प्रहरी संगठन गुट उपगुटको दलदलमा फसेको छ । गृहमन्त्रीको हरुवाचरुवाझँै भएर षड्यन्त्रको दलदलमा बाँच्न विवश छ । हिजो प्रहरी प्रमुख हुनेहरू पनि डिआइजी हुनुअगाडि व्यावसायिक र असल प्रहरी अधिकृत नै हुनुहुन्थ्यो तर आइजिपी हुने चाहनामा गलत कदम चाल्न पुग्दा उहाँहरूले रोपेको प्रहरीभित्रको फोहरी खेलले उहाँहरूलाई नै समाजमा खलनायक र भ्रष्टाचारीसमेत बनायो । यो गल्ती अबका एाइजीहरूले नगरुन् ।

प्रतिक्रिया