काठमाडौं, ३२ साउन । टिचिङ अस्पतालका चिकित्सकले बुधबारबाट आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक आधारमा पदाधिकारी नियुक्तिको विरोधमा तीन दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
संस्थान तथा अस्पतालमा पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाका आधारमा नभई वरिष्ठता वा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने सोमबारदेखि अनशनमा बसेका डा. केसीको माग छ । सो मागलाई समर्थन गर्दै अस्पतालका रेजिडेन्ट तथा अन्य चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।
चिकित्सकले सेवा ठप्प पारेपछि अस्पतालमा दैनिक उपचार गर्न जाने बिरामी भने समस्यामा परेका छन् । टिचिङमा दैनिक दुई हजारदेखि २५ सयको हाराहारीमा बिरामी उपचारका लागि जाने गर्छन् । त्रिविका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विशेषाधिकार प्रयोग गरी सोमबार संस्थानमा वरिष्ठताका आधारमा ५० जना चिकित्सकभन्दा तल रहेका डा. धर्मकान्त बास्कोटालाई डिनमा नियुक्त गरेका थिए । उपकुलपतिको एकल निर्णयबाट कनिष्ठलाई राजनीतिक आधारमा डिन नियुक्त गरेपछि अस्पतालका चिकित्सक आक्रोशित भएका हुन् । चिकित्सकहरूले माग सम्बोधन नभएसम्म अस्पतालको सेवा सुचारु नगर्ने जनाएका छन् ।
त्रिवि प्राध्यापक संघ महाराजगन्ज चिकित्सा क्याम्पस इकाइका अध्यक्ष डा. दिनेशविक्रम पोखरेलले चिकित्सकले उठाएका जायज मागलाई बेवास्ता गर्दै र डा. केसीको ज्यानमाथि नै खेलवाड गरी त्रिविले गलत निर्णय गरेकाले अस्पतालको सेवा बन्द गर्नुपरेको बताए । ‘हाम्रो इच्छा अस्पतालको सेवा बन्द गरेर बिरामीलाई दु:ख दिने थिएन,’ उनले भने, ‘तर सरकारले नै अस्पतालमा राजनीति घुसाएर संस्थालाई धराशयी पार्न खोजेकाले बन्द गर्न बाध्य भएका हौँ ।’ उनले संस्थानमा अहिले राजनीतिक गतिविधि गर्न छुट दिए नेपाली जनताले भविष्यमा वर्षौंसम्म दु:ख पाउने भन्दै अहिले केही दिन दु:ख सहन आग्रह गरे ।
यतिबेला शिक्षण अस्पताल महाराजगन्ज स्वास्थ्य संस्थामा राजनीतिक गतिविधिका आधारमा पदाधिकारी नियुक्ति गर्न पाउनुपर्ने र नपाउने विषयमा दुई गुटमा विभाजन भएको छ । अस्पतालका चिकित्सकको टोली संस्था र अस्पतालमा राजनीतिक आधारमा पदाधिकारी नियुक्ति गर्नुहुन्न भन्ने पक्षमा अडिग छन् भने केही कर्मचारी राजनीतिक आधारमै पदाधिकारी नियुक्ति गर्न पाउनुपर्ने पक्षमा । एमालेको कोटाबाट संस्थानको डिन भएका डा. बास्कोटाको पक्षमा बोल्दै राष्ट्रिय कर्मचारी संगठन त्रिवि शिक्षण अस्पताल इकाइ समिति र त्रिवि प्रगतिशील कर्मचारी संगठनले बुधबारबाट अस्पतालमा रिले अनशन सुरु गरेका छन् ।
‘क्षणिक फाइदाका लागि स्वास्थ्य संस्थामा राजनीति घुसाउन पाउनुपर्छ भन्दै ती कर्मचारीले वकालत गरिरहेका छन्,’ अस्पतालका एक चिकित्सकले भने, ‘राजनीतिक आधारमा आएका पदाधिकारी भए अस्पतालमा आर्थिक अनियमितता गर्न पाइने भएकाले उनीहरूले यस्ता बेतुकका माग गरेका हुन् ।’
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर
संस्थानमा रिक्त रहेका पदमा दक्षता र योग्यताका आधारमा पदाधिकारी नियुक्तिको माग गर्दै सोमबारदेखि आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकका अनुसार डा. केसीको मिर्गौलाको युरिया, क्रेटिनन र एसिटोन बढ्दै गएको छ । मिर्गौलाको काममा समस्या आउनेबित्तिकै शरीरका अन्य अंगको काममा पनि विस्तारै समस्या आउने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
त्रिविले सुझाव समिति बनायो
सोमबार साँझ मात्र उपकुलपतिको एकल निर्णयबाट संस्थानमा डिन नियुक्ति गरिए पनि अनशनमा बसेका डा. केसीले आन्दोलन नछाडेका र अस्पतालको सेवासमेत बन्द भएपछि त्रिविले तीन सदस्यीय सुझाव समिति बनाएको छ । त्रिविले बुधबार डा. ऋतुप्रसाद गड्तौलाको संयोजकत्वमा समिति बनाएको हो । समितिमा डा. सुरेश बास्तोला र डा. हरिदर्शन श्रेष्ठ छन् । त्रिविले समितिको सुझावका आधारमा पदाधिकारीको विषयमा टुंगो लाउने बताइएको छ ।
चिकित्सक संघको ऐक्यबद्धता
टिचिङमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्य, इमानदार र वरिष्ठताका आधारमा नियुक्तिको माग गर्दै आएका डा. केसीप्रति नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीको आन्दोलन र आमरण अनशनप्रति ऐक्यबद्धता जाहेर गरेको हो । ‘प्रा.डा.केसीले संस्था हितका लागि गर्नुभएको आमरण अनशनबाट उहाँको स्वास्थ्यमा गम्भीर असर भई कुनै पनि अप्रिय घटना भएमा त्रिविका पदाधिकारी तथा नेपाल सरकार पूर्णरूपमा जिम्मेवार हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ केसीको जीवनरक्षार्थ यथाशीघ्र मानवअधिकारवादी, नागरिक समाज, त्रिविका पदाधिकारी, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री एवं प्रधानमन्त्रीलगायत विभिन्न जिम्मेवार राजनीतिक
दलका शीर्षस्थ नेताहरूको गम्भीर ध्यानाकर्षण गर्दर्छौं ।’
बरु मर्छु : डा. केसी
अस्पतालजस्तो संस्थालाई राजनीतिबाट टाढा राख्नुहोस् भन्दा माग पूरा हुन सकेको छैन । चिकित्सक उत्पादन गर्ने संस्था र हजाराँै बिरामीको उपचार गर्ने संस्था पछिल्ला समयमा राजनीतिक कारणले धराशयी हुँदै गइरहेका छन् । संस्थान राजनीतिक हानथापले धराशयी हुँदै जान लागेकाले अस्पताल र संस्थानमा राजनीति गर्नुहुन्न भन्ने मेरो माग हो । दलगत आस्थाका आधारमा अयोग्य व्यक्तिलाई नभई योग्यताका आधारमा वा प्रतिस्पर्धाका आधारमा राम्रो व्यक्ति राखेर संस्थानको विकास गर्नुपर्छ । बरु म मर्न तयार छु तर संस्था धराशयी भने कुनै पनि हालतमा हुन दिन्नँ ।
प्रतिक्रिया