चार लाखलाई श्रम अनुमतिपत्र

काठमाडौं : आर्थिक वर्ष ०६८/६९ मा तीन लाख ८४ हजार दुई सय १० जनाले वैदेशिक रोजगारीमा जान श्रम अनुमतिपत्र लिएका छन् ।

त्यसमध्ये पुरुष तीन लाख ६१ हजार पाँच सय ५५ र महिला २२ हजार ६ सय ५५ रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म वैदेशिक रोजगारीमा जानका लागि २४ लाख ६५ हजार ६ सय ५६ जनाले अनुमतिपत्र प्राप्त गरेका छन् । यो संख्यामध्ये पुरुष २४ लाख आठ हजार आठ सय ६० र महिला ५६ हजार सात सय ९६ छन् । महिला र पुरुष गरी लैंगिक तथ्यांक आर्थिक वर्ष ०६३/६४ देखि मात्र राख्न थालिएको हो ।
यसैगरी आव ०६८/६९ मा ठगीविरुद्ध दुई हजार एक सय ७२ उजुरीबाट करिब एक अर्ब २३ करोड दाबी भएमध्ये ५९ उजुरी फरफारक भई करिब २४ करोड ४० लाख असुली भएको मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताए । उनका अनुसार आव ०६८/६९ मा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमार्फत चार सय ६९ जना मृतक कामदारका हकवालालाई एक लाख ५० हजारका दरले र ४९ जना कामदारका परिवारलाई एक लाखका दरले तथा अंगभंग भएका ६४ जनालाई आर्थिक सहायता प्रदान गरिएको छ ।
विदेशमा मृत्यु भएका १४ जनाको शव नेपाल ल्याउन सम्बन्धित दूतावासलाई रकम पठाइएको तथा नेपालमा ल्याइएका एक सय २२ जना कामदारको शव काठमाडौंदेखि निजहरूको घर ठेगानासम्म पुर्‍याउन आर्थिक सहायता दिइएको जनाइएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगार विभागले शैक्षिक परामर्श गर्ने संस्था ग्लोबल पाटनरसिप प्रालिका सञ्चालक महेन्द्र भट्टराई, निजकी श्रीमती आशिषा थापा र लेखापाल गणेशबहादुर पराजुलीलाई अमेरिका, क्यानडा र नर्वेलगायत देशमा पठाइदिने प्रलोभन देखाई ४७ नेपाली युवालाई ठगी गरेको आरोपमा बिगो र जरिवानासहित करिब दुई करोड तीन लाख दाबी र कैद सजायसहित वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरिएको छ । (सौस)

प्रतिक्रिया