नयाँ शक्ति तयार : राई

उदयपुर : नेकपा (एमाले)का उपाध्यक्ष तथा अग्रगामी विचार समूहका नेता अशोक राईले नयाँ शक्ति तयार रहेको बताएका छन् ।
पछिल्ला दिनमा पार्टीभित्र जातीय संगठनको छायामा विचार समूहलाई सशक्त पार्न सक्रिय रहँदै आएका राईले आफूलाई पार्टीबाट स्वतन्त्र हुन जवाफ आइसकेकोसमेत खुलासा गरे ।
‘अध्यक्ष झलनाथ खनालसँगको पछिल्लो भेटमा नौबुँदे माग सम्बोधन गर्न आग्रह गर्दा नकारात्मक जवाफ आयो,’ राईले भने, ‘त्यसैले नयाँ शक्तिको निर्माणमा जुटेको छु र तयार पनि छु ।’
एमालेनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरले मंगलबार सदरमुकाम गाईघाटमा गरेको कार्यकर्ता भेलामा बोल्दै राईले आफू पार्टीमा रहनु वा नरहनुको कुनै अर्थ नभएको बताए । मुलुकका प्रमुख दल नै असफल भइसकेकाले सही निकासका लागि नयाँ विकल्पको खोजी गरिसकेको राईको कथन थियो ।
‘म जातिवादी होइन,’ राईले भने, ‘पार्टीले लोकतान्त्रिक शक्तिसँगको मोर्चाबन्दीका नाममा संघीयताविरोधीसँग साँठगाँठ गरेको छ ।’ कार्यक्रममा विचार समूहकै अगुवा तथा एमाले पोलिब्युरो सदस्य रामचन्द्र झाले एमालेले २८ महिना सरकार चलाए पनि शान्ति र संविधानका लागि एकइन्च काम नगरेको आरोप लगाए ।
भेलामा विचार समूहमै सक्रिय केन्द्रीय सदस्य रिजवान अन्सारी र राजेन्द्र श्रेष्ठले पार्टी नेतृत्वको आलोचना गरेका थिए । पार्टीको जनजाति संगठनको ब्यानरमा आयोजित भेलामा जातीय राजनीतिको मात्रै पक्षपोषण हुने भएकाले सहभागी नहुन यसअघि नै एमाले उदयपुरले कार्यकर्तालाई निर्देशन गरेको थियो ।

प्रतिक्रिया