बाइबाई लन्डन, रियोमा भेटौँला

लन्डन, ३० साउन । चार वर्षपछि रियो द जेनरियोमा भेट्ने वाचासहित लन्डन ओलम्पिक सकिएको छ । संसारभरका १ लाख १६ हजार जनाले सोमबारदेखि लन्डन छाड्न थालेका छन् । दुई साता संसारभरका एथलेट, प्रशिक्षक, खेल अधिकारी र सञ्चारकर्मीलाई मोहित गराउँदै भुलाएको लन्डन ओलम्पिकको आइतबार राति औपचारिक रूपमा समापन भयो । तीन घन्टा लामो समापन समारोहमा दशककै चर्चित पपस्टार जर्ज माइकल र एल्बोका साथै स्पाइस गर्लको पनि उपस्थिति थियो । आयोजना प्रमुख लर्ड होइले आफूले पाएको अवसरलाई राम्रोसँग सदुपयोग गरेको बताए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक्स रुग्सले समान समोरोहमा भने, ‘यो आतिथ्यता, सबै बेलायतीको सद्भाव र यो आयोजनालाई हामीले कहिल्यै भुल्नेछैनौँ ।’ यो ओलम्पिकमा केही चर्चायोग्य तथ्य पनि रहे । सोमबारदेखि लन्डन अन्तर्राष्ट्रिय एयरपोर्टबाट दैनिक दुई लाख जनाको दरले सहर छाड्ने अनुमान गरिएको छ । महिला सटपुटमा स्वर्णपदक जितेकी बेलारुसकी नाडिया ओस्टारचुक डोपिङमा असफल भएपछि न्युजिल्यान्डकी भालेरी एडम्सले स्वर्णपदक पाएकी छन् ।
सुरक्षा कम्पनी जी–फोरले बेलायती सेनालाई २५ लाख डलर दिने भएको छ । विभिन्न खेलस्थलमा आफ्ना कर्मचारी पर्याप्त नभएपछि सेनाले सहयोग गरेको कारण यो रकम दिन लागिएको हो ।
समापन समारोहमा आतसबाजी गरियो । समापन समारोहको व्यवस्थापनको जिम्मा माई जेनेरेन इभेन्ट म्यानेजमेन्ट कम्पनीले पाएको थियो । बेलायतको संस्कृति झल्काउने खालको समापन समारोहमा सांगीतिक दुनियाँका चर्चित व्यक्तित्व विग चेन चिमिङले संगीत संयोजनको भूमिका निर्वाह गरेका थिए । महारानी एलिजाबेथ अनुपस्थित रहेपछि उनको प्रतिनिधित्व गर्दै राजकुमार हेरी उपस्थित भएका थिए । समापन समारोहमा ३ हजार ५ सय स्वयंसेवक तैनाथ थिए । शनिबार मात्र जन्मिएकी छोरीको निधन भएपछि पपगायक मेरी बार्लो उपस्थित भएनन् । चलचित्र निर्देशक किम गाभिनका साथै कला क्षेत्रका हस्तीहरू जर्ज माइकल, जेसी जे, इमेल सान्डे र मानडेस उपस्थित थिए । बेलायती संगीत दुनियाँमा चर्चित नाम रे डेभिस र रियम लागाघरको प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । कार्यक्रममै लन्डन मेयर बोरिस जोन्सन र ज्याक्स रोगले रियोका मेयर पायसलाई ओलम्पिक झन्डा हस्तान्तरण गरे ।
कार्यक्रममा रियोको संस्कृति झल्कने प्रस्तुति पनि रहेको थियो । कार्यक्रमको सुरुमा एथलेटहरू रंगशाला प्रवेश गरेका थिए । चारपटक सेलिङमा स्वर्ण जितेका बेन एनलिसले बेलायती झन्डा बोकेका थिए । खेलाडीहरू रंगशालाको जताततै छरिएको दृश्य साँच्चै आकर्षक थियो । अन्तिम दिन पदक जित्नेलाई नै समापन समारोहमा पुरस्कृत गरिने प्रचलनअनुसार युगान्डाका म्याराथनविजेता स्टेफन किप्रोटयाकलाई समापन समारोहमै स्वर्णपदक प्रदान गरियो । यो ओलम्पिकको १६ दिनमा ७० हजार स्वयंसेवक समावेश गरिएको थियो ।
मोडल केट मोस र नावोमी काम्बेलले पनि अलेक्जेन्डर म्याकक्विनले तयार गरेको पहिरनसहित कार्यक्रममा उपस्थिति जनाएका थिए । कमेडियन रेसल ब्रान्डले विटल्स गाएका थिए । कमेडियन एरिक लिड्लेको प्रस्तुतिले पनि धेरैलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । प्रतियोगितामा बेलायती टोलीले पाएको सफलता इतिहासकै गर्विलो भएको र यसले बेलायतलाई हरेक क्षेत्रमा प्रगति गर्न प्रेरित गर्ने प्रतिक्रिया महारानी एलिजाबेथले समापन समारोहअगाडि नै व्यक्त गरेकी थिइन् ।
यसपटकको ओलम्पिकमा ४४ विश्व कीर्तिमान कायम भए । समापन समारोहअगाडि नै अमेरिकी राष्ट्रपति बाराक ओबामाले फोनमार्फत बेलायती प्रधानमन्त्री डेविड क्यामरुनलाई सफल आयोजनाका लागि बधाई दिएका थिए । यसको लगत्तै २९ अगस्टदेखि पारा ओलम्पिक खेल हँदै छ । एजेन्सी
लन्डन ओलम्पिकका दस नायक
बिबिसि
लन्डन, ३० साउन । लन्डन ओलम्पिक खेलकुदपछि बिबिसीले यस प्रतियोगिताका शीर्ष १० हिरो छुटयाएको छ । अमेरिकी पौडीवाज माइकल फेल्प्स पहिलो स्थानमा छन् । यस ओलम्पिक संस्करणमा चार स्वर्ण र दुई रजतपदक जितेका फेल्प्स ओलम्पिक खेलकुदमा १८ स्वर्ण, दुई रजत र दुई कांस्यपदकसहित २२ पदक जितेर सर्वकालीन सर्वाधिक पदकविजेता बने । १५ वर्षको उमेर हँुदा सन् २००० को सिड्नी ओलम्पिक खेलकुदमा उत्रिए पनि कुनै पदक हात नपारेका फेल्प्सले सन् २००४ मा ६ स्वर्ण र दुई रजत तथा चार वर्षअघि भएको बेइजिङ संस्करणमा आठ स्वर्णपदक जित्न सफल भएका थिए । लन्डन ओलम्पिकमा आफ्नो स्पर्धा सकिएलगत्तै उनले सन्न्यासको घोषणा गरेका थिए । दोस्रोमा जमैकाका धावक युसान बोल्ट छन् । बेइजिङ ओलम्पिकमा भैँm यसपटक पनि युसानले तीन स्वर्णपदक जिते र ऐतिहासिक खेलाडीका रूपमा स्थापन भए । उनले १०० र २०० मिटरसहित १०० मिटर चारगुणा रिलेमा स्वर्ण रक्षा गरेर यो उपलब्धि हात पार्ने पहिलो ओलम्पियन भए ।
तेस्रो नम्बरमा भने पहिलो बुर्का लगाएर खेल्ने महिला खेलाडी छन् । साउदी अरब, बु्रनाई र कतारले पहिलोपटक महिला खेलाडी ओलम्पिकमा पठाएको थियो जसमा महिला खेलाडीले बुर्का लगाएर नै खेलेका थिए । इरानी महिला खेलाडीले पनि बुर्का लगाएर खेले । यीमध्ये कसैले पनि पदक नजिते पनि उनीहरूको उपस्थिति तथा सहभागिता नै चर्चाको विषय बन्यो । साउदी अरबकी जुडो खेलाडी सहरकार्नीलाई बुर्का लगाएर खेल्न नदिने आइसिसीको प्रयास पनि चर्चामा रहयो । चौथो नम्बरमा पदकविजेता अफगानी खेलाडी छन् । राष्ट्रिय राजनीतिको कमजोर स्थिति भए पनि पदक जितेर यी खेलाडीले अफगानिस्तानलाई पदकविजेताको सूचीमा राख्न सफल भए । तेक्वान्दो खेलाडी रोहुल्लाह निकपाईले सन् २००८ मा भैँm यसपटक पनि मुलुकका लागि कांस्यपदक दिलाए । स्वर्णपदक जित्ने लक्ष्यका साथ सहभागी भएका निकपाई सेमिफाइनल हारपछि रोएका थिए । बेइजिङ ओलम्पिकमा उनले कांस्यपदक जित्दा ओलम्पिक खेलकुदमा पदक जित्ने उनी पहिलो खेलाडी भएका थिए ।
दक्षिण अफ्रिकाका ब्लेड रनर ओस्कार पिस्टुरियस त्यसपछि छन् । कृत्रिम खुट्टाका भरमा सहभागी पिस्टुरियस पारा ओलम्पिक र समर ओलम्पिक दुवै खेल्ने पहिलो खेलाडी भए । जन्मजात दुवै खुट्टा नभएका पिस्टुरियस १०० मिटर चारगुणा रिले र ४०० मिटरमा दौडिए लन्डनमा । उनी ४०० मिटरमा सेमिफाइनलसम्म पुगेका थिए ।
छैटाँै नम्बरमा चिनियाँ पौडीवाज यी सिवेन रहिन् । १६ वर्षीया सिवेनले ४०० मिटर मेड्लेमा अप्रत्याशितरूपमा स्वर्णपदक जित्दा उनीमाथि डोपिङको आशंका गरियो । उनले अन्तिम ५० मिटर २८.९३ सेकेन्डमा पूरा गरेकी थिइन् । सोही स्पर्धाको पुरुषतर्फ स्वर्णविजेता अमेरिकी रायन लोच्टेले पनि अन्तिम ५० मिटर २९.१ सेकेन्डमा मात्र पूरा गरेपछि सिवेन एकाएक विश्वभर चर्चामा रहिन् । व्यक्तिगत प्रदर्शन सुधार गर्नबाट चार सेकेन्डले मात्र पछि परे पनि सिवेनले आफूले शक्तिवद्र्धक औषधि सेवन नगरेको दाबी गरिन् । सातौँ नम्बरमा चीनकै पुरुष ब्याटमिन्टन खेलाडी रहे । चीनले ब्याडमिन्टनमा क्लिनस्विप गर्‍यो । आठौँ नम्बरमा चोटका बाबजुद स्वर्णपदक जितेका बेलायतकी जेसिका एनिस र केन्याका डेभिड रुडिसा रहे । एनिसले हेप्टाथलन र रुडिसाले ८०० मिटरमा स्वर्णपदक जितेकी थिइन् । दुवै खेलाडी बेइजिङमा चोटका कारण स्वर्णपदक जित्नबाट चुकेका थिए ।
नवौँ नम्बरमा साइक्लिस्ट क्रिस होए रहे । बेलायती उनले लन्डन ओलम्पिक खेलकुदमा पदक जितेर ओलम्पिक खेलकुदमा ६ पदक पूरा गरे । सन् २००८ को ओलम्पिकमा तीन स्वर्णपदक जितेका उनी सन् १९०८ पछि एउटै ओलम्पिकमा तीन स्वर्णपदक जित्ने पहिलो खेलाडी भएका थिए ।
१०आँै नम्बरमा ओलम्पिक खेलकुदमा पहिलोपटक स्वर्णपदक दिलाएका ग्रेनेडाका धावक किरानी जेम्स रहे । उनले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । १९ वर्षीय जेम्सले ४३.९४ सेकेन्डका साथ निर्धारित दूरी पूरा गरेका थिए ।
बोल्ट अब क्रिकेट खेल्ने
मेलर्बन : लन्डन ओलम्पिक खेलकुदमा जमैकन धावक युसान बोल्टले गरेको प्रदर्शनबारेको चर्चा यतिबेला जहाँतहीँ चलिरहेको छ । लगातार दुई ओलम्पिकमा तीन स्वर्णपदक जित्न सफल भएपछि मानिसहरू र खेलविज्ञहरू यी विश्वकै सबैभन्दा तेज धावकलाई महान खेलाडी भन्न थालेका छन् । तर यहाँ कुरा गर्न लागिएको उनको चर्चाको होइन बरु उनले नै ल्याएको चर्चाको हो । एथलेटिक्सबाट खेलक्षेत्रकै महान खेलाडीका रूपमा स्थापित भइसकेका यी खेलाडीले क्रिकेट खेल्ने बताएका छन् । त्यसमा पनि क्रिकेट निकै सम्वृद्ध रहेको अस्ट्रेलियामा त्यो पनि व्यावसायिक प्रतियोगिता । बोल्टले यस वर्ष अस्ट्रेलियाको क्रिकेट लिग बिग बास (बिबिएल) खेल्ने इच्छा रहेको बताएका छन् । यसमा मेलबर्न स्टार्स क्लब बोल्टलाई क्लबमा आबद्ध गराउन तयार रहेको जनाइएको छ । मेलबर्न स्टार्सका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम सञ्चालक एडी म्याग्वेयरले बोल्टसँग केही महिनाअघि लिएको अन्तरवार्तापछि मेलबर्न स्टार्समा बोल्ट आबद्ध हुन सक्ने सम्भावना रहेको बताइएको छ । मेलबर्न स्टार्सका सेन वार्नले भने बोल्टलाई ‘तिम्रो इच्छा के छ ?’ भनेर सोधेको जनाइएको छ । ‘उसले (सेन वार्नले) मलाई सम्पर्क गरी ‘यदि म गम्भीर छु र म साँच्ची नै खेल्न चाहन्छु भने उसले कुरा अगाडि बढाउने बतायो,’ च्यानल नाइनसँगको कुराकानीमा बोल्टले भनेका छन् ।
बोल्टले अगाडि थपेका छन्, ‘यस विषयमा हामी सोच्नेछौँ । यदि मेरो समय निस्कियो भने म अवश्य खेल्नेछु । टी–ट्वान्टी क्रिकेट मलाई असाध्यै मन पर्छ किनभने यो एकदमै एक्साइटिङ हुन्छ, खेल पूरा समय कठिन हुन्छ । आक्रामक भएर खेल्नुपर्ने भएकोले मलाई त्यस किसिमको ब्याटिङ मन पर्छ । यदि मैले अवसर पाएँ भने अवश्य पनि म प्रयास गर्नेछु किनभने यो धेरै रमाइलो हुन्छ । मलाई थाहा छैन म कत्तिको राम्रो खेल्छु तर मैले धेरै अभ्यास गर्नुपर्छ भन्नेचाहिँ थाहा छ ।’
बोल्टको यो चाहनाका बीच उनी के क्रिकेटर बन्न सक्लान् त ? भन्ने प्रश्न पनि उठ्न सक्छ र चिन्ताको विषय उनलाई र उनका सबै समर्थकलाई यो पनि हो । त्यसो त बोल्टले जुनियर क्रिकेट खेलेका छन् र सन् २००९ मा भएको च्यारिटी खेलमा वेस्ट इन्डिजका क्रिस गेललाई बोल्डआउट गरेका थिए तर ब्रेट ली र प्याट कुमिन्सजस्ता बिबिएल खेलाडीसँग बोल्ट कसरी टिक्छन् भन्ने चिन्ता भने कम हुनेछैन । बोल्ट यदि बिबिएलमा खेल्न आए उनी पहिलो गैह्रक्रिकेटर भने हुनेछैनन् । सन् २००७/००८ मा रग्वीका चर्चित खेलाडी एन्ड्रयु जोन्सले न्युसाउथवेल्सका लागि क्रिकेट खेलेका थिए । आठ टिम सहभागी हुने बिबिएलका शीर्ष दुई टोली च्याम्पियन्स लिग ट्रफीमा छनोट हुन्छन् । त्यसैकारण खेलाडी छनोट गर्ने विषयमा सबै क्लब सम्वेदनशील हुन्छन् । घरेलु लिगमा एउटा मापदण्ड पूरा गरेको खेलाडीले खेलोस् भन्ने धारणाका साथ अस्ट्रेलियन क्रिकेट बोर्ड बोल्डको आबद्धताका विषयमा सावधानी छ, ‘बोल्टले पनि एउटा राम्रो स्तर पार गर्नुपर्छ– यहाँ खेल्नका लागि । यसमा मेलर्बन स्टार्ससमेत सचेत छ किनभने बिबिएलले विश्वस्तरमा राम्रो चर्चा कमाइसकेको छ ।’ (एजेन्सी)

प्रतिक्रिया