वैष्णवी हजुरआमाको स्वास्थ्य रहस्य

आफ्नो स्वस्थता र जाँगरलाई ईश्वरको देन मान्छिन् ८२ वर्षीया टीकाकुमारी खाती । ‘चौरासी’ को प्रतीक्षामा बसेकी यी आमै उमेरले बूढो बनाए पनि मन र शरीरले बूढो भएजस्तो पटक्कै मान्दिनन् । सकेसम्म आºना काम अरूलाई लगाउन नपरोस् भन्ने सोच्छिन् । छोराहरू आ–आºनो काममा व्यस्त हुन्छन्, यी बूढीचाहिँ भजनकीर्तनतिर धाउँछिन् । कहाँ मन्दिर छ, कहाँ भजन सब जानकारी छ उनलाई ।

बिहान उठ्ने समयको ठेगान हुँदैन रे बूढीआमैको । कहिले ३ बजे कहिले ५ बजे । अघिल्लो दिन कत्तिको हिँडडुल गरेकी हुन्छिन्, त्यसैमा भर पर्छ । त्यसभन्दा ढिलोचाहिँ कहिल्यै उठ्दिनन् । नित्यकर्म गरेपछि नियमित माटोले हात धुने बानी छ, अनि मात्र साबुन लगाउँछिन् । नुहाउनु उनको दैनिकी नै हो । ‘हामी वैष्णवीले त सधैँ नुहाउनै पर्‍यो नि †’ नुहाउनुलाई स्वास्थ्यभन्दा पनि धार्मिक आस्थाका हिसाबले हेर्छिन् यी वैष्णवी आमै । नुहाउँदा साबुन लगाउँदिनन् । मौसमअनुसार तातो वा चिसो पानी दुवै प्रयोग गर्छिन् । छोराबुहारीले ठिक्क पारिदिन्छन् । बिहान उनको पूजापाठ पनि चल्छ निकै लामो समयसम्म । त्यसअगाडि कोरीबाटी गरेर चिटिक्क पर्छिन्, उमेर ढल्कँदै छ भन्दैमा सब कुरा छाडेर बस्ने बूढाबूढीजस्ती कहाँ हुन् र उनी । उनको आºनै तर्क छ– ‘श्रीमतीहरूले श्रीमान्का अगाडि मात्र होइन, भगवान्को पूजा–जप गर्दा पनि कोरीबाटी गर्नैपर्छ ।’
वैष्णव पथकी अनुयायी भएकाले अरूले छोएको खान हुन्न भन्ने उनको मान्यता छ । त्यसैले आºना लागि खाना पकाउने जाँगर सँगालेर बसेकी छन् । भाँडा पनि आफैँ माझ्न खोज्छिन् तर बुहारीले लिएर गइहाल्छिन् । बुहारीले माझिदिएको भाँडा चोख्याएर मात्र आºनो भान्सामा हुल्छिन् । ‘तागत छउन्जेल आफैँ पकाएर खान्छु, भगवान्लाई भोग लगाएको भाँडा आफैँ माघ्छु,’ उनले भनिन् । उनका भाँडा र भान्सा नै अलग छन् । छोराबुहारीले नरुचाएर वा हेला गरेर होइन । एक त उनी आफैँ धार्मिक नियम पालना गर्नमा कट्टर छिन्, अर्को सकुन्जेल छोराबुहारीलाई दु:ख नदिऊँ भन्ने उनको सोच छ । घरमा आफूलाई सबैले अगाध माया गर्छन् जस्तो उनलाई लाग्छ ।
चिया–कफीमा रुचि राख्दिनन् । भगवान्लाई भोग लगाएपछि एक गिलास दूध खान्छिन् । लसुन, प्याज, माछामासु छुन्नन् । त्यसबाहेकका सात्त्विक भोजन उनलाई मीठा नलाग्ने भन्ने केही नै छैन । ‘जे जुर्छ सबै भगवान्को प्रसाद हो, म त वरिपरि सबैतिर भगवान् मात्र देख्छु,’ बढ्दो उमेरसँग भगवत् आस्था झन् प्रबल भएर जाँदै छ, वैष्णवी हजुरआमामा ।
भजनकीर्तनमा रमाउने समूह नै उनीसँग । कहिले नारायणथान त कहिले कता पुगिरहन्छिन् । पोहोर साल गोर्खा जाँदा तीन घन्टाको उकालो मजाले काटिछन् । भारततिरका तीर्थ पनि सालिन्दा धाइ नै रहन्छिन् । ‘यो पुरुषोत्तम महिनामा देवघाट जाने सोच्दै छु, साथीहरूसँग सल्लाह भइसक्यो,’ जोस देखाइन् उनले ।
शरीरमा रोगै नभएको वा स्वास्थ्य समस्याहरू झेल्नै नपरेको भने होइन, यी बूढीआमैले । अहिले प्रेसर र ग्यास्टिकले अलिअलि सताउँछ । उहिले अपरेसन गरेर पाठेघरै फालियो, अरू पनि दुई–तीनवटा अपरेसन झेलेकी हुन् । अहिले चाहिँ आºनो तनमन ध्यान सबै भगवान्लाई अर्पिएकी छिन् । प्रेसरको औषधि पनि छोराहरूले सम्झाइदिएका बेला मात्रै खाइरहेकी हुन्छिन् ।
बेलुकी सधैँ रोटी खान्छिन् । दिउँसो खाजा खाने उनको बानी छैन । ‘भेटिहाले खाइ पनि हाल्छु, नत्र उस्तो चाह लाग्दैन खाजाको’ भन्छिन् । पहिले कुनै बेलाचाहिँ दिनको १४ कपसम्म पनि चिया पिएको अनुभव छ उनीसँग । ‘पाहुना आइरहन्थे, उनीहरूलाई बनाउँदा आफूलाई पनि खाउँm लाग्थ्यो, अहिले चाहिँ धेरै भयो छाडेको ।’
प्राय: यो उमेरका बूढाबूढी पट्यार मानिरहेका हुन्छन् । दिन पनि कति लामो भएको होला भनेर गुनासो गर्छन् । तर, टीकालाई भने जहिल्यै पनि दिन छोटो लाग्छ । दिउँसोको समयमा घरमै थन्किएर बस्दिनन् । आफूजस्तै पाँच–सात जना जम्मा पार्छिन्, अनि मठमन्दिरमा पुगेर ताली पिट्दै भजन गाउन थाल्छिन् । यो उमेरमा पनि चस्मा लगाउनुपरेको छैन, दृष्टि चहकिलै छन् । पढ्न नपाएकामा भने उनलाई पछुतो छ । ‘के गर्नु हाम्रो पालामा छोरीले पढ्न हुँदैन भन्थे †’
कपालजस्तै फुलेका कपालले जबर्जस्ती बूढो देखाएझैँ लाग्छ उनलाई । तर, उनी मान्न तयार छैनन् र सकेसम्म जाँगर देखाउँछिन्, फुर्तिली बनेर । नत्र त उनीसँगै भजनमा जाने कति जना अहिले घरतिरै थन्किन थालिसकेका छन् । टीकाको लुखुरलुखुर हिँडिरहने बानीलाई घरमा कसैले पनि नराम्रो मान्दैन । इच्छाअनुसार गर्न छुट छ उनलाई । आमाले चाहेका बेला कहिलेकाहीँ घरमै पनि भजनकीर्तनको चाँजापाँजो मिलाइदिन्छन् छोराहरू ।
टिभी पनि हेर्छिन् समय मिलाएर । धार्मिक कार्यक्रम उनको छनोटमा पर्छन् । भगवान्कै कुरा सुन्न चाहन्छिन् जतिखेरै ।
‘मान्छे चालिसे लाग्यो भन्छन्, आँखा देख्दिनँ भनेर चस्मा लगाउँछन् । बूढो भएँ आराम गर्छु भनेर घरमै थन्किन्छन् । मलाई त त्यस्तो मनै लाग्दैन । अझै केही गर्न सक्छु जस्तो लाग्छ । यो सबै भगवान्को कृपाले भएको हो, भगवान्ले नै मलाई स्वस्थ राखेका छन् यो उमेरमा,’ उनले भनिन् ।

प्रतिक्रिया