किसानहरूले यसपालि लामो समयसम्म मल अभावको सामना गर्नुपर्यो । संयोग नै मान्नुपर्छ डा. बाबुराम भट्टराईले ४० बुँदामा समेटेको मलको प्रसंग उनी आफू प्रधानमन्त्री हुँदासम्म पनि उस्तै रह्यो । प्रतिपक्षहरूका निम्ति सडकमा ओर्लिने बहाना पनि बन्यो । ढिलै र थोरै भए पनि मल त आइपुग्यो तर कतिपयले यतिबेलासम्म मलविना नै धान रोपिसके । र, मलमाथिको मौसमी राजनीति सकियो । अर्को बर्खासम्म आजका सत्तापक्ष र प्रतिपक्षहरू साटिएका पनि हुन सक्छन् तर किसानको मलको समस्या भने उसैगरी दोहोरिन सक्छ ।
नेपालको कृषि पेसा, जो करिब ८० प्रतिशत जनताले अपनाएको पेसा हो । कुल ग्राहस्थ उत्पादनको करिब ४५ प्रतिशत र बाह्य निर्यातको ७५ प्रतिशत हिस्सा यसैले ओगटेको पनि छ । तर, समाजमा त्यही पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । उब्जाउ र मलिलो भूमि कम रहेको र कृषकहरू माटो सुहाउँदो नगदेबालीतर्फ भन्दा खाद्यान्न बालीमै केन्द्रित रहेको स्थितिमा कृषि क्षेत्रमा पर्याप्तभन्दा पनि प्रभावकारी लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ । कृषि क्षेत्रको विकासका निम्ति उपयुक्त र पर्याप्त सिँचाइ, मल, विषादी तथा गुणस्तरीय बीउबीजनमा कृषकको प्रत्यक्ष पहुँच हुनुपर्छ । तर, रोपाइँको मुखमा हुने मलको अभाव र सिँचाइको अभावमा आकाशे पानीमाथिको निर्भरता अझै उस्तै छ । विषादी होस् या बीउबीजन, कृषको हातमा समय घर्केपछि मात्र पुग्ने रोग पनि पुरानै हो । तसर्थ, नयाँ क्षेत्रमा लगानीको आवश्यकता आºनै ठाउँमा होला तर भइरहेका कामहरूलाई चुस्त पार्न सक्दा मात्र पनि धेरै समस्याको समाधान निस्कन सक्छ । वास्तवमा नगदे बाली तथा व्यावसायिक खेतीका लागि अहिले पनि सरकारी र गैरसरकारी तबरबाट थुपै्र पहलहरू भएका छन् । तर अचम्म के भने त्यो लाभदायक कामका लागि पनि ग्रामीण कृषकहरू आकर्षित भएको देखिएनन् । ग्रामीण भेगमा वास्तविक किसानहरूसँग आफूलाई जेनतेन वर्षभरि पुग्ने अन्न उब्जाउ हुने मात्र र कतिपयसँग त्यति पनि जग्गा छैन । जब नगदेबाली वा व्यावसायिक खेतीको कुरा आउँछ, आफूसँग भएको सीमित जग्गामा त्यसो गर्दा वर्षभर चाहिने अन्नको वैकल्पिक स्रोत रहँदैन । उनीहरू त्यो जोखिम उठाउन चाहँदैनन् । अझ बढी त हामीकहाँ रहेको भौगोलिक विविधताले यसमा प्रभाव पारेको छ । निश्चित उचाइमा उब्जाउ हुने भनी सिफारिस गरिएको बीउबीजनले पनि त्यही उचाइभित्रका सबै भागमा राम्रो उत्पादन दिँदैन । किनकि हामीकहाँ माटोको प्रकार, पहाडको मोहोडा आदि अन्य विविधता विद्यमान छ । र, एउटा बालीमात्र राम्रो उब्जनी हुन सकेन भने किसानलाई आहत पर्न जान्छ । जुन जोखिम मोल्न किसानहरू चाहन्नन् ।
अर्कातिर, देशमै उत्पादित कृषिसँग सम्बन्धित जनशक्तिको व्यवस्थापनमा समस्या छ । सरसर्ती हेर्दा नेपालमा सबैभन्दा बढी रोजगारी पाउने जनशक्ति भनेको कृषि प्राविधिक नै हुनुपर्ने हो । तर, कृषि प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीचमा समेत विदेशिने होडबाजी अचम्मलाग्दो छ, जुन अरू क्षेत्रका विद्यार्थीका निम्ति सामन्य हुने भयो । पश्चिमा देशहरूमा अध्यापन गराइने पाठ्यक्रम हुबहू लागू गरिँदा यस्ताखाले समस्या विशेषत: सबै प्रविधिक क्षेत्रमा देखापरेको छ । ‘माटो सुहाउँदो शिक्षा’को अभावमा ‘शिक्षा सुहाउँदो माटो’ खोज्दै विदेशिने क्रम झनै बढ्दो छ । तीमध्ये कतिपय त सरकारी लगानीमै शिक्षा आर्जन गर्नेहरू पर्छन् । सरकारले आºनै लगानीमा पढाएकाहरूले समेत विदेशमा सेवा गर्नुपरेको स्थिति छ । पछिल्लो समय, ग्रामीण भेगसम्म विस्तार भएको कच्ची सडकले कृषि पेसा अँगालिरहेकाहरूका निम्ति क्षेत्र विस्तार त गरेको छ तर त्यो व्यापक र स्थायी छैन । कृषि प्राविधिक तथा सेवा सुविधाको व्यवस्था छ तर त्यो सहर केन्द्रित छ । जाँगर र रहर भएकासँग जग्गा नहुनु र जग्गा हुनेले जाँगर नदेखाउने पुरानै रोग छँदै छ । आजकल पढेलेखेका, वैदेशिक रोजगारबाट फर्किएका, आशालाग्दो युवा पुस्ताले समेत कृषि क्षेत्रमा चासो र लगानी बढाएको सुनिएको छ । अलैँची, चिया, कफी, गोलभेँडाजस्ता नगदे बालीले राम्रो आम्दानी दिएको खबरहरू छापिएका छन् । तर, सबै किसान जेटी, जेटिए र सबै जेटी, जेटिए किसान नबनेसम्म कृषि क्रान्ति हुँदैन भन्ने नेताहरूको भाषण त नयाँ होइन । राजनीतिक दलहरूमा यसप्रति चासो र चिन्ता देखिनु सकारात्मक हो तर फेरि त्यो देखाउने दाँत मात्र नबनोस् । साँच्चै देशले कृषिमा क्रान्ति गरेको दिन देशले प्रगतिको बाटो समात्नेछ ।
प्रतिक्रिया