धनकुटा, २९ साउन । स्थानीयलाई नियन्त्रणमा लिएर सास्ती दिएको विरोधमा स्थानीयले प्रहरी चौकी छिन्ताङ घेराउ गरेका छन् ।
१८ साउनमा छिन्ताङ–१ का केवलमान राईको घरमा चोरी भएको विषयमा सोधपुछ गर्ने बहानामा स्थानीयलाई नियन्त्रणमा लिएर यातना दिएपछि आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गरेका हुन् ।
प्रहरीले शनिबार राति छिन्ताङ–२ का प्रवीण राईलाई नियन्त्रणमा लिएर यातना दिएको स्थानीय सूर्य विश्वकर्माले बताए । साथीहरूसँगै छिन्ताङ–१ स्थित एक पसलमा बसिरहेका राईलाई छिन्ताङ प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको थियो । राति प्रहरीले राईलाई नियन्त्रणमा लिएपछि आइतबार बिहानदेखि दिउँसो दुई बजेसम्म स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए । स्थानीयले प्रहरी चौकी घेराउ गरेपछि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायतको उपस्थितिमा प्रहरीले यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा प्रहरीले माफी मागेको र आगामी दिनमा यस्तो घटना नदोहोर्याउने सहमति भएको नेकपा (एमाले) छिन्ताङका अध्यक्ष योगेन्द्र राईले बताए ।
प्रतिक्रिया