ट्रकमा लागुऔषध ओसारपसार

वीरगन्ज : भारतीय सहरबाट लागुऔषध तस्करी गर्ने गिरोहले ढुवानीका लागि मालबाहक ट्रक प्रयोग गर्न थालेका छन् । वीरगन्जबाट खाद्यान्न तथा इन्धन लिएर काठमाडौं, पोखरा र चितवनका लागि प्रस्थान गर्ने सवारीसाधनमा खैरो हेरोइन, डाइजेपाम, बु्रफिन, नरफिनलगायत लागुऔषध ओसारपसार हुने गरेको पाइएको छ ।
आइतबार बिहान काठमाडौंको नागढुंगाबाट प्रहरीले वीरगन्जबाट चामल बोकेर जाँदै गरेको ना ३ ख ५६८४ नम्बरको ट्रकबाट लागूऔषध बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ट्रकबाट चार हजार नौ सय डाइजेपाम र ब्रुफिन चार हजार नौ सय एम्पल बरामद गरेको हो ।
लागुऔषध तस्करीको आरोपमा प्रहरीले ट्रकमा सवार चारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ट्रक चालक पर्सा देउरवानाका ३१ वर्षीय लालमणि महरा, सहचालक प्रकाश महरा, काभ्रे बिर्ता देउरालीका २७ वर्षीय छोइसाङ तामाङ र दाङ घोराहीका २७ वर्षीय सरस्वती शाहीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
यस्तै, पर्सा पाँडेपुर र जानकीटोलको सीमाबाट प्रहरीले आइतबार दिउँसो साढे तीन किलोग्राम अवैध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । सातवटा पोकामा चरेस लुकाएर हिँड्दै गरेको अवस्थामा जग्गननाथपुर–४ का राजेश यादवलाई जानकीटोल प्रहरी चौकीको टोलीले पक्राउ गरेको पर्साका डिएसपी रवीन्द्र केसीले जानकारी दिए । (सौस)

प्रतिक्रिया