रिलेमा २७ वर्ष पुरानो कीर्तिमान भंग

लन्डन, २८ साउन । २७ वर्ष पुरानो विश्व कीर्तिमान भंग गर्दै अमेरिकी रिले टोलीले महिला चारगुणा १०० मिटर रिलेको स्वर्णपदक जितेको छ । १०० मिटर दौडकी उपविजेता कार्मेलिटा जेटर र २०० मिटर दौडकी स्वर्णपदक विजेता एलिसन फेलिक्ससहितको टोलीले ४०.८२ सेकेन्डमा दौड पूरा गरी विश्व कीर्तिमान बनाएको हो । विश्व कीर्तिमानधारी टोलीमा टियाना मेडिसन र बियान्का नाइट पनि समावेश थिए । यसअघि उक्त कीर्तिमान तत्कालीन पूर्वी जर्मनीका धाविकाहरूको नाममा थियो । जमैकाले रजतपदक जितेको उक्त स्पर्धामा युक्रेनले कांस्यपदक हात पार्‍यो । पदक तालिकामा अमेरिकाको शीर्षता कायम राख्ने क्रममा कुस्तीको ७४ किलो तौलसमूहमा अमेरिकाका जोर्डान इस्नेस्ट बोर्गनुसले स्वर्ण जिते भने सो स्पर्धामा इरानका जादेह सहिदले रजत तथा उज्वेकिस्तानका सोस्लान टिगिएभ र रुसका डेनिस टारागुसले कांस्यपदक जिते ।
चारगुणा ४०० मिटर दौडमा अमेरिकालाई बहामाजले स्तब्ध पार्‍यो । सन् १९७२ पछि अमेरिकाले उक्त स्पर्धामा पहिलोपटक पराजयको सामना गरेको हो । उक्त स्पर्धामा ट्रिनिडाड एन्ड टोबागोले कांस्यपदक पायो । इथियोपियाकी मेस्रट डेबरले महिला ५ हजार मिटर दौडको स्वर्णपदक जित्दै उनकै देशकी टिरुनेस डिबाबालाई मध्यमदूरीको दोहोरो स्वर्णपदक प्राप्त गर्नबाट असफल पारिन् । डिबाबा १० हजार मिटर दौडकी स्वर्णपदक विजेता हुन् । डिबाबाले बेइजिङ ओलम्पिकमा पनि स्वर्ण र रजतपदक जितेकी थिइन् । यसपटक उनी ५ हजार मिटरमा रजतपदकमा सीमित भइन् । केन्याकी भेरोइन जेम्कोइ चेरुयटले कांस्यपदक जितिन् ।
महिला १५०० मिटरमा टर्कीले स्वर्ण र रजतपदक जित्यो । आस्ली कापेर अल्केटनले १ मिनेट १०.२३ सेकेन्डमा दूरी तय गर्दै स्वर्णपदक जितिन् । टर्कीकै गामेट बुजुटले रजतपदक प्राप्त गरेकी हुन् । बहराइनकी मारियम युसुफ जमालले कांस्यपदक हात पारिन् ।
महिला हयामर थ्रोमा पूर्वविश्व कीर्तिमानधारी रुसकी तात्याना लेसेन्कोले स्वर्णपदक जितिन् । उक्त स्पर्धामा पोल्यान्डकी अनिता ओड्वारजिकले रजत तथा जर्मनीकी बेटसी हयाडरले कांस्यपदक जिते । पुरुष पोलभल्टको स्वर्णपदक फ्रान्सका रेनाउड लेभिनेले जिते । अस्ट्रेलियाका डिफेन्डिङ च्याम्पियन स्टिम हुकर तीनपटक असफल भएपछि लेभिनेले स्वर्णपदक जितेका हुन् । उक्त स्पर्धामा जर्मनीका जर्न ओटो र राफले होल्डेज्पे क्रमश: दोस्रो र तेस्रो भए ।
टयुनेसियाका ओसामा मेलुलीले १० किलोमिटर वाटर म्याराथनको स्वर्ण जिते । उनी ओपन वाटर र पुलमा स्वर्ण जित्ने पहिलो पौडीवाजको रूपमा कीर्तिमान कायम गर्न सफल भएका छन् । उनले बेइजिङ ओलम्पिकमा १५०० मिटरको स्वर्ण जितेका थिए । यसपटक उनी उक्त स्पर्धामा रजतपदकमा सीमित भए ।
अस्ट्रेलियाका म्याथ्यु बेल्चर र माल्कम पेजले ४७० मिटरको सेलिङको स्वर्णपदक जिते । यसैगरी, न्युजिल्यान्डका जो आलेह र ओलिभर पलेहाले महिला तर्फको कांस्यपदक जिते । रुसले सिन्क्रोफइज्ड पौडीमा लगातार चौथोपटक स्वर्णपदक जित्यो ।
वाटर गेममा युरोपकै प्रभाव
कायाक २०० मिटर पुरुष डबल्समा रुसका अलेक्जान्द्रो डे चान्की र युरी पोस्टिग्रेले स्वर्णपदक जिते । उक्त स्पर्धामा बेलारुसका भ्लाडजिम मेखेउ र रमान पिस्टुरचेन्काले रजत तथा बेलायतका जियान हर्थ र जोन सेफिल्डले कांस्यपदक जिते । महिलातर्फको एकल स्पर्धामा न्युजिल्यान्डकी लिसा क्यारिंगटनले स्वर्णपदक जितिन् । युक्रेनकी एना ओस्चेन्कोले रजत तथा हंगेरीकी नाटासा जुचेभले कांस्यपदक जिते । क्यानोइंगको २०० मिटर पुरुषमा युक्रेनका युरी चेवानले स्वर्ण, लिथुवानियाका जजियेभ सुखिलिनले रजत तथा रुसका इभान स्टिलले कांस्यपदक जिते । कायाकको पुरुष एकलमा बेलायतका एक म्याडएभरले स्वर्ण, स्पेनका साउल रिभेरोले रजत तथा क्यानाडका मार्क जे जंगले कांस्यपदक जिते ।
तेक्वान्दोको ८० किलो तौलसमूहमा अर्जेन्टिनाका सेबास्टिन एडुवारोले स्वर्ण तथा स्पेनका निकोलास गार्सियो होमले रजतपदक जिते । बेलायतका लुटारो मोहम्मद र इटालीका माउरो सारमेन्टोले कांस्यपदक जिते । तेक्वान्दोको महिला ६७ किलो तौलसमूहमा दक्षिण कोरियाकी क्योंग स्योंग ह्वांगले स्वर्ण, टर्कीकी नुट टाटारले रजत तथा अमेरिकाकी पेग मेफिरसन र जर्मनीकी हेलेन प्रक्रोनले कांस्यपदक जितिन् । एजेन्सी

होवाकी सावाले लिइन् सन्न्यास
लन्डन : ओलम्पिक महिला फुटबलमा अमेरिकासँग पराजित भएपछि जापानकी महिला फुटबलर होवाकी सावाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएकी छन् । ३३ वर्षीया सावा फिफा महिला वर्षखेलाडी पनि हुन् । गत वर्ष जर्मनीमा भएको महिला विश्वकपमा जापानलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी सावाले क्लब फुटबललाई भने निरन्तरता दिने बताएकी छन् । ‘मैले पाउनेजति पाइसकेकी छु,’ अमेरिकासँग २–१ ले पराजित भएपछि उनले भनिन् ।
उनले जापानका लागि पाँचवटा विश्वकपमा सहभागिता जनाइन् भने १८६ अन्तर्राष्ट्रिय खेलमा ८१ गोल गरिन् । ‘जापानका लागि निरन्तर प्रशिक्षण गर्नु र यसै ढंगले खेलिरहने कार्य आफैमा कठिन हो, हामीले पदक पायौँ, त्यो आफैमा महत्त्वपूर्ण हो,’ उनले भनिन् ।

ब्रेस्सेटलाई माउन्टेन बाइक स्वर्ण
लन्डन : फ्रान्सकी जुलिए ब्रेस्सेटले माउन्टेन बाइकको महिला स्पर्धातर्फको स्वर्णपदक जितेकी छन् । पहिलोपटक ओलम्पिकमा सहभागी भएकी २३ वर्षीया ब्रेस्सेटले साविक विजेता जर्मनीकी सविन स्पिट्जलाई सुरुआतदेखि नै पछि पारेकी थिइन् । अमेरिकाकी जर्जिया गौल्डले उक्त खेल स्पर्धामा कांस्यपदक जितिन् ।

५० किमी वाकिङमा किडर्याप्किनलाई स्वर्ण
ट्रयाक एन्ड फिल्डअन्तर्गतको सबैभन्दा लामो दूरीको स्पर्धा ५० किलोमिटर वाकिङ रेसमा रुसका सर्गेई किडर्याप्किनले स्वर्णपदक जितेका छन् । दुईपटकका विश्व च्याम्पियनमा उनले ओलम्पिक कीर्तिमानी समय निकालेर पहिलो स्थान हात पारेका हुन् । ३ घन्टा ३५ मिनेट ५९ सेकेन्डमा किडर्याप्किनले निर्धारित दूरी पूरा गरेका थिए । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा इटालीका एलेक्स सवाजरले बनाएको ओलम्पिक कीर्तिमान समय १ मिनेट १० सेकेन्डले सुधार गरेका हुन् । अस्ट्रेलियाका जारेद टयालेन्टले रजतपदक जिते भने चिनियाँ सी टिआनफेङ तेस्रो भए ।

जापानलाई महिला भलिबलको कांस्य
जापानले ओलम्पिक भलिबलमा महिलातर्फ कांस्यपदक जितेको छ । दक्षिण कोरियालाई सोझो सेटमा पराजित गरी जापानले तेस्रो स्थान हात पारेको हो । सन् १९६४ को ओलम्पिकमा भलिबललाई पहिलोपटक समावेश गरिएयता जापानले यस खेलमा २ स्वर्ण, २ रजत र २ कांस्यपदक जितेको छ । पाँचाँै वरीयताको जापानी टोली २५–२२, २६–२४ र २५–२१ ले विजयी भयो । यस स्पर्धामा स्वर्णपदकका लागि अमेरिका र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । जापानले महिला भलिबलमा सन् १९६४ र १९७६ मा स्वर्णपदक जितेको थियो भने १९६८ र १९७२ मा रजतपदक जितेको थियो । सन् १९८४ मा भने कांस्यपदकमै सीमित भएको थियो ।

अमेरिका पुरुष बास्केटबलको फाइनलमा
अमेरिका पुरुष बास्केटबलको फाइनल पुगेको छ । गत संस्करणको विजेतासमेत रहेको अमेरिकी टोली शुक्रबार राति अर्जेन्टिनालाई
१०९–८३ ले पराजित गरी स्वर्णपदक भिडन्त तय गर्न सफल भएको हो । अमेरिकाको सेमिफाइनल जितमा केभिन डुरान्टले १९ तथा लेब्रोन जेम्स र कार्मेलो एन्थोनीले समान १८ अंक योगदान गरे ।
अमेरिकाले आइतबार स्वर्णपदकका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । युरोपेली टोली स्पेन गत संस्करणमा पनि फाइनल पुगेको थियो । लगातार तेस्रोपटक अमेरिका र अर्जेन्टिनाबीच सेमिफाइनलमा भेट भएको हो । अर्जेन्टिनाका लागि मानु जिनोबिलीले १८ अंक योगदान गरे । सेमिफाइनल पराजयपछि अर्जेन्टिनाले अब कांस्यपदकका लागि रुसको सामना गर्नेछ । ४ वर्षअघि भएको फाइनलमा अमेरिका स्पेनविरुद्ध ११८–१०७ ले विजयी भएको थियो । (एजेन्सी)

कांस्यले दक्षिण कोरियालीलाई छुट्टै खुसी
लन्डन : दक्षिण कोरियाले शुक्रबार ओलम्पिक फुटबलमा पुरुषतर्फ कांस्यपदक जित्यो । दक्षिण कोरियाली टोलीका सदस्यले पदक जितेकामा भन्दा पनि छुट्टै आनन्द सैनिक सेवा गर्नुनपर्ने भएकोमा भएको बताएका छन् । दक्षिण कोरियामा २९ वर्ष उमेर पुग्नुअघि २१ महिना अनिवार्यरूपमा सैनिक सेवा गर्नुपर्छ ।
युरोपियन फुटबलमा आफ्नो करियर बनाउन चाहने फुटबलरका लागी उक्त अनिवार्य सेवा ‘हर्डल्स’का रुपमा रहने गरेको छ । ‘कांस्य पदक जित्न पाएकोमा म निकै खुसि छु । यो फुटबल टोलीका कुनै पनि खेलाडीले अब सैनिक सेवा गर्नुपर्ने छैन र आफ्नो चाहनाअनुसार अगाडि बढ्न पाउनेछन् ।’ पार्क चु योङले भने, ‘हामीले यस प्रतियोगिताअघि कांस्यपदक जित्ने नै लक्ष्य बनाएका थियौँ ।’ इंगलिस लिग च्याम्पियनसिप टोली कार्डिफका लागि आगामी सिजन खेल्न लागेका किम बुक योङले सैनिक सेवा त्याग्न पाएकोमा खुसी लागेको बताए । शुक्रबबार राति तेस्रो स्थानका लागि भएको खेलमा दक्षिण कोरियाले जापानलाई २–० ले पराजित गर्‍यो । चुङ योङ पार्कले ३८आँै मिनेटमा गोल गरेपछि पहिलो हाफसम्म दक्षिण कोरिया १–० ले अगाडि रहयो । जा चेओल कुले ५८आँै मिनेटमा गोल गरी दक्षिण कोरियालाई २–० ले अगाडि बढाएका थिए । दक्षिण कोरियाले पहिलोपटक ओलम्पिकमा फुटबलतर्फ पदक जितेको हो । (एजेन्सी)

प्रतिक्रिया