२५ प्रतिशत युवा रोजगारी खोज्दै भारततर्फ

सुर्खेत, २८ साउन । सुर्खेतका २५ प्रतिशत युवा रोजगारी खोज्दै भारतर्फ जाने गरेका छन् । बढ्दो बेरोजगारीसँगै युवा पलायनको क्रम पनि पछिल्लो समयमा अत्यधिक बढेको छ ।
भारतबाट मात्रै सुर्खेतमा वार्षिक एक करोडभन्दा बढी रेमिटयान्स भित्रिने गरेको तथ्यांक छ । हरेक वर्ष सुर्खेतबाट मात्रै २५ प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् । विशेषगरी १२ वर्षदेखि ४० वर्षसम्मका युवा भारत जानेगरेका छन् भने ६५ वर्षसम्मका व्यक्ति पनि कामका लागि भारतमा आश्रित रहेको यसैक्षेत्रसँग कार्यरत विभिन्न संघ/संस्थाले बताएका छन् ।
जिल्लाका अधिकांशको आयआर्जनको मुख्य स्रोत नै रेमिटयान्स बनेको छ । जिल्लाका करिब ३० प्रतिशत घरपरिवारले भारतबाट भित्रिने रेमिटयान्सले नै जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूले वर्षमा दुईपटक भारतमा गएर पैसा कमाउने र त्यसैले घर खर्च चलाउने गरेका छन् ।
सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजना सञ्चालन गरिरहेको वातावारण सुधार समाजका अनुसार जिल्लाको बाबियाचौर, कुनाथरी, राकम, मेहेली, मालारानीलगायतका गाविसबाट अधिकांश युवा भारत गएका छन् । उच्च शिक्षा हासिल गरे पनि स्वदेशमा रोजगारी नपाएपछि युवाहरू बिदेसिने गरेको सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजनाका कार्यक्रम संयोजक जगत केसीले बताए ।
विशेषगरी सुर्खेत पश्चिम क्षेत्रका युवाहरु बिदेसिने गरेका छन् । तीमध्ये ८२ प्रतिशत व्यक्ति हरेक वर्ष घरखर्च चलाउनकै लागि भारत जाने गरेको केसी बताउँछन् । परम्परागत खेतीले वर्षभरि खानसमेत नपुग्ने भएपछि घरखर्च चलाउन भारतकै भर पर्नुपर्ने उनले बताए । भारत जानेमध्ये ७ प्रतिशत महिला रहेको समेत उनले जानकारी दिए । विशेषगरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबी, असमानताले गर्दा पनि युवा बिदेसिने क्रम बढेको छ ।

रेमिट्यान्स असुरक्षित
सुर्खेत :भारतबाट सुर्खेत भित्रिने ३० प्रतिशत रेमिटयान्स असुरक्षित हुने गरेको छ । सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजना सञ्चालन गरेको वातावारण सुधार समाज सुर्खेतले पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएको हो ।
रोजगारीका लागि भारत गएकामार्फत जिल्लामा भित्रिने ३० प्रतिशत रेमिाटयान्स बाटोमा नै लुटिने गरेको छ । वातावरण सुधार समाजका प्रशासन तथा लेखा प्रमुख किरण बस्नेतले भारतमा गएका ९४ प्रतिशतलाई सुरक्षित रेमिटयान्स सेवाबारे जानकारी नै नभएकाले आफँै पैसा बोकेर आउने गरेको बताए । तीमध्ये ३० प्रतिशतको बाटोमै पैसा लुटपाट र चोरी हुने गरेको समेत उनले जानकारी दिए ।
भारतबाट भित्रिने रेमिटयान्सलाई सुरक्षित गर्नका लागि अक्सफाम जीविका सहयोगमा संस्थाले जिल्लामा सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजना सञ्चालन गरेको छ । परियोजनाले विशेषगरी भारत गएकालाई प्राथमिकता दिएको छ । परियोजनाअन्र्तगत जिल्लाका बाबियाचौर, बड्डीचौर, मेहेलकुना, राकम र मेहेलीबाट सो सेवा प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया