मेसिनगनसहित तीन पक्राउ

दाङ, २८ साउन । प्रहरीले तुलसीपुर बसपार्कबाट अत्याधुनिक र स्वचालित हतियारसहित तीनजनालाई पक्राउ  गरेको छ ।

शुक्रबार पक्राउ परेका उनीहरूलाई शनिबार घोराहीमा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । बाँके, कोहलपुर–५ भरैयाका २७ वर्षीय बेलबहादुर घर्ती मगर, कोहलपुर–४ रोहिणी खोलाका २० वर्षीय मुन्ना कार्की भनिने जगत केसी र तुलसीपुर–१ की २१ वर्षीया उमा वली (सम्झना) छन् ।
प्रहरीले उनीहरूको कोठाबाट एक थान मेसिनगन, म्यागजिन, ५५ राउन्ड गोली र एसएलआर राइफलको चार राउन्ड गोली बरामद गरेको छ । करिब एक वर्षदेखि जंगल अप्रेसनको नाम दिएर थालेको अनुसन्धानमा नौ महिनापछि सफलता हात पारेको प्रहरीको दाबी छ ।
प्रहरीले बरामद गरेका हतियारमध्ये स्वचालित मेसिनगन पहिलो र अत्याधुनिक भएको दाबी गरेको छ । अनुसन्धानका क्रममा उनीहरूबाट एक थान चाइनिज पेस्तोल र ४ राउन्ड गोली बिहीबार महानगरीय प्रहरी परिसर ललितपुरबाट बरामद गरिएको डिएसपी विपिनकुमार कर्माचार्यले जानकारी दिए । बरामद मेसिनगन सशस्त्र प्रहरीको भएको बुझिएको छ ।
पक्राउ परेका घर्ती ०६३ मा सशस्त्र प्रहरीबाट भागेर आपराधिक समूहमा लागेका थिए । घर्ती भाग्नुभन्दा अगाडि निवेदन दिएर निस्किएका सुर्खेतका सशस्त्र प्रहरीका सहायक हवल्दार विकास थापा भनिने कृष्ण सलामीले सशस्त्र प्रहरी बल बागेश्वरी गण बाँकेबाट हतियार चोरेको प्रहरीले बताएको छ । विकास थापा नेपालगन्जमा आइएमई बैंक लुट्दा पक्राउ परेका थिए । उनीसँगै कारागार चलान भएका कोहलपुरका नेवबहादुर डाँगी पनि पक्राउ परेका मुन्ना भनिने जगत केसीसँग मिलेर अभियुक्त घर्तीले कोहलपुरको आइएमई लुटेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरू अहिले जेलमा छन् ।
पक्राउ परेका घर्ती र केसीले दाङ पुरन्धारा मलइकी गीता घर्तीको पसलबाट नगद ४० हजार रुपियाँ लुटेको, करिब एक वर्षअघि कोहलपुर इलाका प्रहरीमा गोली प्रहार गरेको, क्रियाशील भूमिगत समूहसँग साँठगाँठ भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
आपराधिक समूहका नाइके घर्तीले आफूहरू पाँचजनाको आपराधिक गिरोह भएको बयानका क्रममा बताएका छन् । समूहमा थापा र डाँगी कोहलपुरको आइएमई काण्डमा पक्राउ परेर जेल चलान भइसकेको र एकजना भारतस्थित गोवामा कामकाजमा रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया