काठमाडौं, २७ साउन । संघीयता पक्षधर र विपक्षीको अर्थ लगाएर राजनीतिक तिक्तता ल्याउन खोजेको भन्दै एमाले अध्यक्ष झलनाथ खनालले सत्तारूढ एमाओवादीको आलोचना गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार भएको टेलिफोन वार्तामा अध्यक्ष खनालले राजनीतिक ध्रुवीकरण बढाई सहमतिको वातावरण नबिथोल्न दाहाललाई आग्रह गरे । शुक्रबार हुने भनिएको प्रमुख दलका शीर्ष नेताहरूको बैठकको तयारीस्वरूप खनाल र दाहालबीच बिहान टेलिफोन वार्ता भएको थियो ।
स्रोतका अनुसार खनालले संघीयता पक्षधर र विपक्षीका रूपमा मुलुकमा राजनीतिक विग्रह ल्याउन खोज्नुको औचित्य दाहालसँग मागेका थिए । ‘तपाईंहरूको कुरा बुझ्न सकिएन संघीयताको पक्ष र विपक्षका रूपमा कस्तो ध्रुवीकरण निम्त्याउन खोज्नुभएको हो ?’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकार पनि छाड्नुहुन्न सहमतिको वातावरण बनाउन भन्दा भड्काउनतिर लाग्नुहुन्छ यसले थप अविश्वास पैदा गर्न सक्छ ।’
जवाफमा दाहालले सहमतिका लागि आफूले पहल गर्ने आश्वासन दिएका थिए । उनले सहमतीय सरकार गठनका विषयमा एमाओवादी सकारात्मक रहेको र त्यसको नेतृत्व जुनसुकै दलले गर्न सक्ने खनाललाई बताएको खनालनिकट स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा गर्नुपर्ने केही तयारी गरौँ, हामी सहमतिका लागि अग्रसर छौँ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
राजनीतिक र संवैधानिक संकटको निकासका लागि प्रमुख दलका शीर्ष नेताबीच शुक्रबार वार्ता गर्ने सहमति खनाल र दाहालले बिहीबार टेलिफोनमार्फत गरेका थिए । शीर्ष बैठकको तयारीका क्रममा शुक्रबार बिहान पनि उनीहरूबीच टेलिफोन संवाद भए पनि शीर्ष बैठक बस्न सकेन । ‘असमझदारी हटाउन प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्ने कुरा थियो,’ खनालले भने, ‘तर, प्रचण्डजीले खबर गर्नुभएन ।’
प्रतिक्रिया