टिसर्ट आफैं बोल्छ


‘हन्ड्रेड पर्सेन्ट स्याड विदआउट यु’
पिपुल्स कलेजमा बिबिएस पढ्दै गरेका पविन भट्टराईको छातीमा टाँसिएका छन् यी शब्द । यसपटक पनि यही शब्द लेखिएको टिसर्ट लगाउँदै कलेजको गेट कुरिरहेछन् उनी, आफूले मन पराएकी केटीलाई एक झलक हेर्न । उनलाई लाग्छ, ओठले भन्न नसकेका शब्द यो टिसर्टले बोलिदिनेछ– ‘तिमीविना साह्रै नरमाइलो लाग्छ, प्लिज बुझ न मनको बह ।’
‘के गर्नु, मन पराउँछु भन्ने आँटै आएन, टिसर्टबाटै इन्डाइरेक्टली म्यासेज पठाइरहेछु’, भर्खरै टिनेज सकेका २० वर्षीय पविनले कुरा ओकलिहाले । सहरमा पविनजस्ता युवा धेरै छन्, जो टिसर्टमार्फत आºनो भावना प्रस्ट्याउँछन् । स्वभाव र वातावरणअनुसार उनीहरूको मस्तिष्कमा विभिन्न फन्नी शब्ददेखि सकारात्मक स्लोगनसम्म नाच्न थाल्छन् । तिनै शब्द र स्लोगन प्रस्तुत गर्न टिसर्ट गतिलो माध्यम बनेको छ उनीहरूलाई ।
अरूभन्दा पृथक हुन खोज्ने नयाँ पुस्ताका लागि टिसर्टमा नयाँपन ल्याउनु पनि एकखाले चुनौती छ । सो चुनौतीलाई सिर्जनशीलतातर्फ लगेर भिन्न देख्न चाहन्छन् उनीहरू । त्यसैले सहरका ठिटाठिटी टिसर्टमै विभिन्न स्लोगन राखेर ‘क्रिएटिभ’ र ‘युनिक’ देखाउँछन् आफूलाई । अरूको ध्यान आफूतर्फ केन्द्रित गर्न त्यस्ता टिसर्टहरू लगाउन चाहने पनि छन् । साधारणतया: अनौपचारिक कार्यक्रम र हिँडाइमै बढी व्यस्त हुने युवाका लागि टिसर्ट उपयुक्त छनोट हो । बढीजस्तो क्याजुअल, हिपप अनि अन्य इन्फर्मल गेटअपमै प्रस्तुत हुने युवाका लागि टिसर्ट पहिल्यै रोजाइमा पर्छ । कतिपयका टिसर्टमा सकारात्मक सन्देशहरू, प्रसिद्ध व्यक्तिका भनाइहरू पनि देखिन्छन् । व्यक्तिको मनोविज्ञानअनुसार उसले रोज्ने गर्दछ, स्लोगन । ‘स्टप डिस्ट्रोइङ आवर प्लानेट, इट्स ह्वेर आइ किप अल माइ स्टफ ।’ गणबहाल, सुन्धाराको लाइफटाइम टिसर्ट सपबाट निस्केका २७ वर्षीय सुदन दाहालको टिर्सटमा पेन्ट भएका थिए यी शब्द । ‘यहाँ लेखिएका शब्दले वातावरणीय क्षेत्रका लागि पोजेटिभ म्यासेज दिएको छ, राम्रो लागेर किनिहालेँ’ छातीमा हेर्दै सुदनले भने । उनी टिसर्ट किन्न जाँदा जहिले पनि यस्ता स्लोगनमा आँखा लाइहाल्छन् रे । भन्छन्, ‘कमसेकम म एउटाले राम्रो लेखेको कुरा लगाउँदा अरूलाई पनि सकारात्मक प्रभाव परोस् न ।’
सुन्धारामा टिसर्ट पसल राखेर बसेका उज्वल काºलेको आºनै टिसर्टमा पनि फन्नी शब्द थिए । ‘एमबिए, मास्टर अफ ब्याड एक्टिभिटिज’ –काºलेको टिसर्टले बोलिरहेको थियो । विगत चार वर्षदेखि टिसर्ट बेचिरहेका उनी अब युवाको टिसर्ट मनोविज्ञान पहिल्याउन सक्ने भएका छन् । उनले पसल राख्दै गर्दा शान्तिप्रक्रिया प्रगतिउन्मुख थियो । त्यसबेला प्राय: ठिटाठिटीका टिसर्टले बोलिरहेको हुन्थ्यो, ‘वार इज ओभर ।’ त्यसबेला त्यस्ता टिसर्ट खुबै बिकेको सम्झना छ उनलाई । केहीअघिसम्म बजारमा गान्धी र अन्ना हजारेका भनाइसम्बन्धी टिसर्ट पनि खुबै आएको थियो । टिसर्टले नै ‘ह्वाई दिस कोलाबरी डी’ पनि गाइरहेको थियो । आजकल विदेशबाट प्रिन्ट भएर आउने टिसर्टमा ‘ओलम्पिक २०१२’ झल्कने विभिन्न शब्द लेखिएका हुन्छन् ।
विदेशबाट आउने टिसर्टमा लेखिएको रेडिमेड स्लोगनमा मात्र चित्त बुझाउन सक्दैनन् युवा पुस्ता । त्यसैले उनीहरू सादा टिसर्ट किन्छन् र आफूलाई मनमा लागेको कुरा प्रिन्ट या इम्ब्रोइडरी गर्छन् । नेपालमा रहँदा ठमेलको एक इम्ब्रोइडरीबाट टिसर्टमा ‘यु आर ब्युटिफुल बट आई ह्याभ नो मनी’ लेखाएका २५ वर्षीय पवन पौडेल अहिले युरोपमा रहँदा पनि टिसर्टमा आफूलाई मन लागेको स्लोगन लेखाइहाल्छन् । भन्छन्, ‘मैले चाहेकै कुरा त कुनै पनि कम्पनी लेख्न सक्दैन नि, अनि आफैँले लेखायो, टिसर्ट लगायो ।’
बढीजस्तो टिसर्ट थाइल्यान्डबाटै प्रिन्ट भएर आउने बताउँछन् काठमाडौं मलको ºयाबुलस फेसन स्टोरका नवाङ तेन्जिङ गुरुङ । टिसर्ट किन्न आउनेहरूले विभिन्न ब्यान्डको टिसर्ट रोज्ने गुरुङ बताउँछन् । त्यसबाहेक इन्टरनेटमा विभिन्न स्लोगन र शब्दहरू लेखिएको टिसर्ट खोजेर त्यही किन्न आउने पनि भेटेका छन् उनले । पश्चिमी मुलुकमा जति प्रिन्टेट टिसर्ट नेपालमा नचले पनि पछिल्लो समयमा युवामाझ यसको लोकप्रियता बढ्दो छ । नेपाल घुम्न आएका पर्यटकले सादा टिसर्टमा नेपाल झल्कने विभिन्न कुराहरू इम्ब्रोइडरी गरेर लैजान थालेपछि नेपाली युवामाझ पनि यो परिचित भएको मानिन्छ ।
कतिपय युवा टिसर्टमा नयाँ कुरा लेखाएर हिँड्नुलाई फेसबुकमा स्टाटस अपडेट गरेजस्तै ठान्छन्  । कसैबाट जाँचपास गराउन पनि नपर्ने भएकाले टिसर्टमा लेखाएर हिँड्नुलाई अभिव्यक्ति स्वतन्त्रताको उच्च अभ्यास मान्न सकिन्छ । यद्यपि सबैले राम्रै कुरा टिसर्टमा लेखाउँछन् या राम्रै कुरा लेखिएको लगाउँछन् भन्ने छैन । बजारमा कतिपय टिसर्टहरूमा लेखिएका शब्द, त्यसले बोकेको सन्देश भने अश्लील देखिन्छ । ‘यी यस्ता खालको टिसर्ट खोज्न पनि आउँछन् कति त,’ अश्लील लाग्ने शब्द र चित्र प्रिन्ट गरिएको कालो टिसर्ट पसलबाट झिक्दै उज्वलले भने । कतिपय भल्गर टिसर्टचैँ ब्यान्डसँग सम्बन्धित हुन्छन् । ‘भाइटल डिमान्ड भन्ने ब्यान्डको टिसर्टमा यस्तै भल्गर हुन्छ’ –उज्वलले भने ।
टिसर्टहरूमा लेखिएका कतिपय शब्दचाहिँ व्यंग्यात्मक हुन्छन् । दरबारमार्गमा पैदल हिँडिरहेको एक व्यक्तिको टिसर्टमा लेखिएको थियो, ‘आइएम मुभिङ विथ स्टुपिड’ । अझ कलेजमा केटाकेटीबीच आपसमा छेडछाड गर्दै टिसर्टमा अनेकथरी लेख्ने पनि पाइएको छ । बानेश्वरको एउटा कलेजअगाडि उभिएको केटाको टिसर्टमा लेखिएको थियो, ‘म्यारिज वाज हर आइडिया ।’ पुतलीसडक चोकमा छोटो अवधिमै भेटिएका केही टिसर्टधारी यस्ता सन्देश बोकिरहेका थिए– ‘आइ एम बेटर देन योर गर्ल फ्रेन्ड’, ‘टेल योर टाइट्स टु स्टप स्टारिङ एट माई आइज’, ‘इफ यु आर रिच आइ एम सिंगल’ ।
टिसर्टमा के लेखिएछ छ भन्ने ख्यालै नगरी किन्नेहरू झन् धेरै हुन्छन् । पहिला कलर र बनावट राम्रो लागेर किनेर लाने, पछि अरूले टिसर्टमा लेखेको कुराको अर्थभन्दा झल्याँस्स हुने पनि हुन्छन् । मिस्ट कलेज, पुल्चोकमा अध्यापन गर्ने २७ वर्षीय मोहन पाण्डे टिसर्ट कमै लगाउँछन् । भन्छन्, ‘टिसर्टमा के लेखिएको छ भन्ने कुरामा भन्दा पनि त्यसको कलर र बनावटमै मात्र ध्यान दिइन्छ ।’ प्राय: औपचारिक पहिरनमै हुने हुँदा बेला बेलामा लगाइने टिसर्ट उनको उति ठूलो रोजाइ होइन रे । यद्यपि उनी टिसर्टमा लेखिएको कुरा भने सकारात्मक हुनुपर्नेमा सचेत छन् रे । तर, प्राय: टिसर्ट प्रिन्टमा लेखिएको शब्द अंग्रेजीमै हुन्छ । अंग्रेजी नबुझ्ने वा ध्यान नदिने ग्राहक पनि हुन्छन् । ती ग्राहक जतिसुकै असल मनोविज्ञानका भए पनि टिसर्टको बोलाइका कारण कतिपय ठाउँमा चिप्लिन सक्छन् । चितवनको एक एफएममा अन्तर्वार्ता दिन गएकी रूपा लामिछाने केही समयअघि यसै गरी समस्यामा परेकी थिइन् । उनलाई आºनो टिसर्टमा के लेखिएको छ भन्ने थाहै थिएन । तर, जब रेडियो प्रस्तोताले उनलाई प्रश्न गरे, ‘तपाईंको टिसर्टमा के लेखिएको छ ?’ उनी त अलमल्ल परिन् । पछि प्रस्तोताले पढेर सुनाइदिए, ‘सेक्स इज…’ । त्यसपछि मात्र रूपाले टिसर्टमा लेखिएको भल्गर वर्डबारे थाहा पाइन्, झल्याँस्स भइन् ।
आजकल ‘हात धोऔँ, सफा रहौँ’ भन्ने सन्देश प्रवाह गर्नदेखि ‘भ्रष्टचारीलाई किरा परोस्’ जस्ता विरोधका स्वर पनि बोलिरहेको हुन्छ, टिसर्ट नेपाली भाषामै । मात्र लगाइदिए पुग्छ शरीरमा । विशेष गरेर नयाँ पुस्तामाझ चम्किएको टिसर्ट कल्चरले उनीहरूको मनोविज्ञान पनि झल्काइरहेको हुन्छ ।

प्रतिक्रिया