होएलाई कीर्तिमानी स्वर्णपदक

लन्डन, २५ साउन । बेलायती साइकल चालक क्रिस होएले ओलम्पिकमा छैटाँै स्वर्णपदक जितेका छन् । उनी सबैभन्दा धेरै ओलम्पिक स्वर्ण जित्ने बेलायती ओलम्पियनको कीर्तिमान कायम गर्न सफल भएका छन् । यसअघि रोइंगका स्टिभ रेडग्रेभले पाँच स्वर्णपदक जितेका थिए । सिड्नीमा सन् २००० मा भएको ओलम्पिकको रजतपदक समेत गणना गर्दा उनी ब्रड्नी विगानसँगै सबैभन्दा धेरै ओलम्पिक पदक जित्ने बेलायती खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका छन् । यी दुवैले सात/सात पदक जितेका छन् ।
स्कटल्यान्डका ३६ वर्षीय खेलाडी होए सन् २०१६ को ओलम्पिकमा सहभागी हुने या नहुने निश्चत छैन । तर उनी साइक्लिङ इतिहासका सबैभन्दा सफल ओलम्पियनको रूपमा रहिरहनेछन् । डिफेन्डिङ च्याम्पियन तथा चारपटकका विश्व च्याम्पियन होएलाई सुरुमा जर्मनीका म्याक्सी मिलियम लेभीले पछि पारेका थिए । विश्व च्याम्पियनसिपका उपविजेता लेभी रजतपदकमा सीमित भए भने नेदरल्यान्डका टेन मल्डर र न्युजिल्यान्डका सिमाने भानले कांस्यपदक जिते । ‘ओलम्पिक खेलजीवनको अन्त्य सही ढंगले भएको छ,’ जितपछि होएले भने । साइक्लिङमा बेलायतले सनसनी फैलाउँदा घोषित १० स्वर्णपदकमध्ये सात जितेको छ । यसैगरी, एक रजत र एक कांस्यपदक पनि बेलायतले जितेको छ ।
बुधबार लन्डनको चिसो मौसममा बिहानै कायाक र क्यानोइंगको स्पर्धा सम्पन्न भयो । कायाकको महिला ५ सय मिटरमा कंगेरीले स्वर्ण, जर्मनीले रजत तथा बेलारुसले कांस्यपदक जिते । पुरुषको १ हजार मिटर डबल्स कायाकमा हंगेरीले स्वर्ण, पोर्चुगलले रजत र जर्मनीले कांस्यपदक जिते । १ हजार मिटर सिंगल्स क्यानोइंगमा जर्मनीका सेबास्टिन ब्रेन्डलले स्वर्णपदक जिते । स्पेनका डेविड काल फिगोराले रजत तथा क्यानडाका कार्क ओलडर सले
(ओलडर्सले) कांस्यपदक जिते । १ हजार मिटर सिंगल्स कायाकमा नर्वेका एरिक भार्सेनाच लासेनले स्वर्ण, क्यानडाका एडिक भान कोबरडमले रजत तथा जर्मनीकी म्याक्स होफले कांस्यपदक जिते ।
डाइभिङमा पुरुष ३ हजार मिटर स्प्रिङबोर्डमा चीनलाई आश्चर्यमा पार्दै रुसका इलिया जाराकोभले स्वर्णपदक जिते । उक्त स्पर्धामा चीनका काइ क्विनले स्वर्ण तथा झोंगस झिईले कांस्यपदक जिते ।
साइक्लिङको महिला स्प्रिन्टमा अस्ट्रेलियाकी अन्ना मेरेसले स्वर्ण, बेलायतकी भिक्टोरिया पेन्डलटनले रजत तथा चीनकी सुवांग गावोले कांस्यपदक जिते । ग्रिको रोमन कुस्तीको ६९ किलो तौलसमूहमा इरानका घासेम जोलामारेजले स्वर्ण, रुसका रुस्तान टुट्रोभले रजत तथा अमेरिकाका अर्टर ल्याकासेन र स्विडेनका जिम्मी बिडबर्गले कांस्यपदक जिते । ६६ किलो तौलसमूहमा दक्षिण कोरियाका हयोग वो किमले स्वर्ण, हंगेरीका टोमास लोरिज्नकीले रजत तथा फ्रान्सका स्टिम गिमोट र जर्जियाका मनुस्जकोर सासादुयाले कांस्यपदक जिते ।
जिम्न्यास्टिकको महिला फ्लोर एक्सरसाइजमा अमेरिकाकी अलेक्जान्द्रा रेइजमानले स्वर्णपदक जितिन् । रोमानियाकी क्याटलिना पोनरले रजत तथा रुसकी एलिया मसताफानाले कांस्यपदक जिते । पुरुष भारोत्तोलनको १०५ किलो तौलसमूहमा इरानका बेलिमहा सिलादजोस्कीले स्वर्णपदक जिते । उक्त स्पर्धामा इरानले नै रजत तथा रुसले कांस्यपदक जिते । सिन्क्रोफाइज्ड पौडीको महिला डयुटमा रुसले स्वर्ण, फ्रान्सले रजत र चीनले कांस्यपदक जिते ।
फुटबलको पुरुष सेमिफाइनलमा मेक्सिकोले जापानलाई ३–१ ले पराजित गर्‍यो । यसैगरी अर्को सेमिफाइनलमा ब्राजिलले दक्षिण कोरियालाई ३–० ले पराजित गर्‍यो । एजेन्सी

हर्डल्समा पियर्सनको सफलता
लन्डन : एथलेटिक्सको महिला १०० मिटर हर्डल्समा अस्ट्रेलियाकी सेली पियर्सनले स्वर्ण जितिन् । दुईपटककी विश्वविजेता पियर्सनले १२.३५ सेकेन्डको नयाँ ओलम्पिक कीर्तिमान कायम गरिन् । अन्तिम समयसम्म अग्रता लिएकी अमेरिकाकी ड्वान हार्पर ढलमलिएपछि पियर्सनले उछिनेकी थिइन् । हार्परले १२.३७ सेकन्डमा दूरी तय गरिन् । अमेरिकाकै केली विल्सले कांस्यपदक जिते ।
पुरुष हाइजम्पमा रुसका इभान उखोभले स्वर्णपदक जिते भने अमेरिकाका इरिक क्यानार्डले रजत तथा बेलायतका रोबर्ट ग्राबाजले कांस्यपदक जिते । पुरुष डिस्कस थ्रोमा जर्मनीका रोबर्ट हेइटिङले रजतपदक जिते । इरानका इसान रहदादीले रजत तथा इस्टोनियाका गर्ड कान्टरले कांस्यपदक जिते । पुरुषको १५०० सय मिटर दौडमा अल्जेरियाका तउफिक मोफाफुकीले स्वर्ण र अमेरिकाका लियोनल मानजाननोले रजतपदक जिते । (एजेन्सी)

इसेनबायेभाले अर्को ओलम्पिक खेल्ने
लन्डन : महिला पोलभोल्टमा कांस्यपदकमा सीमित रसियन स्टार एलेना इसेनबायेभाले रियो द जेनेरियोमा पनि सहभागिता जनाउने बताएकी छन् । दुईपटककी ओलम्पिक विजेता इसेनबायेभा यसपटकको ओलम्पिकमा भने आश्चर्यजनक रूपमा कांस्यपदकमा सीमित भएकी थिइन् । उनले यसपटक स्वर्णपदक जितेको भए सन् २०१३ को विश्व च्याम्पियनसिपपछि सन्यास लिने सोचाइ बनाएकी थिइन् । २००८ को ओलम्पिकमा स्वर्णपदक पाए पनि त्यसपछि लामो समय चोटसँग संघर्ष गरेकी इसेनबायेभा चोटबाट मुक्त भएर खेलमा फर्केपछि गत मार्चमा भएको इन्डोर च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल भएकी थिइन् ।
यसैबीच १ सय मिटर हर्डल्समा कमजोर प्रदर्शन गरेपछि अमेरिकी धाविका लोलो जोन्स विद्युतीय सञ्चारमाध्यमप्रति आक्रोशित बनेकी छिन् । सञ्चारमाध्यमले चौथो स्थानमा सिमित जोन्सले एकदमै कमजोर प्रदर्शन गरेको आशयको समाचार प्रशारण गरेका थिए । (एजेन्सी)

घाइते जियांगको खेलजीवन लगभग अन्त्य

एजेन्सी
लन्डन, २५ साउन । बाधा दौडमा स्टार चिनियाँ धावक लिउ जियांग लन्डनको अस्पतालमा भर्ना गरिएका छन् । उनको बुधबार नै शल्यक्रिया भएको चिनियाँ ओलम्पिक कमिटीले जनाएको छ । जियांग अस्पतालबाट घर फर्कनेछन् । जियांगको शल्यक्रिया गर्ने चिकित्सकले नै यसअघि डेविड बेकहयामको शल्यक्रिया गरेका थिए । चिनियाँ वेबसाइटमार्फत उनको स्वास्थ्यलाभको कामना गर्दै २ करोड ८० लाखले शुभकामना व्यक्त गरेका छन् ।
जियांगको चोटले चिनियाँ खेल मात्र होइन समग्र एथलेटिक्स संसारलाई नै स्तब्ध बनाएको छ । चिनियाँ समाचार संस्था डेली न्युजले लेखेको छ, ‘लिउ इरा इज ओभर ।’ उनी हर्डल्समा लड्दै गरेको फोटो छाप्दै ‘द लास्ट किस’ भन्ने क्याप्सन राखिएको छ । चोटका कारण बेइजिङ ओलम्पिक गुमाएका जियांग चोटबाट मुक्त भए पनि पुरानै फर्ममा फर्किएका थिए । उनले सांघाईमा भएको एक भिडन्तमा अमेरिकी डेविड ओलिभरलाई पराजित गरेका थिए । यसैगरी, डारेल रोबल्सको १२.८७ सेकेन्डको विश्व कीर्तिमानसँग बराबरी गरेका थिए । उनका प्रशिक्षक पेंmग सुयोगले बेइजिङमा लागेको चोट कहिले पनि पूर्णरूपमा ठीक नभएको र जियांगले जबर्जस्ती कुदिरहेको बताएका छन् । पेंmगले लिउको भविश्यका बारे केही निर्णय भइनसकेको बताएका छन् ।
महिला बिच भलिबलमा दुई अमेरिकी टोली फाइनलमा प्रवेश गरेका छन् । पहिलोपटक ओलम्पिकमा सहभागिता जनाइरहेका एप्रिल रोस र जेनिफर केसीले शीर्ष वरीयताका विश्वविजेता ब्राजिलियन जोडी जुलयिना र लारिसालाई
१५–२१, २१–१९ र २१–१५ ले पराजित गरे । अन्तिमपटक ओलम्पिक खेलिरहेको जोडी केरी वालस जेनिङ र मेरी ट्रेनरले चिनियाँ जोडीलाई २२–२०, २२–२० ले पराजित गरे । पुरुष स्पर्धामा ब्राजिल र जर्मनीबीच उपाधिका लागि भिडन्त हुनेछ ।
इंगल्यान्डलाई टिम जम्पिङको स्वर्णपदक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निक सेल्टन इक्वेस्ट्रियनको एकल जम्पिङमा पनि पहिलो चरण पार गर्न सफल भएका छन् । ५४ वर्षीय निकको यो छैटाँै ओलम्पिक सहभागिता हो । सन् २००० मा घाँटीमा चोट बोकेपछि उनलाई चिकित्सकले खेल त्याग्न सल्लाह दिए पनि उनले निरन्तरता दिइरहेका छन् । ६५ वर्षीय क्यानडाका इक्वेस्ट्रियन खेलाडी इयना मिलर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन इरिक लामाजे भने पहिलो चरणबाट बाहिरिएका छन् ।
पुरुष भलिबलको क्वार्टरफाइनलमा शीर्ष वरीयताको ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । सेमिफाइनलमा ब्राजिलले इटाली र अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया