घुन्सा जाने बाटो खुल्यो

ताप्लेजुङ, २५ साउन । ताप्लेजुङको पर्यटकीयस्थल घुन्सा जाने ग्याब्लाको फेदीखोलामाथिको काठेपुल स्थानीय बासिन्दाले पुन: निर्माण गरेपछि आवतजावत सुचारु भएको छ । १७ साउनमा आएको पहिरोले सो पुल भत्काउँदा आवागमन अबरुद्ध भएको थियो । ग्याब्लाका सातजनाको समूहले चार दिन लगाएर फेदीखोलामाथि अस्थायी काठेपुल निर्माण गरेपछि आवतजावत सुचारु भएको स्थानीय वांदी शेर्पाले जानकारी दिए । पुल निर्माण भएपछि सदरमुकामबाट घुन्सा जान र घुन्साबाट सदरमुकाम फुंलिङ आउन सहज भएको छ ।

उता सुकेपानीमा तमोर नदीमाथिको पुल भत्किएपछि तीन सातादेखि ओलाङ्चुङ्गोला जाने बाटो बन्द भएको छ । स्थानीय किपा शेर्पाका अनुसार ओलाङ्चुङ्गोलाबाट तिब्बतको रिउमा जाने बाटोको पुल पनि बाढीले बगाएपछि गोलावासी गाउँमै नै थुनिएर बस्न बाध्य भएका छन् । फेदीखोलामाथिको काठे पुल केही महिनाअघि मात्र जिल्ला विकास समितिद्वारा ८० हजार रुपियाँको लागतमा निर्माण गरिएको थियो भने ओलाङ्चुङ्गोला जाने तमोर नदीमाथिको झोलुंगे पुल गत १ असोजदेखि आएको शक्तिशाली भूकम्पले भत्काएपछि खोलामाथि काठ र दाउरा प्रयोग गरी सामान्य पुल निर्माण गरिएको थियो । ताप्लेजुङबाट चीनको तीब्बत जाने बाटो बन्द भएको एक महिना बित्न लाग्दासमेत स्थानीय प्रशासन भने मौन छ ।

प्रतिक्रिया