श्रम सहचारीमा पाँच प्रतिस्पर्धी

काठमाडौं, २५ साउन । दक्षिण कोरियाको रिक्त श्रम सहचारीका लागि पाँच उपसचिव प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि सहचारी रहेका कृष्णहरिपुष्कर कर्ण सहसचिव भएपछि रिक्त रहेको सो पदमा श्रम तथा रोजगार मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत पाँच उपसचिवले सहचारीका लागि आवेदन गरेका हुन् ।

करिब दुई महिनादेखि खाली रहेको कोरियाको सहचारी बन्न श्रम तथा रोजगार मन्त्रालयका उपसचिव कृष्णप्रसाद दुवाडी, दिवस आचार्य, महेश आचार्य, अनील गुरुङ र अम्बिकाप्रसाद अधिकारी प्रतिस्पर्धामा देखिएका छन् । कृष्णप्रसाद दुवाडी र दिवस आचार्य मन्त्रालयमै कार्यरत छन् भने महेश आचार्य रोजगार अनुमति प्रणाली (इपिएस) का निर्देशक हुन् । यस्तै, अनील गुरुङ वैदेशिक रोजगार विभागका निर्देशक हुन् भने अम्बिकाप्रसाद अधिकारी सीप विकास केन्द्रका निर्देशक हुन् ।
सेवा–सुविधाका हिसाबले आकर्षक पद भएकाले पनि कोरियाको सहचारी बन्न अहिले उपसचिवहरू शक्तिकेन्द्र धाइरहेको मन्त्रालय स्रोतको दाबी छ । सक्षमभन्दा पनि जसले बढी शक्तिकेन्द्रलाई रिझायो उही सहचारी बन्ने गरेको विगतको अनुभवले पनि उपसचिवहरू लागिपरेको स्रोतले जनायो । मन्त्रालय स्रोतअनुसार पाँच उपसचिवमध्ये इपिएस प्रमुखसमेत रहेका महेश आचार्य कोरियाको सहचारीका मुख्य दाबेदार छन् । उनी विगत दुई वर्षदेखि इपिएसको निर्देशक रहेकाले पनि उनको सम्भावना बढी रहेको छ ।
आचार्यले भने निष्पक्ष रूपमा योग्य र सक्षम व्यक्ति नै सहचारी बन्नुपर्ने भन्दै आफू सक्षम भएको जनाए । तर, सहचारीकै लागि आफूभने शक्तिकेन्द्र नधाएको उनले बताए । ‘म विगत दुई वर्षदेखि इपिएसमा कार्यरत छु,’ उनले भने, ‘योग्यता, क्षमता र अनुभवका हिसाबले दाबी गरेको हुँ ।’
यसअघि कोरियाको सहचारी भएका कर्ण करिब तीन महिनामै सहसचिव भएपछि पद खाली भएको हो । उनी अहिले मकावानपुरमा प्रमुख जिल्ला अधिकारी छन् । पाँच हजारभन्दा बढी नेपाल कामदार रहेको मुलुकमा सरकारले सहचारी पठाउने गरेको छ । इपिएसअन्र्तगत नेपाली कामदार त्यहाँ जान थालेपछि कोरियामा सहचारी पठाइएको हो ।

प्रतिक्रिया