मैले बुझेका प्रचण्ड

२०१८ सालमा प्युठानमा जन्मिएका मणि थापा संगीतकार, गायक त हुन् नै, लामो समय माओवादीको नेतृत्वतहमा बसेर काम गरी केही वर्षअघि छुट्टिएका नेता पनि हुन् । पार्टी काममा रहँदा धेरै नेतालाई नजिकबाट जान्ने–बुझ्ने मौका पाए । सशस्त्र द्वन्द्वकै बेलादेखि माओवादीमा रहे उनी । यही आधारमा उनी एमाओवादी अध्यक्ष प्रचण्डको शैलीलाई सामन्तवादी प्रवृत्ति मान्छन् । पार्टी विचारबाट विचलन भयो भन्दै ०६२ सालमा माओवादीबाट अलग भएका उनी हाल क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव भएका छन् । माओवादीमा रहँदा देखेका र बुझेका प्रचण्डबारे सौर्यसँग उनको कुराकानी ।

प्रचण्डसँग मेरो पहिलो भेट ०४४ सालमा नेपालगन्जमा भएको हो । त्यो समयदेखि २०६२ सम्म एउटै पार्टीमा रहेका कारण म उनीसँगै भएँ । पार्टीको चौथो महाधिवेशन फुट्ने क्रम थियो, निर्मल लामा र मोहनविक्रम सिंहका बीच करिबकरिब फुट भइसकेको थियो । प्रचण्ड मोहनविक्रमतिर थिए ।
पहिलोपटक भेट्दा प्रचण्ड युवा नै थिए । राम्रो नेता हुन सक्ने, तर्कका बलमा युवाहरूलाई चाँडै प्रभावित गर्न सक्ने क्षमता उनमा देखेको थिएँ । लवाइखवाइदेखि लिएर सबै कुरा सरल थिए उनका । पहिलो भेटमै उनी र मैले प्रशिक्षण दिने एउटै कार्यक्रम पर्‍यो । उनी पार्टीको प्रतिनिधिका रूपमा गएका रहेछन्, म विद्यार्थी प्रतिनिधिको रूपमा । जे होस् पहिलो भेटमै उनको प्रस्तुतिले ममा राम्रै प्रभाव पारेको थियो । मलाई मात्र होइन, धैरै पछिसम्म हामी सबैलाई उनीमाथि विश्वास थियो ।
नेतामा कला, संवेग, आवेग, भावुकता हुनुपर्छ भन्ने मान्यता मेरो पनि हो । तर, पछिपछि प्रचण्डलाई बुझ्दै जाँदा उनीप्रतिको मेरो बुझाइ गलत साबित हुँदै गयो । उनी त परिस्थितिलाई हेरेर यस्ता आवेग प्रस्तुत गर्ने रहेछन् । उनका जे–जति भावुकताका चर्चा बाहिर चलेका छन् तीे प्रोक्सी हुन्, वास्तविक होइनन् । उति बेला माओवादी पार्टीमा हुँदै म यो निष्कर्षमा पुगिसकेको थिएँ ।
मोटो मशाल, एकता केन्द्र हुँदै आउँदा मैले उनमा कलाकारिताको अंश धेरै देखँे । सायद, उनमा जस्तो क्षमता नेपालका कमै नेतामा छ । त्यो क्षमता सकारात्मक भए देश र जनताका लागि धेरै राम्रो हुने थियो । तर, त्यसलाई उनले आºनो व्यक्तिगत करिअर बनाउन, आफूलाई सत्ता र पार्टीभित्र पावरफुल बनाउनबाहेक अरू कुरामा प्रयोग गरेनन्  । मलाई त प्रचण्डले आफ्नो क्षमताको दुरुपयोग गरेजस्तो लाग्छ ।
सुरुसुरुमा प्रचण्डको जीवनशैली सरल नै हो । मोहन वैद्यले नेतृत्व गरेको मोटो मशालमा उनी तीन/चार तह तलको नेता थिए, युवा संगठनका अध्यक्ष । एकपटक कीर्तिपुरको पाँगामा युवा संगठनको प्रशिक्षण थियो । प्रचण्ड त्यस कार्यक्रममा फाटेको पाइन्ट लगाएर आएका थिए ।
चवालीस–पैँतालीस सालतिर प्रचण्ड मोटो मशालको महामन्त्री भए । त्यसपछि चाहिँ उनको लवाइखवाइ टिपटप हुन सुरु गर्‍यो । एकाएक परिवर्तन देखिन थाले । पार्टीको बैठक बिहानै छ भने पनि उनी टिपटप भएर आउँथे । कपडा दिनदिनै फेरिएका हुन्थे । नेतृत्वमा गइसकेपछि फेसनेबल, अरूभन्दा पृथक् देखिन खोज्ने, आफूलाई सो गर्न खोज्ने व्यक्तिका रूपमा देखेँ उनलाई । त्यति बेला उपलब्ध हुने प्राय: सबै सौन्दर्य सामग्री उनले प्रयोग गरेका हुन्थे । अरू नेता भने सामान्य रूपमै देखिन्थे । त्यति बेला पार्टीका धेरै नेताको पारिवारिक आर्थिक जीवन प्रचण्डको भन्दा माथि थियो । तर, सत्ता र शक्ति प्राप्तिसँगै उनमा अनेक परिवर्तन देखिए । अति भएपछि हामी युवा, विद्यार्थीले कुरो उठाएका पनि हौँ । उति बेलैदेखि लवाइखवाइमा आफूलाई अरूभन्दा भिन्न देखाउने प्रवृत्ति उनमा बढ्न थालेको थियो ।
हामी टिप्पणी मात्र गथ्र्यौंं, आलोचना गर्ने अवस्था थिएन । मोटो मशाल पार्टी पनि सानो थियो । ०४८ मा मोटो मशाल एकता केन्द्र बन्यो, निर्मल लामा, बाबुराम भट्टराई, सर्वहारा श्रमिक संगठनलगायत मिलेर । त्यो एकता केन्द्रमा पनि उनी महासचिव भए । अहिलेजति त होइन, तर उनको चर्चा उति बेला पनि निकै हुन्थ्यो । पछिल्लो चरणमा प्रचण्ड भारत बस्थे । उनी बस्ने हेडक्वार्टरमा सहजै जाने अवस्था थिएन । भारतमा नेताहरू बस्ने प्रक्रिया सुविधासम्पन्न नै थियो । त्यसलाई सुरक्षाको विषय पनि मानिन्थ्यो ।
अहिले प्रचण्डको परिवारमा देखिएको विचलन राजनीतिक विचलनको परिणाम हो । जब मान्छेमा विचारमा विचलन आउँछ, उसको संस्कृतिमा विचलन आउँछ, पारिवारिक जीवन हुँदै पूरै समाजलाई हेर्ने दृष्टिकोण विचलित हुन थाल्छ । प्रचण्डले माक्र्सवाद, लेनिनवाद र जनयुद्धको विचार छाडे, साम्राज्यवादको नजिक भए । सत्ता र शक्तिका लागि जोसँग पनि नजिक हुने, जोसँग पनि सम्झौता गर्न तयार सम्झौतावादी चरित्रमा फेरिए । कसैको सांस्कृतिक विघटन पार्टीबाट सुरु हुन्छ, कसैको परिवारबाट । प्रचण्डको जीवनमा त्यो परिवारबाट सुरु भएको छ । उनले ठूलो संगठन चलाए, ठूलो पार्टीको नेता पनि भए तर आफ्नो साख बचाउन सकेनन् ।
प्रचण्डले सरकार सञ्चालन गर्ने अवस्थासम्म आउँदा देखाएको रवाफ र परिवारमा देखिएको विलासिताले नै छोरा प्रकाशमा सांस्कृतिक विचलन ल्याएको हो । यो प्रचण्डको नियन्त्रणभन्दा बाहिर छ । उनले जनयुद्धको परिवेशबाट हटेर आºना परिवारलाई सुविधासम्पन्न ढंगले सँगै राख्ने काम गरे । अरूको परिवार मर्न/मार्न तयार बनाउने, आºना परिवार भने सुरक्षित रूपमा बस्न पाउने संस्कार बसाले । समग्र पार्टीलाई व्यक्तिप्रति अझ आफूप्रति केन्द्रित गर्ने, पार्टीको सबै सम्पत्ति आºनो बनाउन खोज्ने प्रवृत्ति छ उनमा । यो वैचारिक विचलन हो । प्रकाशले अहिले जे गरेका छन्, त्यसमा म उनको दोष देख्दिनँ । पहिले उनी सोझा र इमानदार थिए । पछिल्लो चरणमा प्रचण्डले नजिकको मान्छेलाई आफ्नो स्टाफ बनाए । त्यो माक्र्सवादी होइन, सामन्तवादी संस्कृति हो ।
माओवादी आन्दोलनमा प्रचण्डकी श्रीमती हुनुबाहेक कुनै भूमिका छैन, सीता दाहालको । तर, पनि पार्टीका सम्पूर्ण निर्णय उनलाई थाहा हुन्थ्यो । आखिर निर्णयहरू थाहै हुने भएपछि पार्टीको बैठकमै आउने वातावरण बनाइदिऊँ न त भनेर बाबुरामले नै प्रस्ताव गरे । सीतालाई सल्लाहकार बनाइयो । प्रकाशलाई पनि सबै थाहा हुन्छ, किन बाहिर राख्ने भनेर जिम्मेवारी दिने काम गरियो । प्रकाशले जीवनलाई आफ्नो रुचिमा भन्दा पनि परिवारको विचारमा चाल्नुपर्ने भयो । प्रकाश प्रचण्डकै कारणले भिक्टिम भए  । उनलाई स्वतन्त्र रूपमा काम गर्न दिइएन । प्रचण्डले पार्टीलाई दाहाल परिवारको हेडक्वार्टर बनाइछाडे । उनको यही प्रवृत्तिका कारण अरू नेताले पनि परिवारलाई राखेर हेडक्वार्टर बनाउने चलन सुरु गरे । आफ्ना श्रीमती र छोराछोरीलाई स्टाफ बनाउने । श्रीमान् पोलिटब्युरोमा भए श्रीमतीलाई केन्द्रीय सदस्य वा राज्य समितिको सदस्य बनाउनुपर्ने । गोपनीयता वा अरू कुनै बहानामा परिवारको मान्छे सँगै बस्नुपर्ने संस्कृति माओवादीमा विकसित भयो । नेताहरूले सँगै राखेको देखेपछि तलकाले पनि सिके । यसले परिवारमा कलह सुरु भयो ।
पछि प्रचण्ड आन्दोलनको उपलब्धि मेरो दिमागको उपज हो, यो सबै मैले गरेको हो भन्न थाले  । मानिसहरू कुरा गर्थे– प्रचण्डका धेरै एन्टेना छन्, हामीले कोठामा बसेर गरेको कुरा उनी जहाँ भए पनि सुन्छन् †
राणाशासनमा शक्ति, सत्ता र उत्तराधिकारका लागि कोतपर्व, भण्डारखाल पर्व भएजस्तै भयो माओवादी पार्टीमा पनि । प्रचण्डको कार्यशैली सधैँभरि फुटाऊ र राज गर भन्ने रह्यो । कोतपर्व र भण्डारखालपर्व जन्माउनेजस्ता दाउपेच हुन्थे उनका । आज पनि छँदै छ ।
नेतामा चलाखी हुनु राम्रो हो तर व्यक्तिगत स्वार्थका लागि आफ्नालाई नै सिध्याइदिने चलाखी भने पक्कै राम्रो होइन । कसैले उनको कूटनीति बारे बोले सखाप पारिहालिन्थ्यो । प्रचण्डले सेक्टर काण्डपछि सिपी गजुरेलको जिम्मा यानप्रसादलाई दिए । जबकि सिपीको ठाउँ यानले लिनै सक्थेनन् । कहिले कसैलाई नजिक ल्याउने त कहिले कसलाई लात हान्ने काम प्रचण्डबाट भइरहन्थ्यो । एकता केन्द्रमा हँुदा निर्मल लामाहरूले भन्थे– ‘यो ह्वाँको खेल हो, न माओको नजिक हुने न देङतिर हुने, बीचमा बसेर रोल खेल्ने न भाले न पोथी ।’ राजनीतिज्ञ होइन, जालझेल गर्ने जोकरजस्ता देखिए प्रचण्ड । यताको कुरा उता, उताको कुरा यता गर्ने चरित्र देखाउन थाले ।
प्रचण्ड आफूलाई भावुक अनि दु:खद अवस्था देख्नेबित्तिकै रोइहाल्ने बताउँछन् । तर, मलाई कहिल्यै त्यस्तो लागेन । उनमा संवेदनाको मूल फुटेको थाहा छैन । जायज कुरा नै किन नहोस्, कसैले अलिकति पनि विरोध गर्‍यो कि उनी उत्तेजनामा आउँथे । त्यसलाई कसरी सिध्याउने भन्ने दाउ हेर्न थाल्थे । सहिद परिवारका नाममा आउने उनका वक्तव्य सधैँ उत्तेजक हुन्छ । भावुकता होइन बरु प्राविधिक अनि विस्फोटक शब्द मात्र हुन्छन् । खोइ उनी कहिले भावनामा बगे ? लेनिन, माओ, माक्र्स, होचिमिन्ह, पुष्पलाल, मदन भण्डारी, मोहनविक्रमले जसरी जनतालाई सम्झेर दुई शब्द लेखे ? उनी चतुर राजनीतिक खेलाडी मात्र हुन् । म त प्रचण्डसँग पाँच/सात घन्टा बहस गर्न चाहन्छु ।
बादल उनका मिल्ने साथी । उनैलाई पनि बाँकी राखेनन् । बाबुरामलाई समेत सखाप पर्ने प्रस्ताव आफ्नो गुटमा ल्याए । किरण नभएको भए प्रचण्ड हुन सक्थे तर बादल नभएको भए प्रचण्ड हुने थिएनन् । कसैलाई पनि उनी मानवीय संवेदनाबाहिर गएर कारबाही गर्थे । विरोधीलाई स्टालिनले भन्दा पनि क्रूर शैलीमा सिध्याउनेबाहेक अरूलाई प्रोत्साहन गर्ने काम गरेको मैले देखेको छैन । माओवादीभित्र आफूलाई धुरी बनाएर हेर्ने, सबै चिज आफूमा केन्द्रित गर्ने अपसंस्कृतिका निर्माता प्रचण्ड हुन् । हेर्दै जाऊँ, त्यसको सिकार उनी स्वयं बन्नेछन्  ।
पहिलो वार्ताकालमा रोल्पामा जनपरिषद् र जनसेनाको पहिलो राष्ट्रिय भेला थियो । त्यहाँ दुई प्रकारका खाना बने । काठमाडौंबाट गएका बुद्धिजीवीले माओवादीले खाद्य संस्कृतिको विकास गर्न सकेको रहेनछ भनेर आलोचना गरे । त्यसपछि भान्सा एउटै भयो । त्यहाँ प्रचण्डको कुर्सी अग्लो बनाइएको थियो, किरण र बाबुरामको कुर्सी सानो अनि होचो । साम्यवादी भनिएको पार्टीमै स्पष्ट सामन्तवाद देखियो । यद्यपि, त्यो व्यवस्थापनलाई नेताहरूले स्विकारे ।
टीका माला लगाउने कामलाई सामन्तवादी सोच भन्थे भारतीय माओवादीहरू । नेपाली माओवादीमा चाहिँ संस्कारै यही बसिसकेका थियो । भारतबाट जनयुद्धका गुरिल्ला युद्धविशेषज्ञ आएका थिए । उनले आलोचना गरे– ‘हाम्रोमा नेतालाई ठूलो सानो भनेर चिनाइँदैन, उसको प्रस्तुति र भूमिकाले मात्र थाहा हुन्छ । तपाईंहरूकामा त के हो, ठूलो नेताले धेरै माला लगाएको, अग्लो कुर्सीमा बसेको हुने रहेछ । यो कस्तो कम्युनिस्ट पार्टी हो ? हाम्रो त जम्मा दुईवटा पोसाक हुन्छ, एउटा पार्टीले दिएको युनिफर्म जो पार्टीको काममा लगाइन्छ । अर्को, सामान्य अरू बेला लगाइन्छ । तपाईंहरूको त जहाँ गयो त्यहीँ दुई–दुईजोर नयाँ ट्रयाक दिएको दियै गर्नुहुँदो रहेछ †’
रक्सी खाएको भन्दै जनतालाई भाटे कारबाही गरेर आउँथे कार्यकर्ता । उता प्रचण्ड आफैँ रक्स्याहा थिए । उनलाई रक्सी सधैँ चाहिन्छ । आफैँ भन्थे– ‘मलाई चाहिन्छ ।’ रक्सी अरू नेता पनि खान्थे ।
आवश्यकताका नाममा धेरैको सफाया भयो । त्यसको मूल्यांकन इतिहासले गर्ला । दोषी हामी पनि हौँ, प्रचण्ड मात्र होइनन् । जति त्रास गराउन सकियो उति चाँडो नेतृत्वको विकास गर्न सकिने भ्रम थियो । सत्तामा छिटो पुगिने मानसिकताले नेताहरूमा ध्वंंस र निर्माण दुवै चाँडो प्रक्रियामा गर्ने धारणा थियो । माओले भनेजस्तो छापामार शैली थिएन । माओ आफ्नो क्षति कम, दुस्मनको क्षति बढी गराउने भन्थे । तर, यहाँ बिल्कुल उल्टो भनिन्थ्यो– सय जना मर तर दसवटा बन्दुक ल्याउनै पर्छ, सयौँले बलिदान भएर पनि चौकी ध्वस्त हुनु पर्छ । ध्वंंसमा परिणाम हेर्ने प्रवृत्तिको विकास भयो । कसैले धेरै क्षति हुने काम नगरौँ भन्यो भने ऊ क्रान्तिविरोधी हुन्थ्यो ।
जनयुद्ध भर्खर सुरु भएको थियो, हामी पूर्वाञ्चलमा थियौँ । त्यहाँको नेतृत्व सिपी गजुरेलले गर्थे । गाउँभरि जासुस घुम्न थाले, सुरक्षाका लागि के गर्ने भन्ने कुरा भयो । जिल्लामा रहेका दुई–चार जनालाई ठीक पार्ने कुरा भयो । काभ्रेमा जिल्ला कमिटीले दस जना मार्ने प्रस्ताव गर्‍यो । दस जना मार्नु हुन्न, यसले जनतामा नराम्रो सन्देश जान्छ भन्नेहरू डरुवा क्रान्तिकारी भए । मार्नुपर्छ भन्नेहरू ठूला क्रान्तिकारी भए ।
मान्छे मार्ने निर्णय पास नभएपछि सिपीलाई हटाएर यानप्रसाद गौतमलाई इन्चार्ज बनाए प्रचण्डले । यानप्रसाद आएपछि भटाभट मान्छे मार्न सुरु भयो । पश्चिमको कमाण्ड बादलले सम्हालेका थिए । प्रचण्डले बादल र यानलाई एउटै हैसियतको देख्न थाले । जिम्मेवारी र बढेको महत्त्वाकांक्षाले यानप्रसाद पछि पार्टीभित्रैबाट भिक्टिम भए । मानवीय भावना नभएको कुनै नेता छन् भने प्रचण्ड नै ।
धेरै मान्छे मार्ने, धेरै पैसा उठाउने, धेरै हतियार ल्याउनेलाई क्रान्तिकारी भनिदिनुपर्ने । जनताको पक्षमा बहस गर्नुपर्छ, समस्यालाई राजनीतिक रूपमा हल गर्नुपर्छ भन्नेहरू सुधारवादी संशोधनवादी कहलिए । प्रचण्डसँग जो नजिक हुन्छ उसको समाप्ति नजिकै छ । अहिले पोस्टबहादुर बोगटी उनीसँग छन् । प्रचण्डसँग जो व्यापारी घराना शक्तिकेन्द्रहरू नजिक छन्, दस वर्षपछि उनीहरू पनि उनैबाट समाप्त हुनेवाला छन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया