शोकले बनायो समाजसेवी

पारिवारिक शोक र तनाबमा परेको व्यक्तिको दिनचर्या हुन्छ– ‘तनाबलाई सम्झेर रोइरहने र जिन्दगीमा हारको यात्रा सुरु गर्ने ।’ तर, विष्णु गौतम त्यस्ता व्यक्ति हुन्, जसलाई शोकले समाजसेवी बनायो । पर्यटन व्यवसायमा रमाइरहेका विष्णुको पारिवारिक जीवनमा पहिलो वज्रपात भयो– २०६५ साल पुस १२ गते । सवारी दुर्घटनामा छोरा कुमारले प्राण गुमाए । सुवानची टुर्सका प्रोपाइटरसमेत रहेका कुमार काठमाडौंको सञ्चारग्रामनजिक सवारी दुर्घटनामा परेका थिए । एउटा छोराको चोटले थलिएका उनको जीवनमा अर्को वज्रपात भयो– २०६६ असोज १७ गते । अमेरिकाको युनिभर्सिटी टप गरेका अर्को छोरा बलरामको पनि अमेरिकामै दुर्घटनामा निधन भयो । अमेरिकामा उपराष्ट्रपति, राष्ट्रपति, वर्ष विद्यार्थी २००८ तथा आउटस्ट्यान्डिङ सिनियर अवार्डबाट सम्मानित हुँदै उनी अध्ययनरत नर्थ वेस्र्टन ओकलाहोमा स्टेट युनिभर्सिटीको म्याथ क्लबको प्रेसिडेन्टसमेत भइसकेका थिए । बलराम अन्तर्राष्ट्रिय विद्यार्थी संघको कोषाध्यक्षसमेत थिए ।
काभ्रेको दुर्गम कोसीपारीको धुसेनी शिवालयमा जन्मिएर आºना बालबच्चाका लागि ठूलो संघर्ष गरेका विष्णुले छोराछोरीको कमाइ खाने बेलामा उल्टै उनीहरूलाई गुमाउनुको पीडाले प्रताडित हुनुपर्‍यो । महिनाको डेढ लाखभन्दा बढी कमाइ हुने परिवारमा एक्कासि निम्तिएको दोहोरो शोकपछि उनी यति विरक्तिए कि टुर्सबाट हात झिके, अनैकोटमा बनाउन लागिएको पलाञ्चोक एग्रो रिसोर्टको योजना पनि छोडिदिए । त्यसका लागि बैंकबाट ८० लाख रुपियाँ ऋण स्वीकृति भइसकेको थियो ।
शोकमा डुबेको गौतमको परिवारमा आँसु थामिन महिनौँ लाग्यो । विष्णुले अन्त्यमा साहस जुटाए र निर्णय गरे– ‘छोराहरूको शोक मेटाउने र भुलाउने एउटै बाटो छ– सामाजिक सेवा ।’ दुई वर्षअघि उनले लक्ष्मी प्रतिष्ठान गठन गरे र सुरु गरे सामाजिक अभियान । ‘कति सपना थिए ती छोराहरूसँग जोडिएका, सबै चकनाचुर भए । चरम दु:खको त्यो क्षणमा प्रण गर्‍यौँ– हामीजस्तै दु:खीहरूको दु:खमा मलम लगाउनेछौँ,’ उनले भने । पुत्रवियोगको पीडा अझै बिर्सन नसके पनि उनको शोकको मलम समाजसेवा बनेको छ र यही सामाजिक अभियानले उनलाई समाजसेवीका रूपमा नयाँ पहिचान बनाइदिएको छ । त्यो पहिचानसँग उनको साहित्यक पहिचान पनि जोडिएको छ । उनले लक्ष्मी गीतिसंग्रह निकालिसकेका छन् भने ‘चोइटिएको मुटु’ पुस्तकसमेत प्रकाशन गर्न लागेका छन् ।
२०४० सालदेखि झन्डै २७ वर्षसम्म पर्यटन क्षेत्रमा सक्रिय उनको जिन्दगीको यात्रा फनक्कै मोडिएको छ । उनी अहिले लक्ष्मी प्रतिष्ठान, समाजकल्याण नगरकोट पर्यटन सडक समिति र पलाञ्चोक एग्रो प्रालिका अध्यक्ष छन् भने भक्रमदेवी माविका सञ्चालक र बाल प्रतिभा निमाविका दातासमूह सदस्य छन् ।
५० वर्षीय विष्णु १३ वर्षको उमेरसम्म विकट धुसेनी शिवालयमै बसे । गाउँमा विद्यालय नभएकाले काठमाडौंमा आइपुगे र भानु माविबाट प्रवेशिका परीक्षा पास गरे । स्कुल पढ्दा पत्रिका बेच्नुपरेको दु:खद र संघर्षपूर्ण विगत पनि उनको मानसपटलमा ताजै छ । आरआर क्याम्पसबाट प्रमाणपत्र तह पास गरेपछि साथीभाइको लहैलहैमा पार्वती नामक फिल्म पनि बनाए । त्यसमा झन्डै आठ लाख डुबेपछि उनी कुलेखानी पहिलो जलविद्युत् आयोजनामा काम गर्न पुगे । त्यहाँ पनि स्थायित्व भएन । त्यसपछि पर्यटन व्यवसायलाई जोड दिएर अघि बढे, जसले उनलाई सबल आर्थिक उपार्जनमा सहयोग पुर्‍यायो । छोराहरूको निधनअघि ४६ लाख बैंक ब्यालेन्स भएका विष्णु सामाजिक अभियानपछि अहिले उल्टो आठ लाख ऋण लागेको सुनाउँछन् । तर, जिन्दगीको सबैभन्दा ठूलो सन्तुष्टि मिलेको छ भन्छन् । कहिल्यै नदेखेका नसुनेका, नचिनेका धेरैले आºनै छोराछोरीहरूले जसरी ड्याडी–ममी शब्द प्रयोग गरेर बोलाएपछि उनीहरूको मुटुमा लागेको गहिरो घाऊ पुरिँदै गएको छ । ‘मलाई त अहिले यस्तो लाग्छ कि हाम्रा छोराहरूको मृत्यु भएको छैन, लक्ष्मी प्रतिष्ठानका रूपमा उनीहरूको पुनर्जन्म भएको छ र हाम्रा कामहरूमा उनीहरू जीवित छन्,’ उनी भन्छन् ।
लक्ष्मी प्रतिष्ठानले अहिले पाँच क्षेत्रमा काम गरिरहेको छ । सामुदायिक विद्यालयहरूको सशक्तीकरण, महिला सशक्तीकरण, सीप विकास तथा व्यावसायिक तालिम, ट्राफिक अवेयरनेस, स्वास्थ्य तथा वातावरण आदि । प्रतिष्ठानमार्फत नै काभ्रे, काठमाडौं, भक्तपुर, डोटीलगायतका जिल्लाका विभिन्न विद्यालयमा शौचालय, खानेपानीको व्यस्थापन, भवन निर्माण, पुस्तकालय निर्माण, शिक्षक व्यवस्थापन, कम्प्युटर सहयोग, एक सय ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति, सात ठाउँमा आँखा शिविर, तीन सय ५३ जना मोतियाविन्दुका बिरामीहरूको नि:शुल्क शल्यक्रिया, तीन सय ५३ जनालाई सीपमूलक तालिमलगायत सम्पन्न भइसके । उनी दुर्घटनामा दुवै छोराछोरी गुमाएको पीडाबाट मुक्त हुन र सडक दुर्घटना कहिल्यै नहोस् भन्ने कामना गर्दै एक हजार महिलालाई ड्राइभिङ तालिम दिने तयारीमा छन् । महिलालाई गाडी चलाउन दिँदा दुर्घटना कम हुने उनको ठहर छ । त्यसका लागि पाँचखालमा महायज्ञ लगाउने तयारीमा छन् ।
ट्राफिक जनचेतनाका लागि ट्राफिक प्रहरी तथा विभिन्न कलेजसँग सहकार्य गर्दै छ उनको प्रतिष्ठानले । काठमाडौं, भक्तपुर र बनेपाका रोडमा डिभाइडर, अनाथालयका बालबालिकाका लागि खाना, लत्ताकपडा र टिभीलगायत सहयोग गरेको छ । ‘मैले समाजसेवाको क्रममा सहयोग गरेका अनुहारहरूमा म आºना छोराहरूलाई देखिरहेको छु,’ गौतमले सुनाए, ‘समयले पर्यटन व्यवसायमा मात्र सीमित मलाई मानिसले खोजेको सुख दाममा हुँदो रहेनछ भन्ने निष्कर्षमा पुर्‍यायो ।’
करिब एक करोड रुपैयाँ जति सामाजिक कामका लागि खर्च गरिसकेका उनले आधा जति रकम त आºनै व्यक्तिगत बचतबाट खर्चेका छन् । बाँकी रकम संकलन गर्न फेसबुक उनको साथी बनेको छ । फेसबुकमार्फत नै हालै भकुन्डेबेँसीमा टेलरिङ तालिमका लागि नेदरल्यान्डको इटिडब्लुएबाट ६ लाख पाएका छन् ।

प्रतिक्रिया