डेढमहिने सुत्केरीको मृत्यु

काठमाडौं : नुवाकोटको मदानपुरमा भएको ट्याक्सी दुर्घटनामा परेर डेढमहिनाको शिशु र सुत्केरी आमाको मृत्यु भएको छ ।
काठमाडौंबाट त्रिशूली जाने क्रममा ३५ किलोको भीरबाट ट्याक्सी खस्दा आमाछोरीको मृत्यु भएको हो । बुधबार मध्याह्न वा १ ज ५२५५ नम्बरको ट्याक्सी पासाङ ल्हामु मार्गको काठमाडौं त्रिशूली सडकखण्डअन्तर्गत मदानपुरको केउरिनीमा खसेको हो । दुर्घटनामा परेर काठमाडौं मनमैँजुकी २५ वर्षीया शोभा अधिकारी र डेढ महिनाकी छोरीको मृत्यु भएको हो । सुत्केरी बस्नका लागि माइती नुवाकोट गेर्खुु ट्याक्सी लिएर जाने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सी चालकसहित तीन गम्भीर घाइते भएका छन् । चालक मीनबहादुर सारु, मृतकका भाइ गेर्खु–४ का सुजन प्याकुरेल र मृतककी ठूलीआमा पुष्पा प्याकुरेलको काठमाडौंमा उपचार भइरहेको छ ।
यस्तै, स्याङ्जाको वालिङ–९ स्थित नाकेडाँडामा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुमपोखरा–४ का ३० वर्षीय टेकप्रसाद गैरे छन् ।
स्याङ्जाको वालिङबाट पर्वतको हुवासतिर ढुंगा लिएर जाँदै गरेको ग २ त ९३८ नम्बरको ट्रयाक्टर र लु ४ प ९३६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक गैरेको घटनास्थलमै मृत्यु भएको हो । (सौस)

प्रतिक्रिया