‘निर्देशनमा नआएको भए इतिहासविद् हुन्थेँ’

२०४० सालमा बदलिँदो आकाश निर्देशन गरेर चलचित्र निर्देशनमा प्रवेश गरेका हुन् लक्ष्मीनाथ शर्मा । अहिलेसम्म उनी निर्देशित चलचित्र ११ वटा प्रदर्शन भइसके भने १२औं चलचित्र प्रदर्शनको तयारीमा छ । त्यसो त उनले चलचित्र क्षेत्रमा प्रवेश भने २०२९ सालमै गरेका हुन् । सुरुमा उनले तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा पटकथा लेखकका रूपमा काम गरेका थिए । संस्थानले बनाएको पहिलो चलचित्र मनको बाँधको पटकथा, संवाद उनैले लेखेका हुन् । सो चलचित्रमा उनी सहायक निर्देशक पनि थिए । त्यसमा राम्रो गरेकाले उनले फिल्म इन्स्टिच्युट अफ इन्डिया (एफटिआई) मा निर्देशनसम्बन्धी अध्ययनका लागि तीन वर्षे छात्रवृत्ति पाए, संस्थानबाट । पछि सिन्दुर चलचित्रमा पनि सहायकका रूपमा नै काम गरेका थिए ।

बदलिँदो आकाशबाट पूरै निर्देशनको अवसर पाएपछि अहिलेसम्म १२ वटा चलचित्र निर्देशन गरिसकेका छन् । यसबीच उनले थुप्रै डकुमेन्ट्री र टेलिफिल्म पनि निर्देशन गरे । नेपालका वरिष्ठ एवं स्थापित निर्देशक कहलिइसकेका छन् उनी । तर, चलचित्र निर्देशन पेसामा नलागेका भए अहिले उनी कुन क्षेत्रमा भेटिँदा हुन् ? कुन क्षेत्रमा जाने सम्भावना हुन सक्थ्यो उनका लागि ? उनैले भने– ‘चलचित्र निर्देशक नभएको भए म इतिहासविज्ञ हुन्थेँ होला, किनकि मलाई स्कुल पढ्दादेखि नै इतिहासमा रुचि थियो ।’ कलेजसम्म पनि उनी इतिहास विषय लिएर नै पढिरहेका थिए रे † ‘तर आर्थिक स्थिति मजबुत बनाऊँ भनेर पत्रिकामा छापिएको विज्ञापनको पछि लागेको त चलचित्र क्षेत्रमा पो आइपुगिएछ । जागिरको खोजीमा लाग्दा संस्थानमा संवाद लेख्ने काम पाइयो ।’ उनी सुनाउँछन् ।
चलचित्रमा नआएको भए यतिखेर कतै इतिहास विषय प्राध्यापन गरिरहेको हुन्थेँ कि भन्छन् । ‘अनि ऐतिहासिक अनुसन्धानमा डुबेर यसैबाट पिएचडी पनि गर्थें होला’, उनी कल्पिन्छन् । अझै पनि थुप्रै ऐतिहासिक कुरा सत्यतथ्य किसिमले नलेखिएको उनलाई लाग्छ । भन्छन्– ‘इतिहास वैज्ञानिक प्रमाणमा लेखिन्छ । जनश्रुति र दन्त्यकथाका कुरा इतिहास होइनन्, तिनीहरूको कुनै प्रमाण हुँदैन ।’ उनले उदाहरण दिए– ‘जंगबहादुरले त्रिशूलमा हाम फाल्यो, धरहराबाट छाता बोकेर हामफाल्यो भन्ने कुराको कुनै ऐतिहासक प्रमाण छैन । जनश्रुति मात्र छ । इतिहास पूर्णत: तथ्यमा आधारित हुनुपर्छ । म पनि यिनै सत्यतथ्य पत्ता लगाउन लाग्थेँ होला ।’ जंगबहादुर बेलायत गएको इतिहासचाहिँ लिखित तथ्य भएकाले मान्न सकिने उनले बताए ।
पार्टीपौवा, शिलालेख, ताम्रपत्र र पुराना पुस्तकमा लेखेर राखिएका कुराहरूलाई ऐतिहासिक प्रमाण मान्न सकिने उनलाई लाग्छ । उनी साँच्चिकै इतिहास अध्ययन, अनुसन्धान र उत्खनन्मा लागेका भए र आर्थिक समस्याले काम अघि नबढ्ने अवस्था निम्तिए के गर्दा हुन् ? सरकारलाई सहयोग माग्दो हुँ भन्छन् । यदि सरकारले इतिहासलाई बजेटै छुट्याइदिएन भने नि ? ‘कुनै बाटोमा लागिन्छ भने दुई–चार ठाउँमा धोका भयो भन्दैमा आºनो अनुसन्धान रोक्दिनथेँ, सरकारले नगरे अनुसन्धान क्षेत्रमा काम गर्ने अरू संस्थासँग सहयोग माग्थेँ, कतैबाट पनि सहयोग नपाए प्राध्यापन गरेको पैसामा ऋणपान जोडेर भए पनि अनुसन्धान त पूरा गरेरै छाड्थेँ’ –कल्पनाभित्रको पेसामा निकै दृढ विचार प्रस्तुत गरिरहेछन् शर्मा । आफू मात्रै लाग्ने होइन, विद्यार्थीलाई पनि इतिहास क्षेत्रमा लाग्न सक्दो प्रेरित गर्थेंं होला भन्छन् । अनुसन्धान सफल भए ती प्रमाणलाई फुटेजसहित सम्बन्धित मिडियामा प्रचारमा ल्याई विश्वमै चर्चित बनाउँदा हुन् रे उनी इतिहास क्षेत्रमा लागेका भए †
मानौँ उनी इतिहासका सर्वोत्कृष्ट अनुसन्धाता ठहरिए र करोडौं रुपियाँ बराबरको पुरस्कार हात पारे भने त्यो रकम कुन क्षेत्रमा खर्च गर्दा हुन् ? ‘पक्कै पनि आफूले गरेको अनुसन्धानलाई संस्थामा स्थापित गर्थें र नयाँ पिढीलाई ऐतिहासिक अनुसन्धानमा प्रेरित गर्ने, इतिहास क्षेत्रमा विशिष्ट योगादन पुर्‍याउने व्यक्तित्वको सम्मानार्थ ट्रस्ट खोलिदिने थिएँ, इतिहास अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कोष खडा गरिदिँदो हुँ’, उनको काल्पनिक पेसाभित्रका काल्पनिक योजना । तर, यी योजना आफैँमा अहिले वास्तविकताको इतिहास क्षेत्रभित्र पनि अत्यन्त आवश्यक भइसकेझैँ लाग्छन् । कल्पनाबाट यथार्थमा फर्किए शर्मा– ‘तर के गर्नु, सबै मान्छेले सबै कुरामा सफलता कहाँ पाउन सकिन्छ र † विद्यार्थी जीवनमा कल्पना र लक्ष्य एउटा देखिन्छ, जीविकाको बाध्यताले कहाँ–कहाँ पुर्‍याइदिन्छ । नत्र त चलचित्र निर्देशन मैले विद्यार्थीकालमा अध्ययन गरेको विषय नै होइन । अहिले यही प्रमुख भयो, यसमा पनि निकै खुसी छु ।’

 विशाल राई

प्रतिक्रिया