सिंहदरबारभित्र फेसबुक बन्द

काठमाडौं, २४ साउन । कर्मचारीहरू काम छाडेर फेसबुकमा व्यस्त हुन थालेपछि सरकारले सिंहदरबारभित्रका कार्यालयमा सामाजिक सञ्जाल फेसबुक प्रतिबन्ध गरेको छ । नवनियुक्त मुख्यसचिव लीलामणि पौड्यालको निर्देशनमा मंगलबारदेखि फेसबुक बन्द गरिएको हो ।

सचिवका रूपमा प्रधानमन्त्री कार्यालयमा कार्यरत हुँदा पौड्यालले विभिन्न कार्यालयको अनुगमन गरेर कर्मचारीहरू बिहानैदेखि फेसबुक र तासमा व्यस्त हुने गरेको र त्यसले सर्वसाधारणको काममा ढिलासुस्ती भइरहेको प्रतिवेदन तयार गरेका थिए । प्रतिवेदनमा केही कर्मचारीलाई कारबाहीको सिफारिस गर्दै कार्यालय समयमा सिंहदरबारभित्र फेसबुक बन्द गर्नुपर्ने सुझाबसमेत दिइएको थियो । त्यतिबेला आफ्नो प्रस्तावको सुनुवाइ नभए पनि मुख्यसचिवमा पदबहाली गरेको २४ घन्टा नबित्दै पौड्यालले सिंहदरबारभित्र फेसबुक बन्द गराएका हुन् ।
सरकारी काम छरितो र चुस्त बनाउन सरकारले सिंहदरबारभित्रका कार्यालयमा कार्यरत अधिकांश कर्मचारीका लागि इन्टरनेट सुविधासहित कम्प्युटर व्यवस्था गरेको थियो । तर, खरिदारदेखि सचिवसम्मका अधिकांश कर्मचारी काम छाडेर फेसबुकमै रमाउन थालेपछि सरकारले बिहान
९ देखि दिउँसो ३ बजेसम्म फेसबुक बन्द गर्ने निर्णय गरेको हो ।
‘कर्मचारीहरू बिहान कार्यालय आएदेखि नै फेसबुकमा रमाएर जिम्मेवारी बिर्सन थालेपछि सरकार फेसबुक बन्द गर्न बाध्य भएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले सौर्यसँग भने ।
सिंहदरबारभित्रको इन्टरनेट सेवा अर्थ मन्त्रालयले हेर्ने गर्छ ।
स्रोतका अनुसार कर्मचारीहरू फेसबुकमै भुल्न थालेको गुनासो आउन थालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्यसचिव पौड्यालसित छलफल गरेका थिए । दुवैको सल्लाहअनुसार दिउँसो ३ बजेसम्म फेसबुक बन्द गर्ने निर्णय भएको हो । प्रधानमन्त्रीको
निर्देशनअनुसार पौडेलले अर्थ मन्त्रालयका अधिकारीलाई फेसबुक बन्द गर्न अर्‍हाएको स्रोतले जनाएको छ । कार्यालय समयको अन्तिम दुई घन्टा भने फेसबुक खुला गरिनेछ । ‘दिनभर फेसबुक सेवा बन्द भए पनि बेलुका घर जाने बेलामा कर्मचारीले यो सेवा प्रयोग गर्न सक्छन्,’ अर्थ प्रवक्ता खनालले भने । कर्मचारीहरू बिहानैदेखि फेसबुक चलाउन थालेपछि इन्टरनेटबाट महत्त्वपूर्ण डकुमेन्टहरू डाउनलोड गर्न कठिन भएपछि फेसबुक सेवा बन्द गरिएको उनले बताए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले फेसबुक बन्द गर्दा धेरै फाइदा र थोरै बेफाइदा हुने बताए । इन्टरनेटमा सुस्तता आएकाले प्राविधिकको सल्लाहमा फेसबुक बन्द गरिएको उनले बताए । ‘प्रविधिकहरूले फेसबुक प्रतिबन्ध गरे इन्टरनेट सञ्चालनमा आएको सुस्तता हट्ने सल्लाह दिएपछि बन्द गरिएको हो,’ प्रवक्ता रेग्मीले भने, ‘कार्यालय समयमा फेसबुक सञ्चालन गर्न नदिनुलाई राम्रो र सकारात्मक रूपमा लिनुपर्छ ।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले कार्यालय समयमा कुनै पनि कर्मचारीले फेसबुक च्याटमा सयम बिताउन नपाउने भएकाले बन्द गर्दा निकै फाइदा हुने बताए । ‘फेसबुकको लतमा कर्मचारी परे, त्यसको असर काममा पर्छ,’ उनले भने । कर्मचारीको कोड अफ कन्डक्टमै फेसबुकमा च्याट नगर्ने, कम्प्युटरमा गेम नखेल्नेजस्ता कुराहरू उल्लेख रहेको सचिव जोशीले बताए । फेसबुक अम्मली केही कर्मचारीले भने सस्तो लोकप्रियताका लागि मुख्यसचिव लीलामणि पौड्यालले फेसबुक बन्द गराएको आरोप लगाएका छन् । इन्टरनेट प्रविधिले संसारलाई नै गाउँजस्तो बनाएका बेला फेसबुक बन्द गर्नु ‘उल्टो बाटो हिँड्नु’ जस्तै भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया