२९ लाख नक्कली भारतीय नोट बरामद

काठमाडौं, २३ साउन । काठमाडौंको न्यूरोडस्थित एक होटेलबाट प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोट बरामद गरेको छ ।
सोमबार राति जुद्ध सालिक नजिक रहेको होटल क्लासिकबाट २९ लाख ५० हजार रुपियाँ सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई पाकिस्तानी र एक नेपाली नागरिक रहेका छन् ।
प्रहरी प्रधान कार्यालय प्रतिआतंकबाद निर्देशनालय र महानगरीय प्रहरी प्रभाग जनसेवाबाट खटिएको संयुक्त टोलीले भारतीय नक्कली नोट बरामद गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला प्रशुरामपुर–८ घर भएका ४८ वर्षीय रहमत वसिर धोबी तथा पाकिस्तानको कराची घर भएका एवाई ५१९९३५२ नम्बरको राहदानी बाहक ४० वर्षीय सोयल मोहमद स्मायल र जीडी ४१२८५०१ नम्बरको राहदानी बाहक ४७ वर्षीय मोहमद नाई मुल्लाह रहेका छन् ।
काठमाडौं उपत्यकाभित्र केही व्यक्ति र समूहले अवैधरुपमा भारतीय नक्कली नोटको कारोबार, प्रयोग तथा ओसारपसार गर्ने गरेको गोप्य सूचनाका आधारमा भारतीय नक्कली नोट बरामद गरिएको प्रहरी भनाई छ ।
झोलामा लुकाइछिपाई राखेको अवस्थामा १ हजार र ५ सय दरका नक्कली भारतीय नोट फेला परेका थिए ।

प्रतिक्रिया