सीमाक्षेत्र बन्द भएपछि समस्या

अंकारा, २३ साउन । टर्कीले सिरियासँगको स्टिफेटोन सीमा नाका बन्द गरेपछि द्वन्द्वको मारमा परेका सिरियाली नागरिकलाई ठूलो समस्या परेको छ । रातभरिजसो बमबारी हुने भएकाले सीमा बन्द भएपछि भागेर अन्यत्र जान उनीहरूलाई समस्या परेको हो ।
यसअघि सिरियामा बमवारी तथा भिडन्त हुँदा सिरियाली नागरिकहरू भागेर छिमेकी टर्कीतर्फ पुग्ने गर्थे । सिरियाली नागरिकलाई सो सीमा क्षेत्रबाट भाग्न सजिलो हुँदै आएकामा सीमा बन्द भएपछि उनीहरूलाई समस्या परेको छ । टर्किस अधिकारीहरूका अनुसार सीमा बन्द गरेपछि टर्कीतर्फ आउने सिरियालीको संख्या घटेको छ । खुला सीमाका कारण आफ्ना नागरिक जोखिममा नपरून भनेर सीमा बन्द गरिएको टर्किस अधिकारीले जनाएका छन् ।
टर्कीसँगको सीमा क्षेत्रमा सिरियाली सैनिक र आन्दोलनकारीबीच बारम्बार झडप हुने गरेको छ । केही महिनाअघि सिरियाली आन्दोलनकारीले उक्त सीमा क्षेत्रलाई कब्जामा लिएका थिए । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै आन्दोलन जारी छ । यस क्रममा २० हजारभन्दा बढीको ज्यान गएको अधिकारकर्मीद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । (एएफपी)

प्रतिक्रिया