भारतले तिब्बती पृथक्तावादीलाई सघाएको आरोप

बेइजिङ, २३ साउन । निर्वासित तिब्बती शरणार्थीलाई भारतले गोप्य सहयोग पुर्‍याउँदै आएको आरोप चीनको राज्यसञ्चालित पत्रिकाले जनाएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा सोमबार प्रकाशित समाचार विश्लेषणका अनुसार भारतले सार्वजनिक रूपमा ‘एक चीन नीति’प्रति प्रतिबद्धता जनाए पनि उसले गोप्य रूपमा ‘स्वतन्त्र तिब्बत आन्दोलन’ जारी राखेको छ । भारतको चीन नीतिमा देखिएको यस्तो अस्पष्टताले चीनसँगको उसको सम्बन्धमा असर पुगिरहेको चाइना टिबेटोलोजी रिसर्च सेन्टरमा आबद्ध अनुसन्धानकर्ता सियाओ जिले ‘ग्लोबल टाइम्स’ मा लेखेको विश्लेषणमा उल्लेख छ ।
दलाई लामा नेतृत्त्वको निर्वासित तिब्बतीलाई विगतमा भारतले बृहत् सहयोग पुर्‍याउँदै आए पनि अहिले सहयोगको स्वरूप फेरिएको विश्लेषणमा जनाइएको छ । ‘पहिले बृहत् सहयोग दिने गरिएको थियो तर अहिले ‘सेलेक्टिभ’ सहयोग दिने गरिएको छ,’ विश्लेषणमा भनिएको छ । चीनमा निर्वासित तिब्बतीको उपस्थितिबाट कालान्तरमा भारत स्वयंको स्थिरता प्रभावित हुनसक्ने चेतावनी दिइएको छ ।
‘सन् १९७६ मा दुई देशबीच राजदूतस्तरीय कूटनीतिक सम्बन्ध पुन:स्थापना भएयता भारतले तिब्बत मामिलामा दोधारे नीति लिँदै आएको छ । एकापट्टि उसले निर्वासित तिब्बतीको सरकारलाई मान्यता नदिने र तिब्बती पृथक्तावादीको विरोध गर्ने प्रस्ट पार्दै आएको छ । अर्कोतर्फ उसले पृथक्तावादी गतिविधिलाई गोप्य रूपमा सहयोग जारी राखेको छ,’ विश्लेषणमा भनिएको छ ।
भारतले सबैभन्दा ठूलो संख्यामा तिब्बती शरणार्थीलाई आश्रय दिँदै आएको छ । करिब एक लाख तिब्बती शरणार्थीलाई भारतले आश्रय दिएको छ । भारतको हिमाञ्चल प्रदेशबाट दलाई लामाले तथाकथित निर्वासित तिब्बती सरकार सञ्चालन गर्ने गरेका छन् । तिब्बती शरणार्थीप्रति भारतको यस्तो नरमपनप्रति चीनले आशंका जनाइरहेका बेला चीनको राज्यसञ्चालित पत्रिकाले त्यसप्रतिको गम्भीर ध्यानाकर्षण जाहेर गरेको हो ।
‘भारतीय भूमिमा निर्वासित तिब्बतीहरूको पृथक्तावादी गतिविधिले क्षेत्रीय सुरक्षा र चीन–भारत सम्बन्धसामु प्रश्नचिह्न खडा गराउनेछ,’ विश्लेषणमा भनिएको छ ।
दलाई लामाले चीनविरुद्ध सन् १९५९ मा विद्रोह गर्न खोज्दा चिनियाँ सेनाले सैन्य हस्तक्षेप गरेपछि उनी तिब्बतबाट भागेका थिए । दलाई लामाको पछि लागेकाहरू त्यसयता नेपाल, भारतलगायत अन्य मुलुकमा बस्दै आएका छन् । विदेशी भूमिबाट निर्वासित तिब्बतीले ‘स्वतन्त्र तिब्बत आन्दोलन’ चर्काउन खोजेको आरोप चीनले लगाउँदै आएको छ । निर्वासित तिब्बतीहरूलाई अमेरिका, युरोपेली मुलुक, भारतलगायत राष्ट्रले सहयोग पुर्‍याउँदै आएको आरोप चिनियाँ बुद्धिजीवीले लगाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया