अध्यादेशबाट शिक्षा ऐन ल्याउन क्रान्तिकारीको दबाब

काठमाडौं, २३ साउन । अनेरास्ववियु क्रान्तिकारीले शिक्षा ऐन आठौँ संशोधन विधेयक अध्यादेशमार्फत ल्याउन विशेष पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ । संगठनका अध्यक्ष हिमाल शर्माको नेतृत्वमा गएको टोलीले सोमबार राष्ट्रपतिलाई अनुरोधपत्र बुझाएको हो ।
शिक्षाको समस्या हल गर्न अध्यादेशमार्फत शिक्षा ऐन ल्याउनुपर्ने क्रान्तिकारीको दाबी छ । सो संशोधन मन्त्रिपरिषद्बाट पास भइसकेको थियो । ‘राजनीतिक परिवर्तनसँगै शैक्षिक अधिकारको खोजी गर्नु हाम्रो पेसागत हकको कुरा हो । अन्तरिम संविधानले शिक्षालाई नागरिकको मौलिक हक भनेर परिभाषित गर्‍यो र विद्यालय शिक्षालाई कानुन बनाएर अनिवार्य र नि:शुल्क गर्ने पनि संविधानमै व्यवस्था गरियो तर त्यो काममा लगातार ढिलाइ मात्र भइरह्यो,’ क्रान्तिकारीले राष्ट्रपतिलाई बुझाएको अनुरोधपत्रमा भनिएको छ, ‘आज देशको सार्वजनिक शिक्षा क्षेत्र धराशयी बन्दै गएको छ ।’
यसको एउटा कारण दक्ष, योग्य र विषयगत शिक्षकको अभाव पनि भएको अनुरोधपत्रमा उल्लेख छ । ‘बजारमा लाखौँ युवा शिक्षण अनुमतिपत्र हातमा लिएर बसेका छन्,’ पत्रमा अगाडि भनिएको छ, ‘शिक्षक सेवा आयोग नखुलेको दसौँ वर्ष भइसक्यो । शिक्षक सेवा आयोगका पदाधिकारी ऐन पारित नभईकन आयोग खुल्न नसक्ने जिकिर गरिरहेका छन् । त्यसका लागि तत्कालै शिक्षा ऐन आठौँ संशोधन विधेयकलाई अध्यादेशमार्फत ल्याई शैक्षिक सुधारको मार्गप्रशस्त गर्न अनुरोध गर्दछौँ ।’
क्रान्तिकारीको टोलीले राष्ट्रपतिसँग ४५ मिनेट अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा राष्ट्रपतिले कानुनले नबाझिने सन्दर्भ भए आफूले पहल गर्ने बताएको क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले बताए । सो विषयमा क्रान्तिकारीले प्रधानमन्त्रीसमक्ष माग राखिसकेको छ । शर्माले यो विषयमा संगठनले राजनीतिक दलका प्रमुखलाई भेटेर लबिङ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया