काठमाडौं, २३ साउन । विपक्षी गठबन्धनका १६ युवा तथा विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनका लागि संयुक्त आन्दोलन परिचालन कमिटी गठन गरेका छन् । सोमबार युवा संघ नेपालको कार्यालयमा बसेको उनीहरूको संयुक्त बैठकले चालु आन्दोलन परिचालनका लागि संयुक्त संघर्ष समिति बनाएको हो ।
यसअघि सरकारविरोधी गठबन्धन दलनिकटका आठ युवा संगठनले आन्दोलन घोषणा गरेका थिए । विपक्षी दलनिकट आठ विद्यार्थी संगठन पनि सोमबारदेखि संयुक्त संघर्षमा सामेल भएका हुन् । उनीहरूले प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा माओवादीलगायत दलनिकटका युवा तथा विद्यार्थी संगठनका प्रतिनिधि सामेल गरी संयुक्त संघर्ष समिति बनाएका छन् । आन्दोलन परिचालन कमिटीमा युवा संघ नेपालबाट निरज आचार्य, नेविसंघबाट लेखनाथ पोखरेल, अनेरास्ववियुबाट वचन सिंह, नेपाल तरुण दलबाट जन्मजय तिमल्सिना, अखिल क्रान्तिकारीबाट कमल शाही, राष्ट्रिय जनस्वयंसेवक संगठनका प्रतिनिधि, अखिल नेपाल युवक संघबाट लक्ष्मणदेव पाण्डे, मधेसी युवा फोरम नेपालबाट अनिल ठाकुर, राप्रवि संघबाट प्रेम बलायर, प्रगतिशील युवा संघबाट जेपी केरुङ, राप्रयु संघबाट मोहनकाजी भण्डारी, चुरेभावर युवा संघबाट रामेश्वर थापा, अखिल छैटौँबाट घनश्याम न्यौपाने, जनशक्ति युवा संघबाट कमल विष्ट, नेक्रायु संघका प्रतिनिधि र समाजवादी युवा संघबाट समीर राना रहेका छन् ।
उनीहरूको बैठकले आन्दोलनका क्रममा भएको प्रहरी दमनको निन्दा गरेको छ । युवा संघ नेपाल र आठ युवा संगठनले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने उनीहरूको निर्णय छ । मंगलबार र बुधबार दुई दिन बिहान ६ बजेदेखि १० बजेसम्म चार घन्टा नेपाल बन्दलगायत कार्यक्रम उनीहरूले यसअघि नै घोषणा गरेका थिए ।
प्रतिक्रिया