स्तनपान सप्ताह सकिन लाग्दा कार्यक्रम

काठमाडौं, २३ साउन । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउने उद्देश्यले साताव्यापी रूपमा मनाइने अभियान सकिन एक दिन मात्र बाँकी रहँदा स्वास्थ्य विभागले केन्द्रीयस्तरमा कार्यक्रम आयोजना गरेको छ । जनचेतनामूलक कार्यक्रमसहित स्तनपान सप्ताहको सुरुमै कार्यक्रम गरी देशभर अभियान चलाइनुपर्नेमा स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाले अभियान समाप्त हुने अघिल्लो दिन मात्र राजधानीमा कार्यक्रम गरी अभियानबारे जानकारी दिएको हो ।
‘विश्व स्तनपान सप्ताह विविध कार्ययोजना तयार पारी सफलतापूर्वक मनाऔँ,’ भन्ने मूल नाराका साथ बुधबारबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । तर, अभियान सञ्चालनको जिम्मेवारी पाएको बालस्वास्थ्य महाशाखाले अभियान चलेको छैटौँ दिन सोमबार मात्र कार्यक्रम गरी अभियानबारे जनचेतना दिएको हो ।
महाशाखाअन्तर्गतको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापाले जिल्ला–जिल्लामा कार्यक्रम गरिएकाले केन्द्रमा कार्यक्रम गर्न ढिला भएको बताए । उनका अनुसार काठमाडौं जिल्ला जनस्वास्थ्यले पनि पहिल्यै कार्यक्रम गरिसकेको छ । तर, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले भने त्यस्तो कुनै कार्यक्रम नभएको बताए ।
बालस्वास्थ्य महाशाखाकै एक कर्मचारीका अनुसार यसपटक दिवस सुरु भएदेखि नै सार्वजनिक बिदा परेकाले कार्यक्रममा असर गरेको बताए । ‘स्तनपान सप्ताहमा जनचेतनामूलक कार्यक्रम गरेमा मात्र प्रभावकारी हुनेछ,’ उनले भने, ‘तर यसपटकको कार्यक्रम सफल हुन सकेन ।’

प्रतिक्रिया