आफन्तकै संलग्नतामा बेचबिखन

कैलाली, २३ साउन । पछिल्लो समयमा आफन्तकै संलग्नतामा चेलीबेटी बेचबिखन बढेर गएको एक अध्ययनले देखाएको छ । आफन्त तथा छिमेकीले नै ललाइफकाई वैदेशिक रोजगारमा लगाउने बहानामा बेचबिखन कार्यलाई बढावा दिएको माइती नेपाल कैलालीले जनाएको छ ।

कैलाली त्रिनगर नाका प्रयोग गरेर भारत हुँदै खाडी मुलुकसम्म गरिने चेलीबेटी बेचबिखन कार्यमा दलालको सञ्जाल सक्रिय भए पनि ९० प्रतिशत आफन्त र छिमेकी नै भेटिएको माइती नेपाल कैलालीका जिल्ला संयोजक शिवचरण चौधरीले बताइन् । चौधरीका अनुसार आर्थिक प्रलोभन देखाएर बढीजसो दलित, जनजाति, बेसहारा र आर्थिक अवस्था कमजोर भएका महिला बेचबिखनमा पर्ने गरेका छन् ।
त्रिनगर नाकाबाट ओसारपसार हुँदै आएका चेलीबेटीमा १३ देखि ३५ वर्ष उमेर समूहका छन् । बेचबिखन र ओसारपसारमा पर्नेमा पहाडी जिल्लाभन्दा कैलालीकै बढी रहेको संयोजक चौधरीले बताइन् । ओसारपसारमा आफन्तकै संलग्नता हुने गरेकाले आपसमै मिलापत्र गरिने भएकाले मुद्दा दर्ता हुन नसकेको चौधरीले जानकारी दिइन् । ‘सहोदर दाइले बहिनी बेच्न ल्याएको भेट्टाइए पनि मुद्दा दर्ता नगरी आपसमा मिलापत्र गरेर फर्किए,’ चौधरीले भनिन्, ‘आफन्त नै चेलीबेटी ओसारपसार गर्ने दलाल बनेपछि उनीहरूलाई कानुनी दायरामा ल्याउन गाह्रो भएको छ ।’ पीडित स्वयंले नै मिलापत्र गर्ने गरेकाले कानुनी प्रक्रिया अगाडि बढाउन समस्या हुने गरेको चौधरीको भनाइ छ ।
माइती नेपाल कैलालीले २०११ अगस्टसम्म अर्थात् आठ महिनाको अवधिमा ४३ जनालाई उद्धार गरेको छ । उद्धार गरिएकामा अधिकांश महिला बेचबिखनमा आफन्त नै संलग्न भएको तर एकजनाविरुद्ध मात्र मुद्दा चलिरहेको माइती नेपालले जनाएको छ । गत वर्ष माइती नेपाल कैलालीले ८१ जनालाई उद्धार गरेको थियो भने पीडित महिलाको सहमतिमा बेचबिखनमा संलग्न दुईजनाविरुद्ध मुद्दा चलाइएको थियो ।
कागजपत्र पूरा नभए पनि फकाएर दलालहरूले वैदेशिक रोजगारमा लगाइदिने नाममा बेचबिखन गरिरहेका छन् । गत वर्ष माइती नेपालले यो अवधिमा ५८ जना चेलीबेटीको उद्धार गरेको थियो । त्रिनगर नाका हुँदै भारत जानेलाई रिक्सामा चेकजाँच गर्ने गरिए पनि मोटरसाइकल तथा साइकलमा जानेलाई चेकजाँच गर्न कठिनाइ भइरहेको माइती नेपालले जनाएको छ । उद्धारको तथ्यांकमा गत वर्षभन्दा कमी आएको देखिए पनि बाटो र तरिका छलेर ओसारपसार भइरहेको हुनसक्ने माइती नेपालको आशंका छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न बनेको ऐन ०६४ मा बेचबिखन गरिसकेको अवस्थामा किन्ने र बेच्ने दुवैलाई २० वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना हुने प्रावधान छ । यस्तै, वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजारदेखि एक लाख रुपियाँ जरिवाना हुने, वेश्यागमन (आर्थिक प्रलोभन देखाएर यौन शोषण) गर्नेलाई एक महिनादेखि तीन महिना कैद र दुईदेखि पाँच हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।
यस्तै, बेचबिखन गर्ने उद्देश्यले विदेश लैजानेलाई १० देखि १५ वर्ष कैद तथा ५० हजारदेखि एक लाख रुपियाँ जरिवाना र बेचबिखन गर्ने उद्देश्यले नेपालभित्र ओसारपसार गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया