काठमाडौं, २२ साउन । नेपाली कामदारका लागि आकर्षक मुलुकका रूपमा रहेको दक्षिण कोरियाले यो वर्ष करिब ६ हजारलाई रोजगारीमा लैजाने भएको छ । सन् ०१२ भित्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १५ मुलुकबाट ५७ हजार कामदार लिने भए पनि नेपालबाट भने ६ हजारभन्दा बढीले रोजगारीमा जान नपाउने भएका छन् ।
कोरियाले सन् ०१२ का लागि एक वर्षअघि लिएको भासा परीक्षामा १५ हजारभन्दा बढी रोजगारीका लागि उत्तीर्ण भएका थिए । तर, अन्य मुलुकबाट समेत कामदार लिने भएकाले ०१२ भित्र ६ हजारभन्दा बढीले कोरिया जान नपाउने संभावना रहेको इपिएस शाखाले जनाएको छ । केही समयअघि कोरियाले यो वर्ष सात हजारलाई रोजगारीमा लैजाने जनाएको थियो ।
इपिएसका अनुसार सन् ०१२ को जनवरीपछि हालसम्म पाँच हजार दुई सय ८० जनाको श्रमकरार (लेबर कन्ट्रयाक) आएको छ । अब करिब चारमहिना मात्र बाँकी रहेकाले रोस्टरमा रहेका कुल १५ हजार ६ सयमध्ये यो वर्ष ६ हजारको हाराहारीमा मात्र कामदार कोरिया जान सक्छन् । यद्यपि रोजगारदाताले आवश्यक परेर माग बढाएखण्डमा भने यो संख्या थपिनसक्छ ।
श्रमकरार आएमध्ये सन् ०१२ को जनवरीपछि हालसम्म चारहजार नौसय ५० जना कोरिया रोजगारीमा गइसकेको उसले जनाएको छ । त्यसमध्ये आठ सयजना कृषिक्षेत्रमा र बाँकी उत्पादनमूलक क्षेत्रमा गएका हुन् । यो संख्यासहित सन् २००८ देखि इपिएसअन्तर्गत कोरिया जानेको संख्या १४ हजार पाँचसय पुगेको छ । सन् ०१२ मा गएमध्ये महिलाको संख्या करिब तीनसय छ ।
‘कोरियाले विभिन्न १५ मुलुकबाट कामदार लिनेगरेको छ,’ इपिएसका एक अधिकारीले भने, ‘१५ हजारभन्दा बढी उत्तीर्ण गराए पनि रोजगारदाताले भने यस वर्ष करिब ६ हजारलाई रोजगारीमा लैजाने देखिएको छ ।’ उनका अनुसार सन् ०११ मा भएको भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेमध्ये करिब १० हजारजना अर्को वर्षमा मात्र रोजगारीमा जान पाउनेछन् ।
कोरियाले प्रत्येक वर्ष इपियसएअन्तर्गत भाषा परीक्षा सञ्चालन गर्ने गरेको भए पनि आगामी वर्ष सन् ०१३ मा भने नेपालमा भाषा परीक्षा सञ्चालन नहुने करिब पक्कापक्की भएको छ । ‘यो वर्षकै करिब १० हजार कामदार रोस्टरमा बाँकी रहन्छन,’ ती अधिकारीले भने, ‘रोस्टरमा बाँकी कामदार कोरिया गइनसकी भाषा परीक्षा सञ्चालन हुँदैन ।’ इपिएसका अनुसार यसअघि कोरियाले सात हजारलाई रोजगारी दिने जनाए पनि रोजगारदाताले ६ हजारभन्दा बढी कामदार लैजाने छैनन् ।
तर, दक्षिण कोरियाले तीनपटक लिएको भाषा परीक्षामा उत्तीर्णलाई जतिसक्दो चाँडै लैजाने तयारीअनुसार छोटो समयमा नै बढी माग पठाएको इपिएस शाखाले जनाएको छ । कोरियाले अहिले नेपालबाट बढी कामदार लैजाने तयारी गरिरहेकाले माग पनि बढाउँदै लगेको इपिएसका निर्देशक महेश आचार्यले बताए ।
रोजगारदाताले छोटोअवधिमा नै ठूलो संख्यामा माग पठाएकाले भाषापरीक्षा उत्तीर्णले त्यहाँ जान लामो समय कुर्न नपर्ने इपिएसका निर्देशक आचार्यको भनाइ छ । उनका अनुसार भाषपरीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेमध्येका हालसम्म आधाभन्दा बढी कामदार रोजगारीमा गइसकेका छन् । ‘इपिएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीमा जानेको संख्या १४ हजार पाँचसय नाँघिसकेको छ,’ उनले भने, ‘तीनपटकको भाषापरीक्षामा करिब २५ हजार पाँचसय कामदार रोस्टरमा थिए ।’
कोरियाले सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक लिएको परीक्षामा ६ हजार पाँच सय ८६, सन् ०१० मा चारहजार ९६ र सन् ०११ मा १५ हजारभन्दा बढी कामदारलाई रोस्टरमा राखेको थियो । यसमध्ये कतिपय कामदार स्वेच्छाले रोजगारीमा नगएको तथा कतिपय विभिन्न कारणले रोजगारीमा जान नपाएको उसले जनाएको छ । केही समयअघि मात्र ८० जना कामदारलाई कोरियाले विमानस्थलबाटै फर्काइदिएको थियो । उनीहरू यसअघि नै कोरिया गइसकेको तथा अन्य विभिन्न कारणले फर्काइएको उसले जनाएको छ ।
इपिएसका पहिलोपटकको भाषापरीक्षा उत्तीर्णले कोरिया जान करिब दुई वर्षसम्म पर्खनु परे पनि अहिले माग संख्या बढेकाले तोकिएका कामदार चाँढै रोजगारीका लागि जान पाउने छन् । कोरियाले निजी क्षेत्रबाट कामदार नलिने भएकाले इपिएसअन्तर्गत भाषापरीक्षा उत्तीर्ण गरेर मात्र कामदार त्यहाँ जान पाउँछन् । २००७ अघि निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थालेपछि अहिले इपिएस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यसअघि कोरिया गई गैरकानुनी रूपमा बसी फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहाँ रोजगारीमा जान पाउँदैनन् ।
प्रतिक्रिया