मनोवैज्ञानिक गुरुको मनोविज्ञान

होचो कद, सेतो कपाल, उँचो विचार, सदाचार अनि सरल मन । यी परिचय हुन्, नेपालका ७२ वर्षीय सुप्रसिद्ध मनोवैज्ञानिक मुरारिप्रसाद रेग्मीका । एक छोरी, दुई छोरा–बुहारी, नातिनातिना र श्रीमतीसाथ यिनी कीर्तिपुरको छुगाउँमा बस्दा रहेछन् ।

सुदूर अतीतमा उत्पत्ति भएको मनोविज्ञान विषय धेरै कालसम्म दर्शनको हाँगा भएर झ्यामिए पनि हाल यसका आफ्नै ४५–५५ वटा शाखा छन् । नेपालमा त्रिचन्द्र कलेजमा सन् १९४७ मा मनोविज्ञान विषयको पठनपाठन प्रारम्भ भएर अहिले सो विषय बूढो भइसक्दा पनि अझै त्यति विकसित नभएकोमा प्राध्यापक मुरारि यसो भन्छन्, ‘अहिले ६५ वर्ष बितिसक्दा पनि नेपालमा मनोविज्ञान शिशु अवस्थामै छ, उसलाई हुर्काउन–बढाउन धेरै काम गर्नुपर्ने देखिन्छ ।’
बिहान ३:३० मा उठेर राति ९–१० को बीचमा सुत्ने, सकेसम्म विशेष भोजको खोज नगर्ने उनको बानी रहेछ उनको । उनले ‘नैदानिक’, ‘व्यक्तित्व’ र ‘परीक्षण’ मनोविज्ञानमा नागपुर विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका हुन् । जाडोमा कफी र गर्मीमा दुई कप चिया पिउन मन पराउने भूपू मांसाहारी गुरु मुरारि भन्छन्, ‘डा. गणेशबहादुर मालीको प्रेरणाले ४२ वर्षअघि मनोविज्ञानको क्षेत्र अँगाल्न पुगेपछि निरन्तर यसै क्षेत्रमा संलग्न छु ।’
बुढ्यौलीले समातिसके पनि झोक्राएर बस्ने रहर छैन उनलाई । टिभीमा समाचार र खेलकुद हेर्न छुटाउँदैनन् । अध्ययन–मनन र चिन्तनबाट फुर्सद हुँदैन, नत्र हार्मोनियम र तबला बजाउन अघि सरिहाल्छन् । नियमित औषधि खाइरहनुपर्ने झन्झट उनलाई छैन, त्यसैले त अहिलेसम्म शारीरिक अवयवहरूले निरोगिताको परिचय बोकिरहेका छन् । तरकारीमा परबर र फलफूलमा स्याउ फेबरेट हो उनको । अम्मलको धुम्मल जीवनमा कहिल्यै नखेलेका नैदानिक मनोविज्ञानका फरारी डाक्टर मुरारि युवा बेला सम्झन्छन्, ‘हाम्रो पालामा कहीँ–कतै र कोही प्रतिस्पर्धी नै थिएन । हामी बाध्यतावश आफ्ना विषयका आपैँm रोगी, बिरामी र डाक्टर थियौँ । त्यतिखेर मनोविज्ञान विषयको विशेषज्ञलाई चिराग बालेर खोज्नुपथ्र्यो ।’
त्रिविमा पहिलोपल्ट कक्षामा पढाउन जाँदा धेरैलाई कहालीले छोप्छ । कक्षामा विद्यार्थीको हुल देखेर पसिनापसिना हुने, नआएको खोकी खोक्ने, ब्ल्याकबोर्डमा लेख्दा आत्तिने, लाइन टेढोमढो हुने, पढाउँदा भकभकाउने आदि स्थितिले धेरैलाई गाँज्छ तर उनलाई यो सब कुराको सामना गर्नुपरेन रे † कारण के थियो भने उनी त्यसभन्दा पहिलेदेखि नै शिक्षक थिए । ‘अवकाशको अन्तिम दिन कक्षा सकिएपछि चाहिँ भारमुक्त र जिम्मेवारीबाट फुक्का भएर हलुको भएजस्तो लाग्थ्यो,’ उनी सुनाउँदै छन् ।
भैरहवामा बस्दा सुनौलीमा एउटा गरिब बूढीलाई देखेर मनभित्रैबाट केही दान दिऊँ जस्तो लागेछ उनलाई । कोटको खल्तीबाट पाँचको नोट दिएर आफ्नो बाटो लागे । केही समयपछि फेरि सुनौली गएका बेला खत्रकखुत्रुक मालसामान किन्न एउटा खाद्यान्न पसलमा छिरेछन् । पसलमा माग्ने बूढीलाई देखेर छक्क र पक्क परेछन् । त्यो बूढी त सीमावारि पार्ट टाइम माग्ने र सीमापारि फुलटाइम आफ्नै पसल गर्ने पसल्नी पो रहिछन् ।
खानामा खासै च्वाइस र छुट्टै भ्वाइस नभएकाले जे पायो वा जे दिन्छन् त्यही सन्तोष मानेर खाने बानी बसिसकेको छ उनलाई । जीवनमा उधारो कर्जा र सापटी कहिल्यै नलिने उनी दुई–चारचोटि भोकै पनि डल्लिएका रहेछन् । भोकै पर्नुपरे पनि पैँचो मागेर पकाएको खाना कहिल्यै नखाने सिद्धान्तमा अडिग छन्, बुढेसकालमा पनि । सामान्यतया मानिसहरू गलत, असत्य र फोस्रो ज्ञानको ताण्डव देखाउँछन् । भित्री मनको हियार दुखे पनि बाहिर प्रशन्न चित्त र प्यार दर्साउने स्वभाव छ उनको चाहिँ । पारदर्शी र वास्तविक कुरा सुन्दा, असल विचार जान्न पाउँदा, सामाजिक र ऐतिहासिक सत्य उद्घाटित हुँदा र नौलो जानकारी पाउँदा आनन्द मान्ने बानी पनि रहेछ उनको ।
४४ वर्षअघि एज्रा पाउन्ड र रोबर्ट फ्रोस्टजस्ता नामुद कविहरूमाथि लेखेका लेखहरू ‘दैनिक निर्णय’ मा छपाएर नेपाली साहित्यमा फाल हान्ने, लुगाको सोख भए पनि खोजीखोजी होइन, अगाडि जे पायो, त्यही भिर्न मन पराउने, नुहाउने खासै नियम नभए पनि तातो पानी अनिवार्य चाहिने, शरीरको अनुकूलन नमिलेको जस्तो लागेमा बल्ल नुहाउने चलन गर्ने मुरारि भन्छन्– ‘मेरा आराध्यबिन्दु मेरा छात्राछात्र र पाठक हुन् ।’ पुरस्कार र प्रचारबाजीका लागि नलेख्ने, खानामा अचार नचाहिने लेखनमा सोख भएका तर छपाउनमा चाख नभएका व्यक्तित्व हुन् उनी । मथिंगलको भाँडोमा विचारलाई गुन्द्रुक र सिन्कीझैँ खाँद्नु खाँदेपछि मात्रै लेख्ने गर्छन् । लेखेर तुरुन्तै रेडिमेड अचारझैँ गर्दैनन् उनी । त्यसमा अम्लीय पन पूर्ण भएर पाठकको जिब्रोमा ट्वाक्क लाग्ने भएपछि मात्रै आफ्नो लेख ‘पिकलथ्यौरी’ को पूर्ण पालना गर्दै बल्ल छपाउन दिन्छन् रे उनी ।
बिहान उठेर नित्यकर्मपछि १० बजेसम्म पुस्तक पढ्ने, लेख्ने र नोट बनाउने, १०:३० मा खाना खाएर विभिन्न रंग र ढंगका मानिसका क्रियाप्रतिक्रिया, संकेत, हाउभाउ र कटाक्षको अर्थात् बडी ल्यांग्वेजको रस लिँदै बस चढेर टिचिङ हस्पिटल महाराजगन्जमा पढाउन जाने मुरारि छोटकरीमा भन्छन्, ‘मनोविज्ञानका मनग्गे काइदा र फाइदा छन्’ । मानसिक रोगीलाई ठीक पार्न, अपराधी पत्ता लगाउन, जाति, समाज र मानिसलाई चिन्न र बुझ्न यसले सयोग गर्छ । आजको भागाभाग र दौडादौडको जीवनमा विनाकुनै स्ट्ेरस आफ्नो मानसिक सन्तुलन कायम राख्न बरदान नै सावित भएको छ मनोविज्ञान । उनी पावरदार चस्मा मिलाउँदै फेरि थप्छन् ‘हो, आममानिसका लागि यसको प्रयोग र उपयोग कठिन छ तर निरन्तर प्रयास गरेमा सजिलो हँुदै जान्छ ।’
अरूको भलाइका लागि झुट्टो बोले पनि आफ्नो भलाइका लागि झुट्टो बोल्ने कला नजानेका, खासै साथी नबनाएका मुरारि रुघा लाग्दा ध्यान गरेर रुघाको दोहोलो काढ्छन् रे । रातिको खाना ७:३० मै खाइसक्ने उनको बुढ्यौली दैनिकी छ । ज्योतिष र राशिफलमा थोरबहुत विश्वास गरे पनि पूजापाठमा उतिसारो ध्यान नदिने उनी दुई वर्षमा एकपटक आफ्ना बेस्ट देउतालाई भेट्न पशुपति जान्छन् । धर्मभन्दा बढी कर्म र परिश्रममा विश्वास राख्ने मुरारि भन्छन्, अलिहेको राजनीतिलाई मनोवैज्ञानिकहरूले विश्लेषण गर्न सकेका छ्रैनन् । राजनीतिज्ञहरूले ठोस काम गर्न सकेका छैनन् । राजनीतिज्ञहरूमा क्षमता छ तर त्यो प्रकट हुन सकेन । आखिर संविधान बनेन । हानि त नेपालीहरूकै भयो, यो सहकार्य अहिले पूरा भएन, आशा गरौँ, पछि उत्तम संविधान बन्ला ।’
उनी पछि राम्रो संविधान बन्ने आशावाद छरेर गहिरो मौनतामा डुबे । यो उनीसँग साक्षात्कार र कुराकानी गर्ने समय समाप्त भएको सूचना थियो । म कलम र डायरी समेटेर उठेँ र उनको प्रभावशाली व्यक्तित्वलाई सम्झिंदै आफ्नो गन्तव्यतिर लागेँ ।

प्रतिक्रिया