छिटो राहत उपलब्ध गराऊ

मुलुकका अधिकांश स्थानमा बाढी–पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । प्रत्येक वर्ष नेपाली जनताले भोग्नुपरिरहेको यो प्राकृतिक प्रकोप न्यूनीकरणका उपाय अहिलेसम्म खोजिएको पाइँदैन । जसले गर्दा हरेक वर्ष नोक्सानी व्यहोर्नुपरेको हो । अहिले पश्चिम तराई डुबानमा छ । थातथलो नै बाढीले बगाएपछि हजारौँ जनता घरबारविहीन बनेका छन् । पहाडमा पहिरोका कारण घरबारी बगाएका खबर आइरहेका छन् । मानवीय दृष्टिले अति संवेदनशील यस्ता घटनामा सबै क्षेत्रको सहयोग र सद्भाव अत्यावश्यक हुन्छ । त्यसमा पनि राज्यले पीडित परिवारको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । तर, राज्य यति पीडादायी घटनाप्रति पनि संवेदनशील बन्न सकेको देखिँदैन । औपचारिकता पूरा गर्न सरकार च्युरा र चिनी लिएर पीडितसामु पुग्नु दु:खलाग्दो पक्ष हो । यो सरकारको आफ्ना नागरिकप्रतिको गैरजिम्मेवारीपन हो । पीडितका लागि गाँस, बास र कपासको व्यवस्था राज्य पक्षबाट गरिनुपर्छ । यस्ता हृदयविदारक घटनामा झारा टार्ने काम गरेर सरकार उम्कन मिल्दैन । सरकारले अविलम्ब राहत प्याकेज घोषणा गरेर पीडितसामु पुग्नुपर्छ ।
पहाडी क्षेत्रमा पहिरो रोकथामका लागि अवलम्बन गर्नुपर्ने उपाय अहिलेसम्म खोजिएको छैन । विश्वका पहाडै–पहाडले बनेका धेरै राष्ट्रले पहिरो रोकथामका लागि दीर्घकालीन उपाय खोजेका छन् । पहिरोको जोखिममा पर्ने सम्भावना भएका भू–भागमा बस्ती बस्न नदिने नियम लागू गरिएको छ । भूक्षय रोकथामका उपाय अपनाइएका छन् । नेपालमा भने यस्ता अत्यावश्यक उपाय सरकारले अवलम्बन गरेको पाइँदैन । जसले गर्दा बाढीपहिरोबाट वर्षैपिच्छे ठूलो जनधनको क्षतिसँगै मलिलो माटो हामीले गुमाइरहेका छौँ । जबसम्म पहाडमा बाढी र भूक्षय रोकथाम हुँदैन तबसम्म तराईको बाढीलाई पनि नियन्त्रण गर्न सकिँदैन । तसर्थ, सरकारले पीडित परिवारलाई बेलैमा राहत उपलब्ध गराउने, जोखिममा रहेका घर, गाउँ र बजार हटाउने साथै प्रकोप न्यूनीकरणका उपाय बेलैमा अवलम्बन गर्न जरुरी छ ।
तराई डुबानले प्रत्येक वर्ष ठूलो धनजनको क्षति पुर्‍याइरहेको छ । वर्षा लागेपछि हाम्रा नदीनाला बढेर आउँछन् र तराईमा आतंक नै सिर्जना गर्छन् । यो समस्या प्राकृतिकभन्दा बढी मानवनिर्मित देखिन्छ । अहिले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङलगायत जिल्ला बाढीको चपेटामा परेका छन् । बस्तीनजिक रहेका नदी र खोलामा बाँध बाँध्न सकेको पाइँदैन । त्यसले गर्दा बाढी बस्तीमा पस्दा जनताले वर्षेनि सास्ती खेप्नुपरिरहेको छ । बस्तीप्रति बेवास्ता गर्दै निर्माण गरिएका संरचनाले पनि जोखिम बढाएको पाइन्छ । कुनै पनि संरचना व्यवस्थित र भरपर्दा देखिँदैनन् । जसले गर्दा वर्षामा ग्रामीण बस्तीले बाढीको घातक प्रकोप व्यहोर्नुपर्छ । यसका साथै तराईका गाउँ छिमेकी मुलुक भारतका कारणले पनि डुबानमा पर्ने गरेको पाइन्छ । नेपालका सीमा क्षेत्रमा रहेका आफ्ना गाउँ डुबानमा नपरून् भनेर भारत सरकारले विशाल बाँध सिमानामा खडा गरिदिएको छ । जसले गर्दा नेपालबाट बग्ने पानीले सहज निकास पाउँदैन र नेपालकै बस्ती डुबानमा पर्छन् । यस्ता गहन विषयमा सरकारले कूटनीतिक प्रयासद्वारा समस्या समाधान गर्नुपर्ने हो तर अहिलेसम्म सरकार यसतर्फ अग्रसर देखिँदैन । यो निकै पीडादायी विषय हो । बाढी र पहिरो न्यूनीकरण गर्न सरकार जहिले पनि अनिच्छुक देखिन्छ । राहत वितरणमा पनि सरकार गम्भीर बनेको छैन । अनावश्यक क्षेत्रमा भने सरकार करोडौँ रकम खर्च गर्न तम्सिन्छ । अब सरकारले बाढीपहिरोबाट पीडित जनताप्रति जिम्मेवार भएर सहयोग गर्नु जरुरी छ ।

प्रतिक्रिया