पुललाई सशस्त्र प्रहरीको सुरक्षा

बर्दिया, २२ साउन । बर्दियाका उद्योगी–व्यापारीसँग चन्दा माग्दै आएको भूमिगत समूहले निर्माणाधीन पुलको ठेकेदारसँग पनि ठूलो रकम माग गरेपछि पुल निर्माणस्थलमा सशस्त्र प्रहरी खटाइएको छ ।

बर्दियाको मगरागाढीदेखि सदरमुकाम गुलरिया जोड्ने बबई नदीअन्तर्गत जब्दीघाटमा निर्माण भइरहेको पुलमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइएको हो । बबई नदीको जब्दीघाटमा झन्डै दुई महिनाअघि सुरु भएको पुलको काममा भूमिगत समूहले धम्कीसहित ठूलो रकम माग गरेपछि निर्माणाधीन पुलमा सशस्त्र प्रहरी परिचालन गरेर निर्माण भइरहेको छ ।
वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पुल निर्माण सुरु गरेको एक महिनापछि जनतान्त्रिक मधेस–तराई टाइगर (राजनप्रताप सिंह) भनिने भूमिगत समूहले ठेकेदारसँग २० लाख रुपियाँ मागेको हो । ठेकेदारलाई धम्की आएपछि सुरक्षाका लागि प्रहरी खटाइएको सशस्त्रका डिएसपी वीरेन्द्रराज श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार निर्माणाधीन पुलमा सशस्त्रका सईको नेतृत्वमा ११ जना प्रहरी खटाइएको छ । धम्कीसहित रकम माग गरेको बारे केन्द्रमा जानकारी गराइएको हुनाले केन्द्रबाटै सुरक्षा दिने आदेश आएपछि प्रहरी खटिएको उनले बताए ।

प्रतिक्रिया