“कागलाई हानेको ढुंगो साथीलाई लाग्यो”

भाइबहिनी हो, वि.सं. २००५ साल फागुन ७ गते दोलखा जिल्लाको सुस्पा–क्षमावती गाविसमा मेरो जन्म भएको हो । पाँच दाजुभाइ, एक दिदी र पाँच बहिनीमध्ये म साहिँलो हुँ । मेरा बुबा कृषक हुनुहुन्थ्यो ।
सानोमा स्कुल के हो र कस्तो हुन्छ भन्ने मलाई थाहै थिएन किनकि हाम्रो गाउँमा स्कुलै थिएन । ठकुरी मास्टरले काखमा राखी माया गरेर कखरा लेख्न र चिन्न सिकाउनुभयो । गाउँमा स्कुल नहुँदा हामी जोगीकहाँ पढ्न जान्थ्यौँ । ती जोगी पनि विचित्रका भोगी थिए । हामी कलिला र मसिना विद्यार्थीसँग घुस खान्थे । उनलाई चानचुने हो र, कुँडे (दूध तताउने भाँडो) मै जमेको कुराउनी नै चाहिन्थ्यो । उनी हाम्रै अगाडि घिक्लिक–घिक्लिक गर्दै कुराउनी खान्थे । उनको दाह्री र जुँगामा सेतो कुराउनी लागेको देखेर हामी मुसुमुसु हाँस्थ्यौँ । दाह्री र जुँगामा लागेको कुराउनी चाटेपछि जोडले जिब्रो फड्कार्दै हामीलाई हकार्दै बल्ल पढाउन सुरु गर्थे । केही समय पढेपछि जोगीसँग पढ्ने सिलसिला त्यत्तिकै सकियो ।
एकपटक बाले पाँच पैसा दिनुभयो । गोजीमा राखेर दोलखा बजारमा जात्रा हेर्न गएँ । भिडमा पैसा झर्‍यो । धन्य, देखिहालेँ † टिप्नलाई हात के लम्काएको थिएँ, अर्को हातले पैसा टिपिदियो । टिप्ने मानिसलाई हेरेँ, त्यो सुँडे नाक र भुँडे शरीर भएको अजङ्गको राकस पो थियो । आफ्नो पैसा मागेँ, उसले आँखा तर्दै हप्कायो । मैले ढिपी गर्दै मेरो पैसा फेरि मागेँ, उसले पिट्नलाई हात उज्यायो । म केही नबोली निल्ल र जिल्ल पर्दै जात्रा नहेरी घर फर्कें । गाउँमा लामनागी प्राथमिक पाठशाला खुल्यो । त्यस स्कुलमा चित्रविचित्रका मास्टरले पढाउँथे । कुनै मास्टरलाई कृषिको पुस्तक घोकेर साग छर्छन्, मूलाको झारपात उखेल्छन्, आलु रोप्छन् भनेर रिट्ठो नबिराई सुनाउनुपथ्र्यो । कोही मास्टर समयमा स्कुल नआउने हुन्थे । आए पनि पढाउन फुट्टी नजान्ने † उनीहरू कस्ता उग्र र उद्दण्ड थिए भने आफ्नो ताइँ देखाउन कलिला विद्यार्थीलाई तिरिमिरी झ्याइँ हुने गरी पिट्थे । हामी फुच्चे विद्यार्थी स्कुलमा हडताल गथ्र्यौं । मसिनो काँध र हातमा मजिटो ल्याएर आगोमा हालेर स्कुलमा पटकाझैँ पड्काउँथ्यौँ । त्यहाँ केही वर्ष पढेपछि क्षमावती स्कुलमा कक्षा ५ मा भर्ना भएँ ।
स्कुल जीवनमा लजालु, शान्त र पछौटे खालको मेरो स्वभाव थियो । पढाइमा तेज र कक्षामा सधैँ दोस्रो हुने विद्यार्थी थिएँ । सात कक्षामा पढ्दा आठ कक्षाका विद्यार्थी मसँग गणित र विज्ञान सिक्थे । कहाँको जुत्ता कहाँको चप्पल, त्यसबेला गाउँका ठालुहरू मात्र जुत्ताचप्पल लगाउँथे । हामी कमिज–कट्टु लाएर, हातमा किताबकापीको ढड्डु बोकेर खाली खुट्टा स्कुल पढ्न जान्थ्यौँ । अहिलेजस्तो केमल र सुगा मसी कहाँ पाउनु † कटुसको पात र काफल ल्याएर आफैँ पकायो, त्यसमा हाँडीको कालोमोसो हालेर निगालाको कलमले नेपाली कागजमा लेख्थ्यौँ । स्कुल जाँदा त के घरमै पनि खाजा खाने चलन थिएन । बिहानबेलुका टन्न भात खायो, पानी पियो पेट डम्म । उही रोपाइँका बेला मात्रै खाजा
खान पाइन्थ्यो ।
पहाडे जीवनमा माया गर्ने चलनै थिएन । पहाडका मानिस बालबालिकाको राम्रो नाम पनि बिगारेर बोलाउनेमा उस्तादै थिए । सवितालाई सबिते, रामलाई रामे र गोपाललाई गोपाले भनेर बोलाउँथे । सानो छँदा डन्डिबियो, कपर्दी, डाँडाबाट चचहै गरेर चिप्लेटी खेल्थ्यौँ । चिप्लेटी खेल्दा कहिलेकाहीँ कट्टु नै प्वाल पथ्र्यो । रिङ फालेर खेल्नमा म सिंहझैँ फुर्तिलो थिएँ । हाम्रो आफ्नैखाले उपद्रो, चकचक र घरायसी काम गरेर मनोरञ्जन गर्ने बानी थियो । बोका नारेर खेत जोत्नु र दाइँ गर्नु, गुलेली लिएर सिकार गर्नु, बित्थामा रूखको लाथ्रो छिनाएर छ्याकछ्याक पार्नु, आहा… भन्दै पाहा मार्नु, रामायण र महाभारत लय हाली भाका मिलाएर भट्याउनु, मल बोक्नु, भकारो सोर्नु, घाँस काट्नु, दाउरा चिर्नु, बस्तु चराउनु, मही पार्न सघाउनु आदि हाम्रा दिनचर्या थिए ।
बाबुको खल्तीबाट पैसा झिक्ने काम कहिले गरिनँ । बाबुको इस्टकोटमा खल्ती त थियो, तर त्यसभित्र पैसा नै हुँदैनथ्यो । बुट लाएका र जुल्फी पालेका लाहुरेलाई आदर्श पुरुष मान्ने गाउँमा, बिन्तीपत्र र फिरादपत्र लेख्न जान्दैमा नामी, दामी र भयंकर ज्ञानी ठान्ने सोच भएको ठाउँमा हामी बबुरा–फुच्चाहरूले ठूलो भएर यो वा त्यो बन्छु भनेर सपना देख्ने अवस्थै थिएन । १५ वर्षको उमेरमा रेडियो अनि १८ वर्षको उमेरमा पहिलोचोटि ‘सुरज’ भन्ने फिल्म हेर्ने मौका जुर्‍यो ।
हामी पाँच साथी स्कुल बिदा भएर घर आउँदै थियौँ । एउटा रूखमा कागले गुँड लगाएको थियो । साथी गुँड झार्न रूखमा चढ्यो । हामी चारजना काग धपाउन ढुङ्गा लिएर तल बस्यौँ । साथी जति गुँडनजिक पुग्थ्यो, काग उत्ति नै जोडले काँ…काँ गरेर कराउँथ्यो । हामी थपडी बजाउँदै हाहा… गरेर कागलाई धपाउँथ्यौँ । साथी गुँडनजिक पुग्यो, कागले उसलाई ठुङ्न आक्रमण गर्‍यो । हामीले न्वारनदेखिको बल लगाएर कागलाई ताकी ढुङ्गा हान्यौँ । तर, अचम्म भयो † कागले ठुङ्नुअघि हाम्रो ढुङ्गाले साथीको टाउकोमा ठुङिदियो । ऊ ‘आइया बाबा मरें बाबा’ भन्दै तल झर्‍यो । उसको टाउको फुटेछ, हतारहतार हामी चारजनाले उसलाई झ्याइँकुटी पार्दै घर पुर्‍याइदियौँ । गाली खाने डरले त्यहाँबाट आ–आफ्ना घरतिर टाप ठोक्यौँ ।
क्षमावती स्कुलमा ८ कक्षासम्म पढाइ हुन्थ्यो । ८ पास गरेपछि म काठमाडौं आएर दिउँसो घरेलुमा कारपेन्टरी तालिम लिन्थे । महिनाको ४५ रुपियाँ पाइन्थ्यो । त्यसबाट पनि कर्मचारीले आफूले खाएर पूरा ४५ दिँदैनथे । बेलुका पढ्ने गरी विजय एडल्ट स्कुलमा भर्ना भएँ । त्योबेला पेट चिरफार गर्ने डाक्टर बन्ने मेरो सपना थियो तर म पेट हैन राजनीति चिरफार गर्ने डाक्टर पो भएछु । के गर्ने ? सोचेजस्तो हुन्न, हैन त भाइबहिनी हो ?
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया