भूलको परिणाम


‘रमेश, आज सिनेमा हेर्न जाऊँ है ?’ उमेशले रमेशलाई भेट्नासाथ भन्यो ।
‘होइन, उमेश विद्यालय छोडेर जान हुन्न ।’ उमेशको कुरा सुन्नेबित्तिकै रमेशले भनेको थियो ।
उमेश र रमेश एउटै विद्यालय पढ्ने भएकाले उनीहरू सँगै जान्थे । घर नजिकैको बाटोमा भेट हुन्थे र सँगसँगै गफिदै स्कुल पुग्थे ।
आज उमेशलाई सिनेमा हेर्ने रहर लाग्यो, त्यसैले रमेशलाई फकाउँदै थियो । रमेशलाई अँगाल्दै भन्यो– ‘हेर, कस्तो सिनेमा हेर्न मन लागेको छ, त्यसैले जाऊँ क्या ।’
‘होइन, उमेश स्कुल छोडेर जान पनि त भएन नि, पढाइ छुट्छ र हामी पछि पर्छाैं ।’ रमेशले सम्झाउन खोज्यो ।
‘केही हुँदैन क्या, बरु मैले पैसा लिएर आएको छु जाऊँ है ?’ उमेशले साह्रै जिद्दी गर्‍यो । अन्तमा रमेशको केही लागेन, उमेशको पछिपछि लाग्यो ।
दुवै सिनेमाघर पुगे । उमेशले टिकट काट्यो । उनीहरू दुवै सरासरी टिकट देखाएर भित्र पसे । गेटमा बस्ने दाइले उनीहरूलाई सिट देखाइदिनुभयो । दुवैजना आ–आफ्नो सिटमा बसे ।
सिनेमा सुरु हुन्छ । उनीहरू बडो मज्जा लिएर हेर्न थाल्छन् ।
‘आहा † रमेश कति मज्जा है । यो सिनेमा त धेरै राम्रो रहेछ ।’ उमेश दङ्ग पर्छ र रमेशलाई सुनाउँछ ।
‘हो नि उमेश, मध्यान्तरपछि त झन् रमाइलो होलाजस्तो छ ।’ रमेशले पनि साउती गर्‍यो ।
केहीबेरपछि मध्यान्तर भयो ।
मध्यान्तरको समयमा सबै बाहिरिए । सबै खानेकुरा लिन गएका हुन भन्ने उनीहरूले अनुमान लगाए । उमेश र रमेशलाई पनि भोक लागेको थियो । घरबाट टिफिन खाजा ल्याएकाले उनीहरूले त्यही खाजा खाने निधो गरे । उनीहरूले आफ्नो सिटको तल झोला खोजे । अहँ, त्यहाँ झोला थिएन । अनि अगाडि पछाडि चारैतिर खोजे । झोला कतै थिएन । उनीहरूले आफ्नो झोला फेला पार्न सकेनन् ।
झोला हराएकामा दुवैजना अत्तालिन थाले । रमेश कस्तो बेलामा आइएछ भनी सोच्दै थियो । ‘हाम्रो झोला कसले लग्यो होला ?’ उमेशले सोच्यो ।
‘ए रमेश हेर न झोला त चोरी भयो जस्तो छ । कतै छैन त । त्यसमा खाजा पनि थियो । अब भोकै बस्नुपर्ने भयो । कस्ले लग्यो होला ?’ आत्तिदै उमेशले भन्यो ।
‘खोइ, मलाई त होसै भएन । हामीले एकोहोरो सिनेमामा मात्र ध्यान दियौँ । अब के गर्ने होला ? बेकारमा आइएछ ।’ रमेशले गल्ती गरेझैँ पछुताउन थाल्यो ।
उनीहरूले फेरि पनि झोला खोजे । यताउति बस्ने मानिससित पनि सोधे । तर तीमध्ये धेरैले ‘खोइ देखेनौँ हामीले त’ भने । कसैले ‘भाइहरूले ल्याएजस्तो ता लाग्दैन’ भने । उनीहरूलाई झोलामा किताब–कापी छ भन्न डर र लाज भयो । त्यसैले थप कुरा केही पनि भनेनन् ।
यसैबीच फेरि सिनेमा सुरु भयो । तर उनीहरूलाई अब सिनेमा हेर्ने रहर भएन । रमेशलाई बित्थामा आएछुजस्तो भयो । किताब कापी पनि हरायो, उता विद्यालयमा पढाइ छुट्यो भनेर झन् चिन्ता लाग्न थाल्यो ।
उमेश पनि किताबकापी हराएकामा चिन्तित थियो । चिन्ताले उनीहरूको भोकै हरायो, सिनेमातिर पटक्कै ध्यान लागेन ।
एक घन्टापछि सिनेमा सकियो । बल्ल सकियो भनेजस्तो भयो यतिखेर उनीहरूलाई । चिन्ताले लखतरान दुवैजना बिस्तारै उठे । सबैजना बाहिरिएपछि उनीहरू पनि निस्किए । रमेश र उमेशलाई अब घर कसरी जाने भन्ने पिर पर्न थाल्यो । किताब, कापी र झोला हराएको झोकमा घरमा गाली गर्लान् भन्ने ठूलो डर थियो । त्यसैले उनीहरू सिनेमाघरको बरन्डामा झोक्राएर बसिरहे ।
‘ए भाइ हो, तिमीहरू अझै यहीँ बसिरहेका छौ ?’ कसैले उनीहरूलाई बोलाएको सुने । बिहान टिकट काट्दा देखेको दाइलाई आफ्नो अगाडि उभिरहेको उनीहरूले पाए ।
‘तिमीहरूको झोला बिहान टिकट काट्दा छुटेको थियो । मैले राखिदिएको छु ।’ दाइले भने । उनको कुरा सुनेर उनीहरू दुवै खुसी भए । दुवै एकै स्वरमा बोले– ‘दाइ † कता छ हाम्रो झोला दिनुस् न । हामीलाई साह्रै भोक लागेको छ । हाम्रो टिफिन त्यसैमा छ ।’ उनीहरू रमाए ।
दाइले एकैछिनमा झोला ल्याएर उनीहरूलाई दिए ।
‘हेर भाइहरू, तिमीहरू स्कुले विद्यार्थी रहेछौ । यसरी स्कुल छोडेर सिनेमा हेर्न अबदेखि नआउनू । यस्तो बानी राम्रो होइन । अनि हतार गरेर आफ्नो सामान कतै पनि नछोड्नु है †’ दाइले उनीहरूलाई सम्झाउँदै भने ।
अबदेखि यस्तो काम कहिल्यै नगर्ने विचार र अठोट उनीहरू दुवैले गरे । टिकट काट्ने दाइलाई विश्वस्त बनाए । अनि धन्यवाद पनि दिए । झोलाबाट टिफिन झिकेर खाजा खाएपछि उनीहरू घरतिर लागे ।

प्रतिक्रिया