राहत पुगेन बाढीप्रभावित बस्तीमा

दाङ, २१ साउन । ‘घरमा दाउरा थिएन, नदीले काठ बगाएर ल्याइरहेको थियो,’ गोबरडिहा–९ लोखरपुरका उदयराज चौधरीले भने, ‘टन्न दाउरा संकलन गर्छु भनेर नदीमा पस्दा झण्डै ज्यान गएन ।’

काठमाडौंबाट आएको विशेष टोलीले नदीबाट चौधरीलाई उद्धार गरेपछि उनले नयाँ जीवन पाएको महसुस गरेका छन् । उनी सम्झन्छन्, ‘उद्धारका लागि चिच्याइरहेको थिएँ । तर पारी बसेर हेर्नेले मेरो आवाज सांकेतिक रूपमा बुझे पनि उद्धार गर्न सक्ने अवस्था नै थिएन ।’
बीच टापुमा रहँदा उनी काँप्दै कहिले बस्ने र कहिले उठ्ने गरिरहेका थिए । राप्ती नदीको बिचोबिच टापुमा १२ घन्टाभन्दा बढी भोकभोकै र एक्लै कालसँग जुझेका उनलाई हेलिकोप्टरद्वारा उद्धार गरिएको थियो ।
उनीजस्तै सोनपुर–२ छिंगटपुरका १२ स्थानीय पनि बाढीमा फसेका थिए । बाढीमा फसेकालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । बाढीमा फसेकाको उद्धारका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिए पनि भौतिक र मानवीय क्षति रोक्न सकिएन ।
वर्षाका कारण शुक्रबार देउखुरीका आधा दर्जनभन्दा बढी गाविसका गाउँ जलमग्न बनेका थिए । राप्ती नदी र स्थानीय खोलामा आएका बाढीका कारण लालमटिया, सिसहनिया, सोनपुर, गंगापरस्पुर, गोबरडिहा, सतबरिया, बेला, गढवा, चैलाही र राजपुरका अधिकांश गाउँमा बाढी पसेको थियो । बाढीले सबै भन्दा बढी गढवा–७ सेम्री गाउँका करिब एक सय घरमा क्षति पुर्‍याएको छ ।
बाढी कम भएपछि गाउँले घर फर्किएका छन् तर बाढी पसेपछि डुबानमा परेको घर हेरेर उनीहरू थप निरास छन् । शनिबार साँझसम्म बाढीबाट क्षतिग्रस्त क्षेत्रमा राहत पुगेको छैन । दाङका सिडिओ मधुसूदन बुर्लाकोटीले बाढीपीडितलाई तत्काल राहत दिन नसकिएको बताए ।
महिला बेपत्ता
देउखुरीमा बाढीमा बगेर बेपत्ता भएकी एक महिला फेला परेकी छैनन् । शुक्रबार बाढीले बगाएर बेपत्ता भएकी सिसहनिया–९ भगवानपुरकी ५० वर्षीया कमरुन निसा शनिबार पनि फेला परेकी छैनन् । राप्ती नदी आसपासमा खोजी जारी रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । दाउरा खोज्न नदीमा पसेका बेला शुक्रबार बाढीले बगाएर उनी बेपत्ता भएकी हुन् ।

सुदूरपश्चिममा पाँचको मृत्यु
सौर्य समाचार

कैलाली, २१ साउन । अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर सुदूरपश्चिमको तीन जिल्लामा पाँचजनाको ज्यान गएको छ ।
बझाङको तारुगाडमा आएको बाढीले बगाउँदा मटेला–४ की १४ वर्षीया जयलक्ष्मी गिरीको मृत्यु भएको छ । नालामा खेलिरहेको अवस्थामा शनिबार कैलालीको चौमाला–२ झिलका पाँचवर्षीया छोरी इन्द्रा साउँदलाई पनि बाढीले बगाउँदा ज्यान गएको छ ।
कैलालीकै चुहा–९ गुलरेनीमा घाँस काटेर फर्कंदै गरेकी ३२ वर्षीया ललिता जोशीलाई पनि खोलाले बगाउँदा मृत्यु भएको छ । उनीसँगै सोही ठाउँकी डम्मरा जोशी र अम्मकला थापालाई खोलाले बगाउँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, पहाडी जिल्ला बाजुराको बाँधु–१ का ३५ वर्षीय प्रेमलाल साउँद र ४० वर्षीय दलचन्द्र साउँदलाई बडिगाड खोलामा दाउरा उतार्न लाग्दा शुक्रबार खोलामा आएको बाढीले बगाएपछि दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । लगातार भइरहेको वर्षाले दार्चुला, बाजुरालगायतका पहाडी जिल्लाको यातायात पनि अवरुद्ध भएको छ । पहाडी रुटका वि भिन्न ठाउँमा पहिरोले सडक पुर्ने र भत्काएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सीमा ब्यारेजको आवागमनमा रोक लगाइएको छ । शारदा ब्यारेज पुरानो भएको र नदीमा पानीको बहाव बढेपछि खतरा हुन सक्ने भन्दै आवागमनमा रोक लगाइएको हो । भारतीय पक्षले आवागमन बन्द गरेपछि भारतबाट मजदुरी गरेर फर्केका नेपाली भारतीय सीमावर्ती बजार वनवासामा अलपत्र परेका छन् । शनिबार बिहान ६ बजेको मापनअनुसार महाकाली नदीमा प्रतिसेकेन्ड दुई लाख १९ हजार क्युसेक पानी बगिरहेको छ । भारतले नदीको बढीजसो पानी नेपालतिर छोड्दा नेपालपट्टिको बस्ती खतरामा परेको छ ।
महाकाली नदीमा प्रतिसेकेन्ड एक लाख क्युसेकभन्दा बढी पानी आए शारदा ब्यारेजको लागि खतरा हुने भन्दै भारतले आवागमन बन्द गर्ने र सम्पूर्ण पानी नेपालतिर छाड्ने गरेको छ । त्यस्तै कञ्चनपुरको शंकरपुर–३ को तिल्की नदीमा आएको बाढीले ठूलो संख्यामा धान रोपेको खेत कटान गरेको हरिशचन्द्र भट्टले बताए । मछेली, तिलकी, शंकरपुरलगायतका शिविरमा बस्दै आएका बाढीपीडितको वर्षाका कारण घर डुबानमा परेर बिचल्ली भएको छ ।
यस्तै, कैलालीको अत्तरिया, सिम्रौन, हसुलिया, रामशिखरझाला, धनगढीको विशालनगर, हसनपुर तथा टीकापुरस्थित शक्तिनगर शिविरलगायतको क्षेत्र जलमग्न भएको छ । शक्तिनगरको शिविरमा रहेका ५० घरपरिवार मुक्त कमैयालाई सहकारी संस्थाको भवन र विद्यालयमा सारिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रतिक्रिया