अधिकारकर्मीले नै कुटे दलित महिला

पाँचथर : गाउँमा हुने लैंगिक विभेद र हिंसा अन्त्यका लागि काम गर्ने पारालिगल कमिटीकै अध्यक्षबाट एक दलित महिला कुटिएकी छन् ।
घरायसी विवादका विषयमा रानीटार पारालिगल अध्यक्ष ६५ वर्षीया विष्णुकुमारी तामाङले स्थानीय २५ वर्षीया सम्झना विकलाई कुटेकी हुन् । कुटपिटबाट गम्भीर घाइते विकको जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठान घोपामा ल्याइएको छ ।
कुटपिटबाट घाइते भएपछि निरन्तर रक्तस्राव भइरहेको, छाती र शरीरका विभिन्न भागमा पीडा भइरहेको पीडितको भनाइ छ । मादक पदार्थ सेवन गरी आएका पारालिगलका अध्यक्ष तामाङ, जुनिता गुरुङ, खिनमाया धमला, देवी धमलालगायतले उनलाई कुटपिट गरेका थिए ।
बुधबार राति १० बजे समूहले विकसहित उनका जेठाजु रघु धमलालाई समेत कुटपिट गरेको थियो । घटना सार्वजनिक नगर्न समूहले दबाब दिएपछि ढिलो गरी घटनाको रहस्य खुलेको हो । (सौस)

प्रतिक्रिया