‘बाबुराम सरकारसँग भारत पनि लज्जित’

काठमाडौं, २० साउन । एमाले नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको सरकारको कामबाट ‘भारतले पनि लाज मानेको’ टिप्पणी गरेका छन् । स्वास्थ्योपचारका लागि भन्दै भारतको १० दिने भ्रमण गरी शुक्रबार स्वदेश फर्केका ओलीले शान्तिप्रक्रिया टुंग्याएर संविधान जारी गर्नुको साटो संविधान नबनाई संसद् सिध्याउने विपरीत कामबाट भारतीय लज्जित भएको दाबी गरे ।

संविधान नबने एक मिनेट पनि सत्तामा नबस्ने आºनै घोषणाविपरीत संविधानसभा, संसद् सिध्याएर पनि वर्तमान सरकार कुर्सीमा बसिरहेको भन्दै ओलीले आपत्ति जनाए । सरकार परिवर्तनका विषयमा आफूले भारतीय नेताहरूसँग कुरा नगरेको तर कामचलाउ सरकारको कामलाई निरन्तरता दिन नहुने पक्षमा भारत रहेको ओलीले संकेत गरे । ‘कूटनीतिक मर्यादाका हिसाबले पनि सरकार काम लागेन त भन्न मिलेन,’ उनले भने, ‘तर, उहाँहरूको बडिल्याङ्ग्वेज हेर्दा विपरीत काम गर्ने कामचलाउ सरकारको कामबाट लाज मानिरहेको पाएँ ।’
नेपाल र भारतबीचको दुई पक्षीय सम्बन्धका विषयमा भारतीय नेतासँग कुरा गरेको तर नेपालको राजनीतिक निकासबारे भारतीय नेतासँग कुनै सिफारिस नमागेको ओलीले बताए । ‘नेपालको लोकतन्त्र र शान्तिको पक्षमा समर्थन गर्दै आएका भारतका नेताहरूसँग निकासबारे मेरो पार्टीको रोडम्यापका विषयमा कुरा गरेँ,’ ओलीले भने, ‘हामी के गरौँ भनेर सोधिनँ यसो गर्दै छौँ भनेर जानकारी दिएँ ।’
अहिलेको कामचलाउ सरकार पक्ष र अरू पक्षबीच सहमतिमै सरकार गठन गर्ने, सहमतिमै नयाँ निर्वाचन घोषणा गर्ने र सहमतिमै राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउन लगाउने कुरा राखेको ओलीले बताए । सहमतिको सरकार गठन गर्ने र त्यसका लागि सहमतिको प्रयास भइरहेको भारतीय नेताहरूसँग आफूले जानकारी गराएको उनको भनाइ थियो । नेपालमा लोकतन्त्र र शान्ति सुदृढ भए त्यसको प्रभाव भारतमा पनि पर्ने जनाउँदै ओलीले आºनो धारणाप्रति भारतीय नेता पनि सकारात्मक रहेको जानकारी दिए ।
ओलीले चुनाव सार्ने विषयमा सरकारसँग वार्ता नगर्ने घोषणा गरे । ‘चुनाव सार्ने विषयमा हामीसँग छलफल नगरे हुन्छ, नक्कली चुनावका विषयमा कुरा गर्ने हाम्रो रुचि छैन,’ ओलीले भने, ‘अधिनायवादको यात्रा तय गर्न यस्ता चुनाव घोषणा हुन्छन्, चुनाव नभएपछि फेरि चुनाव सार्ने छलफल गरिन सक्छन् ।’
नियमित स्वास्थ्य परीक्षणका लागि भारत गएको भए पनि राष्ट्रपतिलगायत प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको उनले जानकारी दिए । भेटवार्ताका क्रममा आफूले राजनीतिक निकासबारे आºनो पार्टीको धारणा राखेको र भारतीय नेतृत्व त्यसप्रति सकारात्मक रहेको बताए । भारतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलगायत राजनीतिक दलका नेतासँग ओलीले भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया