ओलाङ्चुङगोला र घुन्सा जाने बाटो अबरुद्ध

ताप्लेजुङ, १९ साउन । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ्गबाट तीन दिनको पैदल दुरीमा रहेको घुन्सा जाने बाटो र पुल, बाढीपहिरोले भत्काउँदा आवागमन प्रभावित भएको छ ।
अविरल वर्षासँगै बुधबार राति तमोर नदीमा आएको बाढीले ग्याब्लाको फेदीखोला माथिको काठे पुल भत्काएपछि सो क्षेत्रको आवत÷जावत ठप्प भएको ग्याब्लाका स्थानीय वाङ्दी शेर्पाले बताए ।
फेदीखोला माथिको काठे पुल केही महिना अघि मात्र जिल्ला विकास समितिको ८० हजार रुपियाँको लागतमा निर्माण गरीएको थियो ।
यसै वीच, डेढ हप्ता अघि ओलाङ्चुङ्गोला जानेबाटोमा रहेको तमोर नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि आवागमनमा समस्या हुँदै आएको छ । असोज–१ गतेको भूकम्पले पुल भत्काएपछि सो ठाउँमा स्थानीयले काठ दाउरा प्रयोग गरी सामान्य पुल निर्माण गरी आवागमन सुचारु गराएका थिए ।
खोक्लिङ–६, खैरेनीमा पनि पहिरो जाँदा गोपाल थापाको निजी जग्गामा क्षति पुगेको छ । पहिरोले थापाको खयर रोपिएको करिव ४/५ रोपनी पाखाबारीमा क्षति पुगेको छ ।
पहिरोका कारण खैरेनीको पहरे हुँदै मोती उच्चमावि जाने बाटो एवं बेसीगाउँ प्राथमिक विद्यालय जाने बाटो समेत भत्काएको छ ।
पहिरो बग्ने क्रम जारी रहेकाले स्थानीय खड्ग राईको घरपनि जोखिममा परेको स्थानीय इन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया